नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न कडाइका साथ निर्देशन दिएको छ। केन्द्रीय बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिई सहज र पहुँचयोग्य सेवा सुनिश्चित गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले यस्ता सेवाग्राहीका लागि विशेष काउन्टर तोकी प्राथमिकताका आधारमा सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। साथै, एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्ने अनिवार्यता पनि तोकिएको छ। त्यस्ता शाखाहरूको विवरण सम्बन्धित बैंकहरूले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ।
त्यस्तै, एटीएम सेवा उपलब्ध भएका स्थानमा ब्रेल संकेत, कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एउटा अपाङ्गमैत्री एटीएम राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ। यस्ता एटीएमको विवरण पनि वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता डिजिटल सेवाहरू प्रयोग गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिले स्वघोषणा गरेमा सम्बन्धित संस्थाले वैकल्पिक रूपमा सेवा उपलब्ध गराउनुपर्नेछ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिविहीन तथा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले पनि सहज रूपमा प्रयोग गर्न मिल्ने गरी विकास गर्नुपर्नेछ। डेबिट तथा क्रेडिट कार्डमा पनि दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचर समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले कर्मचारी व्यवस्थापनसम्बन्धी नियम पनि कडाइ गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानुन र निर्देशनअनुसार मात्र काममा लगाउनुपर्नेछ। कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त परिश्रमिक अनिवार्य रूपमा दिनुपर्नेछ। साथै, कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि गरिएको छ।