सुडानको डार्फर क्षेत्रस्थित एल–फासेर सहरमा लामो समयसम्म घेराबन्दी र कब्जाका क्रममा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले स्वास्थ्य सेवा प्रणालीलाई योजनाबद्ध रूपमा ध्वस्त पारेको प्रमाण फेला परेको छ। बीबीसीले गरेको अनुसन्धानले सन् २०२४ को मेदेखि २०२५ को अक्टोबरसम्म अस्पताल तथा अन्य स्वास्थ्य संस्थामाथि कम्तीमा ४३ वटा छुट्टाछुट्टै आक्रमण भएको विवरण सार्वजनिक गरेको छ। केही स्वास्थ्य संस्थामाथि पटक–पटक आक्रमण गरिएको अनुसन्धानमा उल्लेख छ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले अनुसन्धानका निष्कर्षलाई ‘अत्यन्तै चिन्ताजनक’ भन्दै स्वास्थ्य संस्थासहित नागरिक पूर्वाधारमाथि आरएसएफले गरेका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन्। यस्ता घटनालाई युद्ध अपराधका रूपमा समेत लिन सकिने उनको भनाइ छ।
तर आरएसएफले बीबीसीको अनुसन्धानका निष्कर्ष अस्वीकार गरेको छ। आरएसएफ समर्थित नागरिक सरकारका स्वास्थ्य मन्त्री डा. अलाअद्दिन नगुदले आरोपलाई आफ्नो समूहको छवि बिगार्ने उद्देश्यले फैलाइएको प्रचार भन्दै खण्डन गरेका छन्।
बीबीसीले एल–फासेरमै रहेर घटनाका प्रत्यक्ष विवरण सङ्कलन गरेका स्रोतहरूसँगको कुराकानी र उपलब्ध तथ्याङ्कका आधारमा अनुसन्धान गरेको जनाएको छ। सन् २०२३ को अप्रिलदेखि २०२५ को अक्टोबरसम्मको अवधिमा सहरका १२० स्वास्थ्यकर्मी घाइते भएको, ५५ जनाको मृत्यु भएको तथा १० जना जबर्जस्ती बेपत्ता पारिएको वा अपहरणमा परेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।
घेराबन्दीका क्रममा एल–फासेरमा कार्यरत सर्जन डा. मुहम्मद सुलेमानले स्वास्थ्य संस्थालाई सञ्चालनविहीन बनाउने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएका छन्। उनका अनुसार अस्पतालहरू कुनै पनि सहर वा राज्यको स्वास्थ्य प्रणालीका मुख्य आधार भएकाले तिनलाई बन्द गराउन नागरिकलाई त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना गरिएको थियो।
सुडानी सेना र आरएसएफबीच सन् २०२३ को अप्रिलमा गृहयुद्ध सुरु भएपछि एल–फासेर द्वन्द्वको प्रमुख केन्द्र बनेको थियो। दुवै पक्षमाथि स्वास्थ्य संस्थालाई निशाना बनाएको आरोप लाग्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि एल–फासेरमा स्वास्थ्य सेवामाथि परेको प्रभावलाई सुडानभरि जारी द्वन्द्वका कारण स्वास्थ्य क्षेत्रमा देखिएको सबैभन्दा गम्भीर अवस्थामध्ये एक भनेको छ।
युद्ध सुरु भएको केही सातामै एल–फासेरका केही स्वास्थ्य संस्था बन्द भएका थिए। सहरको मुख्य शिक्षण अस्पताल बन्द भएपछि त्यहाँका स्वास्थ्य सेवा दक्षिण अस्पतालमा सारिएको थियो। तर सन् २०२४ को मे अन्त्य र जुनको सुरुवातमा आरएसएफका लडाकु पूर्वी क्षेत्रबाट अगाडि बढ्दै गर्दा दक्षिण अस्पतालमा पटक–पटक गोलाबारी भयो।
सन् २०२४ जुन ८ मा आरएसएफले अस्पतालमा प्रवेश गरी आक्रमण गरेको चिकित्सकहरूले बताएका छन्। अस्पतालका महानिर्देशक तथा सर्जन इज्जेल्दिन अहमद दाउद असोवका अनुसार लडाकुहरूले उनलाई जातीय अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए। बेहोस भएपछि आफूलाई मृत ठानेर छाडिएकाले ज्यान जोगिएको उनले बताएका छन्।
उक्त घटनापछि अस्पतालका बिरामीको मृत्यु भएको र शल्यक्रियाका उपकरणहरू नष्ट गरिएको उनको भनाइ छ। अस्पताल बन्द भएपछि त्यहाँका स्वास्थ्यकर्मी तथा बाँकी उपकरण सहरको पश्चिमी भागमा रहेको साउदी प्रसूति अस्पतालमा सारिएको थियो।
त्यसपछि साउदी अस्पतालमाथि पनि निरन्तर आक्रमण भएको चिकित्सकहरूले बताएका छन्। केही दिनमा अस्पतालमा २५ पटकसम्म गोलाबारी र ड्रोन आक्रमण भएको उनीहरूको दाबी छ। निजी अस्पताल, छिमेकी क्षेत्रका स्वास्थ्य केन्द्र र बाल अस्पतालका वैकल्पिक स्थानसमेत आक्रमणको निशानामा परेको अनुसन्धानमा उल्लेख छ।
स्वास्थ्य संस्थाहरू एक स्थानबाट अर्को स्थानमा सारिएपछि पनि आक्रमण रोकिएन। मुख्य डायलाइसिस केन्द्रमाथि आक्रमण भएपछि अर्को स्थानमा सारिएको केन्द्रलाई समेत पुनः निशाना बनाइएको थियो। सन् २०२५ को अक्टोबरमा आरएसएफले एल–फासेर कब्जा गर्दासम्म साउदी अस्पताल मात्रै सञ्चालनमा रहेको स्वास्थ्य संस्था बनेको थियो।
लगातारको आक्रमणका बीच चिकित्सकहरूले अस्पताललाई सुरक्षित राख्न बालुवाका बोराहरू राख्नुका साथै स्टिलका कन्टेनर प्रयोग गरेर भूमिगत आश्रयस्थल बनाएका थिए। बिरामीको उपचार र शल्यक्रियाका लागि वैकल्पिक स्थानसमेत तयार गरिएको थियो। तर ती अस्थायी उपचारस्थलमा समेत सन् २०२५ मा पाँच पटक आक्रमण भएको डा. असोवले बताएका छन्।
उनका अनुसार सन् २०२५ मार्च १५ मा घाइतेहरूलाई अस्थायी उपचार कक्षमा लैजाँदै गरेका मानिसलाई ड्रोनले पछ्याएको थियो। भवनको प्रवेशद्वारमा पुगेपछि गरिएको आक्रमणमा नौ जनाको मृत्यु भयो। त्यस्तै, सन् २०२५ अगस्ट १७ मा एम्बुलेन्सहरू नष्ट भइसकेपछि बिरामीलाई गधाले तान्ने गाडामा राखेर अर्को शल्यक्रिया कक्षमा लैजाँदै गर्दा ड्रोन आक्रमण भएको थियो। उक्त घटनामा दुई बिरामी, गाडी चालक र गधाको मृत्यु भएको उनले बताएका छन्।
आरएसएफका स्वास्थ्य मन्त्री नगुदले भने अस्पतालहरूमा सैन्य गतिविधि भइरहेको दाबी गरेका छन्। उनका अनुसार दक्षिण अस्पताल परिसरमा क्षेप्यास्त्र प्रक्षेपण गर्ने उपकरण राखिएको थियो। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार अस्पताललाई शत्रुपक्षविरुद्ध हानिकारक सैन्य गतिविधिका लागि प्रयोग गरिएमा निश्चित कानुनी सर्त पूरा भएको अवस्थामा त्यसले विशेष संरक्षण गुमाउन सक्छ। तर बीबीसीले नगुदका दाबी पुष्टि गर्ने स्वतन्त्र प्रमाण फेला नपारेको जनाएको छ।
बीबीसीसँग कुरा गरेका चिकित्सकहरूले सेनाका सदस्य वा उनीहरूका सहयोगी घाइते सैनिक अस्पतालमा उपचारका लागि आउने भएकाले आरएसएफले स्वास्थ्य संस्थालाई निशाना बनाएको विश्वास व्यक्त गरेका छन्। आरएसएफले भने यी आरोपलाई अस्वीकार गर्दै आएको छ।
सन् २०२५ अक्टोबर २५ मा आरएसएफले साउदी अस्पतालमा प्रवेश गरेपछि सयौँ बिरामी र उनीहरूका आफन्तको हत्या भएको आरोप सार्वजनिक भएको थियो। ४६० भन्दा बढी बिरामी तथा उनीहरूका साथमा रहेका व्यक्तिको हत्या गरिएको दाबी गरिए पनि आरएसएफले सामूहिक हत्याको आरोप अस्वीकार गरेको छ। डब्लुएचओले भने घटनामा भएको भनिएको हत्याको निन्दा गरेको थियो। उपग्रहबाट खिचिएका तस्बिरमा अस्पताल परिसरमा शवका समूह देखिएको विवरणसमेत सार्वजनिक भएको थियो।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख टर्कले बीबीसीलाई दिएको प्रतिक्रियामा आरएसएफले एल–फासेरका मुख्य अस्पताल र अस्थायी स्वास्थ्य केन्द्रमा बारम्बार आक्रमण गरी तिनलाई नष्ट वा गम्भीर रूपमा क्षति पुर्याएको बताएका छन्। यसले सहरमा फसेका हजारौँ नागरिकको स्वास्थ्य सेवामा पहुँच गम्भीर रूपमा प्रभावित भएको उनको भनाइ छ।
यसैबीच, एल–फासेरमा जातीय आधारमा नागरिकमाथि हिंसा भएको आरोप पनि उठ्दै आएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले सहरमा भएको हिंसामा नरसंहारका लक्षण देखिएको बताएका छन्। अरब मिलिसियाबाट विकसित भएको आरएसएफमाथि सहरमा बसोबास गर्ने गैरअरब समुदायलाई लक्षित गरेको आरोप लाग्दै आएको छ।
हाल एल–फासेरको स्वास्थ्य सेवा आरएसएफ समर्थित सरकारको व्यवस्थापनमा सञ्चालन भइरहेको छ। उक्त सरकारले साउदी अस्पताल र शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको देखाउने भिडियो सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्री नगुदले दक्षिण अस्पताल पनि पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।
यद्यपि, सहरमा स्वास्थ्यकर्मीमाथि भएको हिंसा र जबर्जस्तीको विषय विवादित छ। नगुदले चिकित्सकहरूलाई अपहरण वा जबर्जस्ती काममा लगाइएको आरोप अस्वीकार गरेका छन्। तर बीबीसीसँग कुरा गरेका चिकित्सक अल–हाज मोहम्मद अहमदले आफूलाई इच्छाविपरीत अस्पतालमा काम गर्न बाध्य पारिएको बताएका छन्। आफूले विरोध गरे ज्यान मार्ने धम्की दिइएको उनको भनाइ छ।
एल–फासेरमा भएको घटनाको एक वर्ष बितिसक्दा पनि सुडानको गृहयुद्ध अन्त्य हुने सङ्केत देखिएको छैन। युद्धका मोर्चाहरू अन्य क्षेत्रमा सरे पनि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र सर्वसाधारणमाथिको जोखिम कायम छ। निरन्तरको हिंसाले देशको स्वास्थ्य सेवा प्रणालीलाई कमजोर बनाउनुका साथै गम्भीर मानवीय सङ्कटलाई थप चर्काएको छ।