केही दिनयता मनसुन शुरू भएसँगै नेपालका समाचारमा उही दृश्य र उस्तै पीडा दोहोरिन थालेका छन् । बाढीले बस्ती बगाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएका छन् । गुडिरहेको यात्रुवाहक सवारी नदीमा खसेको छ । केही दिनअघि कर्णाली नदीमा खसेको सवारीका यात्रुमध्ये एक जनाको शव भीरमा अड्किएको अवस्थामा भेटियो भने अन्य यात्रुको खोजी दिनौँसम्म जारी रह्यो । अर्को घटनामा बाढीले गाडी बगाउँदा चालकले पौडी खेलेर आफ्नो ज्यान बचाए, तर गाडी केही क्षणमै उर्लंदो भेलसँगै हरायो । यस्ता समाचार अब अपवाद होइनन्, यी त मनसुनको नियमित दृश्यजस्तै बन्दै गएका छन् ।
अब प्रश्न उठ्छ–के बाढीले केवल नदी किनारमात्र बगाइरहेको छ, कि हाम्रो योजना, सोच र तयारी पनि ? यो प्रश्नले हाम्रो विकासको दृष्टिकोण र चेतनालाई समेत चुनौती दिइरहेको छ ।
पछिल्ला केही वर्षमा मेलम्ची, त्रिशुली, रसुवागढी र अहिले कर्णालीका घटनाले एउटै सन्देश दिएका छन् । नदीले सधैँ आफ्नो स्वाभाविक बहाव खोज्छ । तर, हामीले त्यसको बाटो साँघुरो बनाएका छौँ । जंगल विनाश गरेका छौँ । नदी किनार अतिक्रमण गरेका छौँ । भूगर्भीय अध्ययनविना सडक र अन्य संरचना निर्माण गरेका छौँ । त्यसमाथि जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढ्दो छ । परिणामस्वरूप, सामान्य वर्षा पनि ठूलो विपत्तिमा बदलिन थालेको छ ।
हाम्रो भरपर्दो सूचना स्रोत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तथ्याङ्कले देखाउँछन् कि नेपालमा हरेक मनसुनमा सयौँ नागरिकले ज्यान गुमाउँछन् । हजारौँ परिवार प्रभावित हुन्छन् । अर्बौँ रुपैयाँबराबरको पूर्वाधार तथा कृषि उत्पादनमा क्षति पुग्छ । तर, विडम्बना के छ भने तथ्याङ्कले केवल क्षतिको विवरण दिन्छ । किन हरेक वर्ष उस्तै प्रकृतिका घटना दोहोरिन्छन् भन्ने प्रश्नको उत्तर भने अझै खोजिन बाँकी छ ।
यद्यपि, चित्र पूर्ण रूपमा निराशाजनक छैन । नेपालमा बाढीको पूर्वसूचना प्रणाली क्रमशः विस्तार हुँदै गएको छ । धेरै स्थानमा समयमै सूचना पुगेका कारण नागरिक सुरक्षित स्थानमा सर्न सफल भएका उदाहरण पनि छन् । स्थानीय तहमा विपद् व्यवस्थापन समितिहरू गठन भएका छन् । सुरक्षा निकायको उद्धार क्षमता पनि पहिलेभन्दा सुदृढ बन्दै गएको छ । यी प्रयासहरूले सही योजना, समन्वय र कार्यान्वयन भएमा क्षति उल्लेखनीय रूपमा घटाउन सकिने आशा देखाएका छन् ।
हामीले बुझ्नुपर्ने कुरा विपद्पछिको राहतभन्दा विपद्अघिको तयारी हो । जोखिमयुक्त क्षेत्रको वैज्ञानिक नक्साङ्कन, नदी किनारको संरक्षण, वातावरणमैत्री पूर्वाधार निर्माण, विद्यालयदेखि समुदायसम्म विपद् सचेतना विस्तार र मौसम पूर्वसूचनालाई नागरिकको दैनिक जीवनसँग जोड्ने अभ्यास आजको आवश्यकता हो । विकासको अर्थ केवल सडक र पुल निर्माण गर्नु होइन । ती सडक र पुल अर्को मनसुनमा पनि सुरक्षित रहून् भन्ने सुनिश्चित गर्नु नै वास्तविक विकास हो ।
प्रकृतिले हामीलाई प्रत्येक वर्ष एउटा अवसर पनि दिइरहेको छ, आफ्ना कमजोरी सच्याउने अवसर । यदि हामीले आजका घटनालाई केवल दुःखद समाचारका रूपमा पढेर बिर्सियौँ भने अर्को वर्ष पनि यस्तै समाचार दोहोरिनेछन् । तर, यदि यी घटनालाई सिकाइमा बदल्न सक्यौँ भने मनसुन विनाशको प्रतीक होइन, सुरक्षित र दिगो विकासको प्रेरणा बन्न सक्छ ।
अब बुझ्न ढिलाइ नगरौँ । नदी हाम्रो शत्रु होइन । उसले आफ्नै बाटो खोजिरहेको हुन्छ । हामीले उसको बाटो साँघुरो बनायौँ । किनार मिच्यौँ । जंगल काट्यौँ । अनि त्यसपछि उसैलाई दोष दियौँ । प्रकृतिसँगको सम्बन्ध सुधार्न सक्यौँ भने बाढीलाई पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसले बगाउने आँसु अवश्य घटाउन सकिन्छ । त्यसका लागि नीति बदलिनुपर्छ । प्रविधि अपनाइनुपर्छ । नागरिक सचेत हुनुपर्छ । विकासले प्रकृतिसँग संवाद गर्न सिक्नुपर्छ । तबमात्र मनसुन विनाशको समाचार होइन, समृद्धिको सन्देश लिएर आउनेछ ।
बाढीले बगाएको केवल नदी किनार होइन । यसले परिवारका सदस्य गुमाएको पीडा बगाएको छ । परिवारको रोजीरोटी बगाएको छ । वर्षभरिको अन्न बगाएको छ । भविष्यप्रतिको आशा र बाँच्ने आधारसमेत बगाएको छ ।
त्यसैले अब निर्णय हाम्रो हो । हामी हरेक वर्ष शोक मनाउने समाज बन्ने कि प्रत्येक विपत्तिबाट पाठ सिकेर अझ सुरक्षित, जिम्मेवार र दिगो भविष्य निर्माण गर्ने समाज बन्ने ? यही प्रश्नप्रति आज गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ ।