नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।
आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो ।
राष्ट्र बैंकले विदेशी विनिमय पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब रुपैयाँ र सुन तथा चाँदीको पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो लाभ क्रमशः ४५ अर्ब ३ करोड र ४६ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ थियो ।
पुनर्मूल्याङ्कन लाभ तथा हानि समायोजन गर्नुअघिको नियमित खुद आय भने ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८० अर्ब ४८ करोड रुपैयाँ थियो ।
समीक्षा वर्षमा बैंकको कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले बढेर ९३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । विदेशी विनिमय खरिद–बिक्रीबाट भने २ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक आम्दानी भएको छ ।
राष्ट्र बैंकले सञ्चालन नाफाबाट ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराएको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले विभिन्न कोषमा रकम विनियोजन गरी बाँकी रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
बैंकले खुला बजार कारोबार स्थिरीकरण कोषमा ३६ अर्ब ५० करोड र साधारण जगेडा कोषमा १३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ । विदेशी विनिमय तथा सुनचाँदी पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ सम्बन्धित समीकरण कोषमा राखिएको छ ।
यसैबीच, २०८३ असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा कुल इक्विटी १० खर्ब ४१ अर्ब र जगेडा कोष १० खर्ब ३६ अर्ब रुपैयाँ कायम भएको छ ।