नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ । झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा प्रयोग गर्न अयोग्य विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले सट्टाभर्ना तथा जम्मा गर्न ल्याएका त्यस्ता नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तमा विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । यो रकम २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
यसैबीच राष्ट्र बैंकले बैंकनोटको सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक गर्दै नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउने काम अघि बढाएको छ । बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको छ ।
गत आर्थिक वर्ष ५ रुपैयाँ दरका ३५ करोड थान नोट करार सम्झौताअनुसार आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन् । त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोटमध्ये पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान आपूर्ति भइसकेका छन् ।
त्यसैगरी १०० रुपैयाँ दरका ३० करोड थान नोटमध्ये २१ करोड थान र ५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यसका अतिरिक्त ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको छ ।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन् । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।