सोमबार सेयर बजार ११ महिनायता कै उच्च विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा २१.७६ अंकले वृद्धि भई २८९२.०२ विन्दुमा पुगेको हो। यो अंक २०७९ साल भदौ ९ यताकै उच्च विन्दु हो। सो दिन नेप्से २८९४ अंकमा पुगेको थियो।
सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार १६ अर्ब ३२ करोड रुपैयाँको मात्रै कारोबार भएको छ।
यद्यपि बजारको कुल आकारमा नयाँ रेकर्ड कायम भएको छ। सबै सूचीकृत कम्पनीहरूको बजार मूल्य (मार्केट क्यापिटलाइजेसन) ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यसअघि २०७९ फागुन १८ मा ४७ खर्ब ९९ अर्ब रुपैयाँको रेकर्ड कायम भएको थियो।
आजको कारोबारमा १५३ कम्पनीको मूल्य वृद्धि भएको छ भने ९६ कम्पनीको मूल्य घटेको छ।
उपसमूहगत रूपमा हेर्दा माइक्रोफाइनान्स समूह सबैभन्दा बढी १.९३ प्रतिशतले बढ्यो। त्यसपछि अन्य समूह १.८४ प्रतिशत, निर्जीवन बीमा १.२७, विकास बैंक १.४२, बैंकिङ ०.४८, हाइड्रोपावर ०.४६, व्यापार ०.४३, उत्पादन तथा प्रशोधन ०.३७, लगानी ०.३७, होटल तथा पर्यटन ०.३० र जीवन बीमा ०.०२ प्रतिशतले बढेका छन्।
तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन्। उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ९.४० प्रतिशत र फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशतले बढेको छ।
यस्तै, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। ती कम्पनीहरूमा ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्। त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक परेका छन्।