विदेशी कृषि औजारको विकल्प खोजिरहेका किसानहरू अहिले स्वदेशमै निर्मित उपकरणतर्फ आकर्षित हुन थालेका छन्। यही क्रममा राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित आफ्नो कृषि औजार कारखानाबाट स्थापनाकालदेखि हालसम्म झण्डै १७ लाख रुपैयाँ बराबरका उपकरण बिक्री गरेको छ।
पूर्वशिक्षा मन्त्री तथा सांसद महावीर पुनको पहलमा सञ्चालनमा रहेको केन्द्रले सस्तो र व्यवहारिक कृषि उपकरण उत्पादन गर्दै किसानको रोजाइ बन्दै गएको छ।
केन्द्रका प्रमुख इन्जिनियर रितेश देवका अनुसार मकै गोड्ने ‘रिजर’ ३ सय थानभन्दा बढी बिक्री भइसकेको छ, जसको मूल्य १ हजार ५ सय रुपैयाँ छ। त्यस्तै, ७ सय रुपैयाँ पर्ने ‘रेक’ पनि ३ सयभन्दा बढी बिक्री भएको छ।
मकै रोप्ने ‘कर्न प्लान्टर’ दुई थान (१५ हजार रुपैयाँ प्रति थान) तथा २६ हजार रुपैयाँ मूल्यका ७ वटा ‘राइस प्लान्टर’ बिक्री भइसकेका छन्। साथै, विडर, खन्ने, जोत्ने लगायतका दुई दर्जनभन्दा बढी हाते उपकरणसमेत ६०–७० हजार रुपैयाँ बराबरमा बिक्री भएको केन्द्रले जनाएको छ।
केन्द्रले मागअनुसार माछा उत्पादनका लागि ‘फिस इन्क्युवेटर’ मेसिन तथा अक्सिजन एरिएसन मिक्सिङ टावर उत्पादन गरी बिक्री गरिसकेको छ।
यसैबीच, केन्द्रले हालै ब्याट्रीबाट चल्ने ‘कृषि इ–ट्रिलर’ आविष्कार गरेको छ, जसले कृषिमा प्रविधिमैत्री रुपान्तरणलाई थप गति दिने अपेक्षा गरिएको छ।
स्वदेशमै उत्पादन भएका यस्ता उपकरणले लागत घटाउने मात्र होइन, आयातमा निर्भरता कम गर्दै आत्मनिर्भर कृषितर्फ महत्वपूर्ण संकेतसमेत गरेको देखिन्छ।