मुलुकमा सञ्चालनमा रहेका दुई विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र सिमरामा उत्पादित वस्तुहरू निर्यातसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेका छन् ।
मुख्य रूपमा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएका यी सेजका उद्योगहरूले आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म आन्तरिक बजारमा २ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरका वस्तु तथा सेवा बिक्री गरेका छन् ।
सरकारले सेजमा उत्पादित वस्तु तथा सेवा आन्तरिक बजारमा पनि बिक्री गर्न पाउने कानुनी व्यवस्था गरेपछि भैरहवा र सिमरा सेजका उद्योगहरूले स्वदेशी बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरेका हुन् ।
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८१ मार्फत संशोधन गरिएको विशेष आर्थिक क्षेत्र ऐन, २०७३ ले निर्यातसम्बन्धी व्यवस्था लचकदार बनाएको छ ।
संशोधित ऐनको दफा १३ अनुसार सेजमा स्थापित उद्योगले उत्पादन सुरु गरेको मितिबाट पहिलो चार वर्षसम्म आफ्नो उत्पादनको कम्तीमा १५ प्रतिशत र त्यसपछिका वर्षमा कम्तीमा ३० प्रतिशत वस्तु तथा सेवा निर्यात गर्नुपर्ने व्यवस्था छ ।
यस्तै, सोही दफाको उपदफा (२) ले उद्योग सञ्चालनमा आएको मितिबाट तीन वर्षसम्म आन्तरिक बजारमा पनि वस्तु तथा सेवा बिक्री गर्न सकिने व्यवस्था गरेको छ । यही कानूनी संशोधनपछि सेजमा उत्पादित वस्तु तथा सेवा स्वदेशी बजारमा समेत बिक्री हुन थालेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बाराको सिमरा सेज ८३३ बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा पाँच वटा ब्लक रहेका छन्, जसमध्ये हाल ‘ए’ ब्लकमा मात्र उद्योग सञ्चालन भइरहेको छ । ३४३ बिघा क्षेत्रफलमा रहेको ए ब्लकमा ६८ वटा प्लट छन् र ती सबैमा उद्योग स्थापना तथा सञ्चालनका लागि अनुमति दिइएको छ ।
हाल ७५९ जनालाई रोजगारी दिएको सिमरा सेजबाट आर्थिक वर्ष २०८१÷८२ देखि निर्यात तथा आन्तरिक बजारमा बिक्री सुरु भएको हो । मन्त्रालयका अनुसार हालसम्म सिमरा सेजबाट १ अर्ब ८५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका छन् ।
आर्थिक वर्ष २०८१÷८२ मा सिमरा सेजबाट १ अर्ब २७ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए भने सोही अवधिमा ३५ करोड रुपैयाँ बराबरका वस्तु आन्तरिक बजारमा बिक्री भएका थिए । चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्म १३ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् भने १० करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा स्वदेशी बजारमा बिक्री भएका छन् ।
मन्त्रालयका अनुसार भैरहवा सेजबाट उक्त अवधिमा कुल ५ अर्ब ८४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसमध्ये ३ अर्ब ५० करोड ४५ लाख रुपैयाँका वस्तु तथा सेवा निर्यात भएका छन् भने २ अर्ब ३३ करोड ७८ लाख रुपैयाँका वस्तु तथा सेवा आन्तरिक बजारमा बिक्री भएका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजमा ६९ वटा प्लट रहेका छन् । ती सबै प्लट उद्योग सञ्चालनका लागि लगानीकर्तालाई उपलब्ध गराइसकिएको छ । अनुमति पाएका उद्योगमध्ये १० वटा सञ्चालनमा छन् भने ५ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । सञ्चालनमा रहेका उद्योगमार्फत हाल ४४५ जनाले रोजगारी पाएका छन् ।
प्राधिकरणका वरिष्ठ सहायक सूचना प्राविधिक सागर सिलवालका अनुसार भैरहवा सेजमा अनुमति पाएका उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ लगानी गर्नेछन् । उनका अनुसार भैरहवा र सिमरा दुवै सेजका सबै प्लट उद्योग स्थापनाका लागि स्वीकृत भइसकेका छन् । भैरहवा सेजमा गार्मेन्ट, भाडाकुँडा तथा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् ।