नवरात्रको छैटौँ दिन आज देशभर कात्यायनी देवीको पूजा आराधना गरिँदै छ। देवीको दर्शन तथा पूजाआजा गर्न बिहानैदेखि विभिन्न शक्तिपीठ र मन्दिरमा भक्तजनको भीड लागेको छ।
काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, मैतीदेवी, दक्षिणकाली र गुह्येश्वरीलगायत शक्तिपीठमा भक्तजन लामबद्ध भएर पूजा आराधना गरिरहेका छन्। मन्दिर पुग्न नसक्ने श्रद्धालुले घरमै स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा देवीको उपासना गरिरहेका छन्।
हिन्दू धर्ममा कात्यायनी देवीलाई साहस, शक्ति र पराक्रमको प्रतीकका रूपमा लिइन्छ। धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार धार्मिक मान्यतामा यज्ञ, दान तथा अन्य शुभकार्यमा बाधा उत्पन्न गर्ने आसुरी शक्तिको नाश गर्न देवी कात्यायनीको अवतरण भएको विश्वास गरिन्छ।
कात्यायनी देवीको आराधना गर्नाले रोग, शोक, सन्ताप र भयबाट मुक्ति मिल्ने धार्मिक विश्वाससमेत रहेको शास्त्री बताउँछन्। नवरात्रका नौ दिनमा नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गर्ने परम्पराअनुसार छैटौँ दिन कात्यायनी देवीको उपासना गरिन्छ।
कात्यायनी देवीको पूजा विधि
धार्मिक परम्पराअनुसार कात्यायनी देवीको पूजा गर्दा सर्वप्रथम कलश र त्यसमा आह्वान गरिएका देवीदेवताको पूजा गरिन्छ। त्यसपछि देवीसँग सम्बन्धित अन्य देवीदेवताको आराधना गरी कात्यायनी देवीको पूजा गर्ने विधान छ।
पूजाका क्रममा हातमा फूल लिएर देवीलाई प्रणाम गर्दै ध्यान मन्त्र जप गरिन्छ। कात्यायनी देवीको पूजा सम्पन्न गरेपछि भगवान् शिव, ब्रह्मा, भगवान् विष्णु र देवी लक्ष्मीलगायतको पनि पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
यस्तो छ कात्यायनी देवीको स्वरूप
धार्मिक ग्रन्थहरूमा कात्यायनी देवीको स्वरूप स्वर्णजस्तै तेजस्वी र दिव्य रहेको वर्णन पाइन्छ। सिंहलाई वाहन बनाउने देवीका चार हात हुन्छन्। तीमध्ये दुई हातमा अभय र वरद मुद्रा रहेको हुन्छ भने अन्य दुई हातमा तरबार र कमलको फूल रहने धार्मिक मान्यता छ।
अभय मुद्रालाई निर्भयताको प्रतीक र वरद मुद्रालाई कृपा तथा आशीर्वादको प्रतीकका रूपमा लिइन्छ। त्यसैले कात्यायनी देवीको उपासनालाई साहस, आत्मविश्वास र नकारात्मक शक्तिमाथि विजय प्राप्त गर्ने धार्मिक आस्थासँग जोडेर हेर्ने गरिन्छ।
नवरात्रमा देवीका विभिन्न स्वरूपको पूजा आराधना गर्नुका साथै भक्तजनले परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।