निर्वाचन आयोगद्वारा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मतगणना सकिएसँगै आगामी प्रतिनिधि सभामा राजनीतिक दलहरूले पाउने सम्भावित सिट संख्या प्रष्ट हुन थालेको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतको आधारमा ५७ सिट पाउने देखिएको छ। यस अनुसार रास्वपाको कुल सिट संख्या १८२ पुग्छ, तर २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइको लागि १८४ सिट आवश्यक छ, जसले गर्दा दुई सिट कम पर्दछ।
रास्वपाले समानुपातिकतर्फ ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले प्रत्यक्ष १८ र समानुपातिक २० सिट पाउँदा कुल ३८ सिटमा सिमित हुने देखिएको छ। यसअघि कांग्रेससँग ८९ सिट थियो।
नेकपा (एमाले) ले प्रत्यक्ष ९ र समानुपातिक १६ सिट पाउँदा कुल २५ सिटमा सिमित हुने देखिन्छ। यसअघि एमालेसँग ७९ सिट थियो।
नेपाल कम्युनिस्ट पार्टी को कुल सिट १६, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ पुग्ने देखिएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक सिट बाँडफाँटको प्रक्रिया अब पूरा हुने क्रममा छ। दलहरूले पाएको मतको आधारमा सिट तय भएपछि तीन दिनभित्र सम्बन्धित बन्दसूचीबाट नाम सिफारिस गरिनेछ र आयोगले प्रमाणपत्र प्रदान गर्नेछ।