वीरगञ्जमा झाडापखला र हैजाको प्रकोप देखिएपछि वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालामार्फत खानेपानी परीक्षण सुरु गरेको छ।
संक्रमणको प्रमुख कारण दूषित पिउने पानी हुन सक्ने आशंकामा महानगरले विभिन्न स्थानका धाराबाट नमुना संकलन गरी परीक्षण अघि बढाएको हो। महानगर प्रमुख राजेशमान सिंहका अनुसार वडा नम्बर १०, ११ र १२ भित्रका पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरिएको छ।
महानगरले माइक्रोबायोलोजिस्ट अजय मण्डल र वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोली खटाएर संकास्पद क्षेत्रको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्न थालेको जनाएको छ। सोमबारदेखि नमुना संकलन र परीक्षणको कामलाई तीव्रता दिइएको छ।
खानेपानी परीक्षणका लागि महानगरले वडा नम्बर १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ। प्रयोगशालामा हाल इकोली परीक्षण सहजै हुने सुविधा मिलाइएको छ भने युनिसेफले उपलब्ध गराएको विशेष किटमार्फत कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ।
माइक्रोबायोलोजिस्ट मण्डलका अनुसार इकोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउनेछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट आउन करिब ७२ घण्टा लाग्नेछ। “समयमै नतिजा आएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तुरुन्तै थाहा पाइन्छ र त्यसअनुसार कदम चाल्न सजिलो हुन्छ,” उनले बताए।
संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै महानगर प्रमुख सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको उल्लेख गरे। उनका अनुसार आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य बासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो।
हाल महानगरले अत्यधिक प्रभावित क्षेत्रका धारामा प्राथमिकता दिँदै पानीको परीक्षण कार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।