मधेस प्रदेशको आर्थिक राजधानी मानिने पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता हासिल गरेको छ। परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पार्दै रास्वपाले जिल्लाभर आफ्नो बलियो उपस्थिति देखाएको हो।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार पर्सा क्षेत्र नं. १, २, ३ र ४ मा रास्वपाको ‘घण्टी’ चिह्नले अन्य दलको तुलनामा उल्लेख्य मत प्राप्त गरेको छ।
निर्वाचन क्षेत्रगत मत विवरण:
पर्सा क्षेत्र नं. १:
रास्वपा – ३४,४६३
नेकपा एमाले – ९,२३१
नेपाली कांग्रेस – ८,२६७
पर्सा क्षेत्र नं. २:
रास्वपा – ३४,९१८
नेपाली कांग्रेस – १०,३४०
नेकपा एमाले – ८,५८५
पर्सा क्षेत्र नं. ३:
रास्वपा – २४,१५८
नेपाली कांग्रेस – ८,६५०
नेकपा एमाले – ६,१६८
पर्सा क्षेत्र नं. ४:
रास्वपा – ३०,३८९
नेपाली कांग्रेस – ११,५१२
नेकपा एमाले – ९,९३५
क्षेत्र नं. १ मा रास्वपाले ३४ हजारभन्दा बढी मत ल्याउँदै एमाले र कांग्रेसलाई निकै पछि पारेको छ। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,२४० मत प्राप्त गरेको छ।
क्षेत्र नं. २ मा रास्वपा र कांग्रेसबीच मतान्तर उल्लेख्य देखिएको छ। कांग्रेसले १०,३४० मत प्राप्त गर्दा रास्वपाले झन्डै ३५ हजार मत कटाएको छ।
क्षेत्र नं. ३ मा पनि रास्वपा पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा छन्। यस क्षेत्रमा राप्रपा र जनमत पार्टीले पनि केही मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ४ मा रास्वपाले ३० हजारभन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले ११ हजारभन्दा बढी र एमालेले करिब १० हजार मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) ले यहाँ ४,००३ मत ल्याएको छ।
जिल्लाका चारै क्षेत्रको समग्र परिणाम हेर्दा नयाँ शक्तिका रूपमा उदाएको रास्वपाप्रति मतदाताको आकर्षण बढ्दो देखिएको छ। मधेस प्रदेशका पुराना क्षेत्रीय दल तथा ठूला दलहरू समानुपातिकतर्फ अपेक्षाकृत कमजोर देखिएका छन्।