देशभर धान रोपाइँको गति बढ्दै करिब ७४ प्रतिशत पुगेको भए पनि सबैभन्दा बढी धान खेती हुने मधेस प्रदेशमा भने रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ।
कृषि विभागका अनुसार नेपालभर धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमध्ये सोमबारसम्म १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ७३.६१ प्रतिशत हो।
तर, मधेस प्रदेशमा कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ। यो कुल क्षेत्रफलको ५७.९३ प्रतिशत मात्र हो, जसले मधेसलाई सातै प्रदेशमध्ये सबैभन्दा पछाडि राखेको छ।
यद्यपि, गत वर्ष यही अवधिसम्म मधेसमा ४६.८३ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो। त्यसको तुलनामा यस वर्ष रोपाइँमा करिब ११ प्रतिशत बिन्दुले सुधार देखिएको कृषि विभागको तथ्यांकले देखाएको छ।
प्रदेशगत तथ्यांकअनुसार धान रोपाइँमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि रहेको छ। त्यहाँ कुल १ लाख ६२ हजार २ सय ५० हेक्टरमध्ये ९०.६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
यस्तै, कोशी प्रदेशमा ७३.९४ प्रतिशत, लुम्बिनीमा ८०.६५ प्रतिशत, बागमतीमा ७७.३३ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत तथा कर्णालीमा ७७.०५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
देशभरको समग्र रोपाइँ दर गत वर्षको यही अवधिको ७२.१४ प्रतिशतको तुलनामा केही सुधारिएको भए पनि अधिकांश प्रदेशमा गत वर्षभन्दा कम रोपाइँ भएको छ। मधेस प्रदेशमा भने अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार देखिए पनि प्रदेश अझै राष्ट्रिय औसतभन्दा निकै पछाडि रहेको छ।