वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा कडा र रोचक प्रतिस्पर्धा देखिने भएको छ । आर्थिक राजधानीको रूपमा परिचित वीरगञ्जलाई समेत समेटेको यस निर्वाचन क्षेत्रमा पूर्वमन्त्री र व्यापारीदेखि वडाध्यक्ष पद त्यागेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारसम्मको सहभागिताले चुनावी भिडन्तलाई थप चासोको विषय बनाएको छ ।
नेपाली कांग्रेसले यसपटक पनि निवर्तमान सांसद अजयकुमार चौरसियालाई उम्मेदवार बनाएको छ । चौरसियाले २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याउँदा कुर्मीले २२ हजार ४ सय ५५ मत प्राप्त गरेका थिए । त्यतिबेला कांग्रेसलाई माओवादी केन्द्रको साथ थियो भने जसपाले एमालेसँग चुनावी सहकार्य गरेको थियो ।
तर, २०७४ को निर्वाचनमा चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल प्रसाद श्रीवास्तवसँग पराजित भएका थिए । सो निर्वाचनमा चौरसियाले १९ हजार ७ सय ४ मत पाए भने श्रीवास्तवले २१ हजार १ सय ६९ मतसहित विजय हासिल गरेका थिए ।
पहिचानवादी राजनीतिक धार बोकेको जसपा नेपालले यसपटक उद्योगी-व्यवसायी अशोककुमार टेमानीलाई उम्मेदवार बनाएको छ । नयाँ अनुहारका रूपमा देखिएका टेमानीले पार्टीको परम्परागत मतसँगै व्यवसायिक समुदायको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष पदबाट राजीनामा दिएका सुशील साह कानुलाई मैदानमा उतारेको छ । २०७९ को निर्वाचनमा पहिलो पटक सहभागी भएको रास्वपाको मत यस क्षेत्रमा कमजोर देखिएको थियो । त्यसबेला रास्वपाका उम्मेदवार दीपकराज पटेलले ९ सय ७१ मत मात्र ल्याएका थिए भने समानुपातिकतर्फ २ हजार ४५ मत प्राप्त भएको थियो ।
समानुपातिक मततर्फ यस क्षेत्रमा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको देखिन्छ । कांग्रेसले १८ हजार ७ सय ६९ मत पाएको थियो भने जसपाले १२ हजार २ सय ६९ मत प्राप्त गरेको थियो । जसपासँग चुनावी तालमेल गरेको एमालेले ६ जार ५ सय ३३ मत पाएको थियो । माओवादी केन्द्रले १ हजार १ सय ५५ र नेकपा एकीकृत समाजवादीले १ हजार १ सय ७५ मत ल्याएका थिए । अहिले यी दुई दल एक भएर नेपाली कम्युनिष्ट पार्टीबाट मनोज चौधरी मैदानमा छन् ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत् नेतृत्वमा युवा अनुहार ल्याए पनि पर्साका चारै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार दोहो¥याएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । पर्सामा प्रचलित भनाइ छ, ‘पर्सामा कांग्रेसलाई हराउने कांग्रेसी नै हुन्छन् ।’
नेकपा एमालेले युवा उम्मेदवार रिमाकुमारी यादवलाई अघि सारेको छ । युवा मतदाताको समर्थन रहने दाबी गरिए पनि कांग्रेस र जसपाको तुलनामा एमालेको मताधार कमजोर देखिन्छ ।
समानुपातिक मतका आधारमा दोस्रो स्थानमा रहेको जसपाले यसपटक नयाँ अनुहार अशोककुमार टेमानीलाई अघि सारेको छ । विद्यार्थीकालदेखि क्रान्तिकारी राजनीति हुँदै जेल जीवनसमेत बिताएका युवा उम्मेदवार अमिताभ बच्चन दास तत्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
राप्रपाले पूर्वसांसद विना जैसवाललाई उठाएको छ । जनमत पार्टीका श्यामप्रसाद गुप्ता छन् । नेपाल जनता पार्टीका सन्तोषकुमार पटेल उम्मेदवार बनेका छन् । १४ जना स्वतन्त्रसहित ३१ जना चुनावी मैदानमा रहेको यो क्षेत्रमा पुराना अनुहारप्रतिको जनअसन्तोषलाई आफ्नो पक्षमा प्रयोग गर्ने रणनीतिमा नयाँ उम्मेदवारहरू लागेका छन् ।
पर्सा क्षेत्र नं. २ मा पुरानै अनुहार दोहोरिन्छन् वा नयाँ अनुहारले बाजी मार्छन् भन्ने कुरा अब फागुन २१ गतेको मत परिणामले नै स्पष्ट गर्नेछ ।