नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । एकै महिनामा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो मासिक रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च हो । यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चाडपर्वको मौसम र रसुवामा आएको बाढीका कारण समेत असोजमा रेमिट्यान्स आप्रवाह बढेको अनुमान गरिएको छ । भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने गत आर्थिक वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि २९.२ प्रतिशत रहेको थियो ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ रहेको थियो ।