राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशमा ऐतिहासिक सफलता हासिल गर्दै प्रतिनिधि सभा प्रत्यक्षतर्फ ३२ मध्ये ३० सिटमा विजय हासिल गरेको छ। प्रारम्भिक तथा अन्तिम नतिजाअनुसार रास्वपाले मधेशका अधिकांश निर्वाचन क्षेत्रमा ठूलो मतान्तरसहित जित हात पारेको हो।
मधेशका आठ जिल्ला: सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा मा भएको निर्वाचनमा रास्वपाले व्यापक मतसहित वर्चस्व स्थापित गरेको हो।
हालसम्म ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० सिटमा विजयी भएको छ। एक मात्र सिट रौतहट निर्वाचन क्षेत्र नं. २ मा भने नेपाली कांग्रेस का मोहम्मद फिरदोश आलम विजयी भएका छन्। उनले २९ हजार ५२८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा का किरणकुमार साह ले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। रास्वपाका शेख सगिर ले ९ हजार ३२५ मत पाएका छन्।
यता धनुषा निर्वाचन क्षेत्र नं. १ को अन्तिम मतपरिणाम भने अझै सार्वजनिक भएको छैन। रास्वपाका उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी खारेज भए पनि उनले सबैभन्दा बढी मत ल्याएपछि विवाद उत्पन्न भएको हो। यस विषयमा उनले सर्वोच्च अदालत मा रिट दायर गरेका छन्। निर्वाचन आयोग ले अदालतले विवाद टुंगो नलगाउँदासम्म अन्तिम परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ।
मधेश प्रदेशका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले १० हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेको जनाइएको छ।
यस निर्वाचनमा मधेशका प्रभावशाली तथा ‘हेवीवेट’ मानिएका नेताहरूले समेत पराजय भोग्नुपरेको छ। गगनकुमार थापा, उपेन्द्र यादव, डा. सिके राउत, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरू पराजित भएका छन्। त्यस्तै रघुवीर महासेठ, विमलेन्द्र निधि र महेन्द्र यादव जस्ता नेताहरू पनि ठूलो मतान्तरले हार्न पुगेका छन्।
आठ जिल्लाका विजेता
सप्तरी
क्षेत्र नं. १ – पुष्पा कुमारी चौधरी
क्षेत्र नं. २ – रामजी यादव
क्षेत्र नं. ३ – अमरकान्त चौधरी
क्षेत्र नं. ४ – सिताराम साह
सिरहा
क्षेत्र नं. १ – बबलु गुप्ता
क्षेत्र नं. २ – शिव यादव
क्षेत्र नं. ३ – सम्भु कुमार यादव
क्षेत्र नं. ४ – तपेश्वर यादव
धनुषा
क्षेत्र नं. १ – परिणाम विवादित
क्षेत्र नं. २ – रामविनोद यादव
क्षेत्र नं. ३ – मनिष झा
क्षेत्र नं. ४ – राजकिशोर महतो
महोत्तरी
क्षेत्र नं. १ – प्रमोद महतो
क्षेत्र नं. २ – डा. दीपक कुमार साह
क्षेत्र नं. ३ – उज्वल झा
क्षेत्र नं. ४ – गौरी कुमारी यादव
सर्लाही
क्षेत्र नं. १ – निमित कुमारी भण्डारी
क्षेत्र नं. २ – रविन महतो
क्षेत्र नं. ३ – नरेन्द्र साह
क्षेत्र नं. ४ – डा. अमरेश सिंह
रौतहट
क्षेत्र नं. १ – राजेश चौधरी
क्षेत्र नं. २ – मोहम्मद फिरदोश आलम (नेपाली कांग्रेस)
क्षेत्र नं. ३ – रविन्द्र पटेल
क्षेत्र नं. ४ – गणेश पौडेल
बारा
क्षेत्र नं. १ – गणेश धिमाल
क्षेत्र नं. २ – चन्दन कुमार सिंह
क्षेत्र नं. ३ – अरविन्द साह
क्षेत्र नं. ४ – रहवर अन्सारी
पर्सा
क्षेत्र नं. १ – बुद्धिप्रसाद पन्त
क्षेत्र नं. २ – सुशील कुमार कानु
क्षेत्र नं. ३ – रामाकान्त प्रसाद चौरसिया
क्षेत्र नं. ४ – टेकबहादुर शाक्य
मधेश प्रदेशको निर्वाचन परिणामले परम्परागत दलहरूको प्रभाव घट्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले यसपटक मधेशको राजनीतिक समीकरणलाई नै उल्ट्याएको टिप्पणी गरिएको छ।