हामी समयको परिवर्तनशील यात्रामा छौं, जहाँ शब्दको संख्या अभूतपूर्व रूपमा बढेको छ । तर, यो सत्य हो शब्दको विश्वसनीयता निरन्तर घटिरहेको छ । अहिले सञ्चारका माध्यम विस्तार तीव्र छ । सामाजिक सञ्जालले प्रत्येक व्यक्तिलाई स्वतन्त्र बोल्ने मञ्च दिएको छ, तर प्रश्न यो छ–के हामी वास्तवमै संवाद गरिरहेका छौं ? कि आफ्नै आवाजको प्रतिध्वनि सुनिरहेका छौं ? हिजोआज सत्यभन्दा सनसनी छिटो फैलिन्छ झूठ । तर्कभन्दा आरोप लोकप्रिय हुन्छ । अध्ययनभन्दा अनुमानलाई बढी विश्वास गरिन्छ । आधारितमा होइन, आशंकामा भरोसा रोपिन्छ यस्तो अवस्थामा संकट केवल शब्दको होइन, समाजको पनि हो भन्नेतिर कहिले ध्यान जाने हो ?
कुनै एक समय थियो, जब एउटा पुस्तक लेख्न वर्षौं लाग्थ्यो, एउटा लेख प्रकाशित हुनुअघि गहिरो अध्ययन गरिन्थ्यो र एउटा अभिव्यक्तिको पछाडि उत्तरदायित्व हुन्थ्यो । सुनिएका, देखिएका कुरामा तथ्य पत्ता लाइन्थ्यो, तर आज केही सेकेन्डमै एउटा अपुष्ट समाचार लाखौं मानिससम्म मात्रै पुग्दैन उस्को दिमागमा बस्न सेकेन्ड लाग्दैन । कसैको प्रतिष्ठा ध्वस्त बनाउन, सामाजिक सद्भाव बिगार्न, लागि पर्ने तत्वहरुले हामीलाई सोध्न बाध्य बनाएको छ ।
के हामी सूचनाको युगमा छौं ?
अहिले सामाजिक सञ्जालमा कुनै घटना घट्नासाथ तथ्यभन्दा पहिले टिप्पणी आउँछ । अनुसन्धानभन्दा पहिले फैसला सुनाइन्छ । अदालतले निर्णय गर्नुअघि सामाजिक सञ्जालले दोषी र निर्दोष छुट्याइसकेको हुन्छ । भीडको निर्णयले कानून, नैतिकता र विवेकलाई समेत चुनौती दिन थालेको छ । यस्तो समाजमा शब्द हतियार बन्छ, संवाद हराउँदै जान्छ । यसको अर्को चिन्ताजनक पक्ष सार्वजनिक बहसको स्तर हो । असहमति राख्ने संस्कार कमजोर हुँदै गएको छ । फरक विचारलाई विचारकै रूपमा स्वीकार गर्नुको सट्टा व्यक्तिलाई आक्रमण गर्ने प्रवृत्ति बढेको छ । लोकतन्त्रमा विचार फरक हुन सक्छ, तर विचार राख्ने अधिकारको सम्मान हुनैपर्छ भन्ने शिक्षा कम्जोर हुनु आफैमा दुखद कुरा हो । जब शब्दले पुल होइन, पर्खाल बनाउन थाल्छ, तब समाज विभाजित हुन थाल्छ । यो गम्भीर कुरा हो !
साहित्यले सधैं समाजलाई ऐना देखाउने काम गरेको छ । पत्रकारिताले नागरिकको आवाज पस्किने काम गरेको छ । तसर्थ, शब्द र संवादमा त्यसको भूमिका झन् बढेको छ । सब्दको खेती गरिरहँदा साहित्यले केवल सौन्दर्यको वर्णन मात्र गर्दैन, समाजको पीडा, अन्याय, विकृति र सम्भावनालाई पनि उजागर गर्छ । त्यसैले आज लेखक, कवि र बुद्धिजीवीहरूको जिम्मेवारी पहिलेभन्दा बढी छ । लोकप्रिय हुनका लागि होइन, सत्यको पक्षमा उभिनका लागि लेख्नुपर्छ । पत्रकारीताले आज भ्युज र नोट कमाउन होइन लुकेका,लुकाइएका कुरा बाहिर ल्याउनपर्छ ।
कृत्रिम बुद्धिमत्ता कि सिर्जनशीलता ?
आज कृत्रिम बुद्धिमत्ताले केही क्षणमै लेख, कविता र भाषण तयार गर्न सक्छ । तर, संवेदना, अनुभव, विवेक र नैतिक साहस कुनै प्रविधिले सिर्जना गर्न सक्दैन । शब्द लेख्न सकिन्छ, तर शब्दलाई आत्मा दिन सकिँदैन । यही कारणले मानव सिर्जनशीलताको मूल्य अझ बढेको छ ।
हामीले आफ्ना बालबालिकालाई मोबाइल चलाउन सिकाइरहेका छौं, तर सूचना कसरी जाँच्ने, असहमतिलाई कसरी सम्मान गर्ने र जिम्मेवार अभिव्यक्ति कसरी दिने भन्ने सिकाउन सकेका छैनौं । परिणामस्वरूप प्रविधि अगाडि बढेको छ, तर सामाजिक चेतना त्यति नै गतिमा अघि बढ्न सकेको छैन ।
आजको आवश्यकता शब्दको भीड बढाउनु होइन, शब्दको विश्वसनीयता बढाउनु हो । आलोचना गर्नुपर्छ, तर तथ्यका आधारमा । विरोध गर्नुपर्छ, तर मर्यादाभित्र । समर्थन गर्नुपर्छ, तर अन्धभक्त बनेर होइन । समाज त्यतिबेला बलियो हुन्छ, जब उसका नागरिक बोल्न मात्र होइन, सुन्न पनि जान्छन् ।
नेपाली समाज अहिले संक्रमणको कठिन मोडमा छ । आर्थिक चुनौती, युवाको विदेश पलायन, राजनीतिक अस्थिरता, सामाजिक ध्रुवीकरण र डिजिटल माध्यमको तीव्र प्रभावले हाम्रो सोच र व्यवहारलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ । यस्ता चुनौतीको सामना केवल कानूनले मात्र गर्न सक्दैन, यसको समाधान संस्कार, शिक्षा, साहित्य र जिम्मेवार नागरिक चेतनाबाट सम्भव हुन्छ । प्रश्न शब्दको संकट मात्र होइन । शब्द त समाजको प्रतिबिम्ब हुन् । यदि समाजमा धैर्य, विवेक, सहिष्णुता र नैतिकता कमजोर बन्छ भने शब्द पनि उस्तै हुन्छन् । त्यसैले आज आवश्यक छ हामीले शब्दलाई फेरि विश्वासको आधार बनाऔं । सत्यलाई सनसनीभन्दा माथि राखौं । संवादलाई विवादभन्दा ठूलो बनाऔं । किनकि सभ्य समाजको पहिचान उसले कति बोल्छ भन्ने होइन, कति जिम्मेवारीका साथ बोल्छ भन्ने हो । शब्दले युद्ध पनि निम्त्याउन सक्छ, शान्ति पनि स्थापित गर्न सक्छ । हामीले शब्दलाई विभाजनको माध्यम बनाउने कि परिवर्तनको हतियार यति बुझ्न जरुरी छ ।