नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै पेस गरेको रिट निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन।
देउवा र खड्काले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी असोजमा आयोजना गर्न लागेको पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन्।
दुवै रिट शुक्रबार दिउँसो खाजा समयपछि सर्वोच्च प्रशासनमा पेस गरिएको थियो। प्रशासनले रिटको अध्ययन पूरा नभएको भन्दै शुक्रबार दर्ता नगरेको हो। रिट निवेदक पक्षलाई सोमबार पुनः आउन भनिएको छ।
तर, अदालत स्रोतका अनुसार रिट दर्ता नहुनुको कारण अध्ययन नसकिएको मात्रै नभई शुक्रबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल उपस्थित नरहनु पनि हो।
स्रोतका अनुसार महत्त्वपूर्ण प्रकृतिको रिट भएकाले प्रशासनका प्रमुख अधिकारी तथा प्रधानन्यायाधीशको अनुपस्थितिमा दर्ता प्रक्रिया अघि नबढाइएको हो।
देउवा र खड्काले आफ्ना वारेसमार्फत रिट सर्वोच्चमा पेस गरेका थिए। देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्काले वारेसको भूमिका निर्वाह गरेका थिए भने पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमारले रिट पेस गरेका थिए।
दुवै रिटमा कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले अघि बढाएको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गर्दै उत्प्रेषणको आदेश जारी गर्न माग गरिएको छ।
रिटमा कांग्रेसको विशेष महाधिवेशन तथा त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमितिको वैधानिकता र त्यसका आधारमा अघि बढाइएका महाधिवेशनसम्बन्धी गतिविधिमाथि प्रश्न उठाइएको बताइएको छ।
सर्वोच्च प्रशासनले शुक्रबार रिट दर्ता नगरेपछि अब दुवै रिट सोमबार पुनः पेस हुने भएका छन्। रिट दर्ता भएपछि मात्र त्यसको सुनुवाइका लागि प्रक्रिया अघि बढ्नेछ।