वीरगञ्जको मुख्य सडक विस्तारलाई केवल सडक फराकिलो बनाउने परियोजनाका रूपमा बुझियो भने यो अवसर अधुरो हुनेछ । सडकको चौडाइ बढाउनु भौतिक पूर्वाधार निर्माणको काम हो, तर त्यसैसँग विद्युत्, खानेपानी, टेलिकम, ढल, वर्षाको पानी निकास, पैदलमार्ग, पार्किङ र बजार व्यवस्थापनलाई एउटै योजनामा जोड्नु भनेको शहर निर्माणको काम हो । अहिले वीरगञ्जले यही दुईमध्ये कुन बाटो रोज्छ भन्ने प्रश्नको सामना गरिरहेको छ ।
मुख्य सडकको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिँदा विद्युत्, खानेपानी, टेलिकम तथा केबल नेटवर्कलाई भूमिगत संरचनामा समेट्ने पहल वीरगञ्ज महानगरले गरेको छ, यो आफैंमा सकारात्मक छ । तर, योजना र कार्यान्वयनबीचको दूरी घटाउन सकिएन भने यो पनि अन्य धेरै शहरी योजनाजस्तै कागजमै सीमित हुन सक्छ । सडक बनेपछि फेरि पाइप हाल्न, तार तान्न वा टेलिकमका संरचना राख्न सडक खन्नुपर्ने अवस्था आयो भने आजको लगानी भोलि आफैंमाथि दोहोरिने खर्च बन्नेछ ।
वीरगञ्जमा समस्या सडकको मात्र होइन, समन्वयको पनि हो । सडक डिभिजन, महानगरपालिका, विद्युत् प्राधिकरण, खानेपानी र टेलिकमका आआफ्नै जिम्मेवारी छन् । तर, नागरिकका लागि यी अलग निकायका समस्या होइनन् । एउटै सडकमा पोल, तार, पाइप, नाला, पसल, पार्किङ र पैदलयात्रु सबै सहअस्तित्वमा हुन्छन् । त्यसैले निकायगत सीमाभन्दा माथि उठेर एउटै सडकको एउटै पूर्वाधार योजना बनाउन सक्नु नै अहिलेको वास्तविक परीक्षा हो ।
भूमिगत पूर्वाधारको निर्णयले शहरको दृश्य सुधार्न सक्छ । पोल र तारको अव्यवस्थित जालो हटेपछि सडक र पैदलमार्गको उपयोग सहज हुन सक्छ । तर, भूमिगत बनाउनुमात्र समाधान होइन । मर्मतका बेला कसरी पहुँच पु¥याउने, नयाँ सेवा थप्दा कहाँबाट विस्तार गर्ने, पानी पस्दा वा संरचना बिग्रिँदा कसरी सुरक्षित गर्ने भन्ने प्रश्नको उत्तर पनि डिजाइनमै खोजिनुपर्छ । भविष्यको आवश्यकतालाई नसमेटिएको भूमिगत संरचना पनि केही वर्षपछि अर्को समस्या बन्न सक्छ ।
त्यसैगरी सडक विस्तारको चमकले नाला र सरसफाईको वास्तविक आवश्यकता छोपिनु हुँदैन । निर्माण सामग्री र फोहोरका कारण नाला अवरुद्ध हुने अवस्था सामान्य ठानियो भने वर्षायाममा सडक विस्तारकै उपलब्धि पानी जम्ने समस्यामा परिणत हुन सक्छ । वीरगञ्जको मुख्य सडकमा यो समस्या देखिइसकेको छ । खानेपानीका पाइप फुटेर सडकमा बगिरहेको जताततै देख्न सकिन्छ । सडक निर्माणस्थलमा फोहोर व्यवस्थापन, नाला खुला राख्ने व्यवस्था र निर्माण क्षेत्रको सुरक्षा ठेक्का प्रक्रियाकै अनिवार्य हिस्सा बन्नुपर्छ ।
अर्को सरोकार बजार व्यवस्थापनको हो । सडक फराकिलो बनाएर फुटपाथमा व्यापार गर्न दिने, जथाभावी पार्किङ हुन दिने, यात्रु चढाउने–ओराल्ने ठाउँ नतोक्ने र मालसामान सडकबाटै लोडअनलोड गर्ने हो भने केही समयपछि नयाँ सडक पुरानै समस्याले भरिनेछ । सडक विस्तारको अर्थ सवारी साधनका लागि मात्र थप ठाउँ सिर्जना गर्नु होइन । पैदलयात्रु, सार्वजनिक यातायात, व्यापार र स्थानीय आवागमनबीच सन्तुलन कायम गर्नु पनि यसको उद्देश्य हुनुपर्छ ।
भवन निर्माणतर्फ पनि अहिले नै स्पष्ट सोच आवश्यक छ । सडक विस्तारपछि नयाँ भवनहरू कसरी बन्ने, भवनअगाडिको क्षेत्र कसरी प्रयोग हुने र पार्किङ कहाँ हुने भन्ने प्रश्नको उत्तर नखोजी सडक विस्तार गरियो भने शहरको स्वरूप फेरि अव्यवस्थित हुन सक्छ । सडक बनिसकेपछि नियम बनाउनेभन्दा निर्माणअघि नै नियम स्पष्ट गर्नु बुद्धिमानी हुनेछ ।
वीरगञ्ज नेपालको व्यापारिक र औद्योगिक केन्द्रमात्र होइन, सीमापार आवागमनको महत्वपूर्ण शहर पनि हो । त्यसैले यसको मुख्य सडकमा गरिएको लगानीको प्रभाव स्थानीय नागरिकको सुविधाभन्दा धेरै परसम्म पुग्छ । यही कारण अहिलेको परियोजनालाई एउटा सडकको परियोजना होइन, वीरगञ्जको शहरी चरित्र पुनर्निर्माण गर्ने अवसरका रूपमा लिनुपर्छ ।
यसबारेमा महानगरले राखेको बैठकमा सम्बन्धित निकायका प्रतिनिधिहरू एउटै ठाउँमा जुट्नु सुरुआत हो, उपलब्धि होइन । अब कसले के गर्ने, कहिलेसम्म गर्ने, खर्च कसले व्यहोर्ने र एउटा निकायले अर्कोको पूर्वाधार कसरी सुरक्षित गर्ने ? यी प्रश्नको लिखित र समयबद्ध उत्तर नआएसम्म समन्वय केवल बैठकको विषय बन्नेछ । परिणामा देखिने छैन ।
त्यसैले वीरगञ्जको सडक विस्तारको सफलता सडकको चौडाइले होइन, त्यसले भविष्यमा सडक फेरि कति पटक खन्न नपर्ने बनायो, पैदलयात्रुलाई कति ठाउँ दियो, पानी कति सहजै निकास भयो र शहरलाई कति व्यवस्थित बनायो भन्ने कुराले मापन हुनुपर्छ ।
अहिलेको निर्णय केवल सडक बनाउने होइन, वीरगञ्ज कस्तो शहर बन्ने भन्ने निर्णय पनि हो । वीरगञ्जको मुख्य सडकले शहरलाई एउटा दुर्लभ अवसर दिएको छ । अब निर्णय सडक कति चौडा बनाउने भन्नेमा मात्र होइन, त्यो सडकले कस्तो शहर निर्माण गर्ने भन्नेमा हुनुपर्छ । आज भूमिगत गर्न छुटेको पाइप र तार भोलि सडक खनेरै राख्नुपर्नेछ । आज नसोचिएको नाला भोलि पानी जम्दा सम्झनुपर्नेछ । आज व्यवस्थापन नगरिएको पार्किङ र बजार भोलि सडक फराकिलो भएर पनि उस्तै रहनेछ ।