नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश गराएर परीक्षण हुँदै आएको सुरुङमार्ग अब चारपाङ्ग्रे साना सवारीसाधनका लागि खुला गरिएको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार हाल सुरुङमार्ग परीक्षणकै क्रममा रहेकाले सुरुमा कार, जिप र भ्यानलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ।
‘अहिले पनि सुरुङमार्ग परीक्षणकै क्रममा छ। सोही क्रममा आजदेखि साना सवारी खुला गरिएको हो,’ जैसीले भने।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए।
हाललाई सुरुङमार्गमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा मात्र सवारी सञ्चालन गरिनेछ। अवस्था हेरेर आगामी एक–दुई दिनभित्र क्रमशः दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको विभागले जनाएको छ।
सुरुङमार्गमा अत्यन्त प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन र दुईपाङ्ग्रे सवारीलाई भने प्रवेश दिइने छैन। अन्य ठूला सवारीसाधनलाई परीक्षण अवधि पूरा भएपछि सुरुङमार्गबाट आवतजावत गर्न दिने तयारी छ।
महानिर्देशक जैसीका अनुसार सुरुङमार्गको सञ्चालन समयसमेत क्रमशः विस्तार गरिनेछ। प्रारम्भमा बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने योजना रहेको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने नियमित ट्राफिक जाम कम हुनुका साथै काठमाडौं प्रवेश तथा बाहिरिने यात्राको समयसमेत घट्ने अपेक्षा गरिएको छ।