सरकारको लगानी रहेका तीनवटै सरकारी बैंकका अध्यक्षहरूले राजीनामा दिएका छन् । अर्थ मन्त्रालयले अध्यक्षहरूलाई मन्त्रालयमा बोलाएर नयाँ जनादेशअनुसार सरकारलाई सहयोग गर्न आग्रह गरेपछि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अध्यक्षहरूले पदबाट अलग हुने निर्णय गरेका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार कृषि विकास बैंक र नेपाल बैंकका अध्यक्षसँगै राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा केही सञ्चालकहरूको राजीनामा स्वीकृत भइसकेको छ । यद्यपि, सम्बन्धित बैंकहरूले हालसम्म लगानीकर्ताहरूलाई औपचारिक जानकारी दिएका छैनन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले सञ्चालक तथा अध्यक्षहरूको नियुक्ति वा राजीनामासम्बन्धी जानकारी लगानीकर्तालाई सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सरकारी बैंकहरूमध्ये कृषि विकास बैंक र नेपाल बैंक नेप्सेमा सूचीकृत छन् ।
नेपाल बैंकका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्मा, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौड्याल तथा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले पदबाट राजीनामा दिएका हुन् ।
सरकारले गत वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष अध्यादेश–२०८३’ जारी गर्दै राजनीतिक नियुक्तिहरू खारेज गरेको थियो । उक्त अध्यादेशमार्फत १०८ निकायका १ हजार ५९४ पदाधिकारीको नियुक्ति खारेज भए पनि नेपाल राष्ट्र बैंकका गभर्नर तथा बैंक–वित्तीय संस्थाका पदाधिकारीहरू त्यसको दायरामा परेका थिएनन् ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले नयाँ जनादेशअनुसार काम गर्न सरकारलाई सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।