नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु गर्ने भएको छ। लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनर्जीवित गर्ने सरकारी योजनाअन्तर्गत सेनाले उद्योग सञ्चालनको प्रारम्भिक जिम्मेवारी सम्हालिसकेको छ। परीक्षण उत्पादनलाई उद्योग पुनः सञ्चालनको पहिलो चरणका रूपमा अघि सारिएको छ भने त्यसको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको रणनीति छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको अध्ययन प्रतिवेदनले परीक्षण उत्पादनलाई उद्योग पुनः सञ्चालनको 'प्रमाण परीक्षण'का रूपमा अघि बढाउनुपर्ने सुझाव दिएको छ। प्रतिवेदनअनुसार सरकारले सेनालाई दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने निर्देशन दिइसकेको छ र त्यसअनुसार आवश्यक प्राविधिक, वित्तीय तथा प्रशासनिक तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
यस योजनाको पहिलो उपलब्धि वित्तीय व्यवस्थापनमा देखिएको छ। उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। यो रकमबाट लामो समयदेखि प्रयोगविहीन रहेका मेसिनहरूको मर्मत, विद्युतीय प्रणाली सुधार तथा प्रारम्भिक सञ्चालनका काम सुरु भएका छन्। यसले उद्योग पुनः सञ्चालनको प्रक्रिया घोषणा मात्र नभई कार्यान्वयन चरणमा प्रवेश गरेको संकेत दिएको छ।
सेनाले उद्योगभित्र आफ्ना प्राविधिक टोली परिचालन गरी मेसिन मर्मत, सरसफाइ तथा सञ्चालनपूर्व तयारीलाई तीव्रता दिएको छ। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकिएको प्रतिवेदनमा उल्लेख छ। यसको अर्थ, अब उद्योगको चुनौती नीति निर्माणभन्दा बढी प्राविधिक तयारी र उत्पादनको सफल परीक्षणमा केन्द्रित भएको देखिन्छ।
यद्यपि उद्योग सञ्चालन केवल मेसिन मर्मतमा सीमित छैन। उद्योगको भौतिक संरचना सुधारका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान तयार पारेको छ। सोही आधारमा भवन तथा अन्य संरचनाको मर्मतको जिम्मेवारी उक्त मन्त्रालयले लिएको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगभित्रको विद्युतीय प्रणाली मर्मत गरिसकेको छ । जसले परीक्षण उत्पादनका लागि आवश्यक आधारभूत पूर्वाधार तयार भएको देखाउँछ।
प्रतिवेदनले तत्काल नयाँ मेसिन खरिदभन्दा पुरानै उपकरण मर्मत गरेर परीक्षण उत्पादन सुरु गर्ने व्यावहारिक विकल्प अघि सारेको छ। परीक्षण सफल भए त्यसको प्राविधिक, आर्थिक तथा व्यावसायिक मूल्याङ्कनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ। त्यसपछि आवश्यक कानुनी, नीतिगत तथा लगानीसम्बन्धी निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने सरकारको योजना छ।
यसले सरकार तत्काल ठूलो लगानी गर्नेभन्दा पहिले उद्योग सञ्चालनको सम्भाव्यता परीक्षण गर्न चाहेको देखिन्छ। परीक्षण उत्पादन सफल भए मात्र थप लगानी र संरचनागत सुधारलाई औचित्य दिने रणनीति अपनाइएको छ।
लामो समयदेखि निष्क्रिय रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि विभिन्न सरकारले पटकपटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन सकेको थिएन। यसपटक भने अध्ययन प्रतिवेदन, बजेट निकासा, सेनाको प्रत्यक्ष परिचालन, कच्चा पदार्थ खरिद तथा पूर्वाधार मर्मत एकसाथ अघि बढेकाले उद्योग पुनः सञ्चालनको प्रक्रिया अघिल्ला प्रयासभन्दा कार्यान्वयनमुखी देखिएको छ।
प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै कार्यदलका सुझावअनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।