नेप्सेमा सोमबार साढे तीन महिनायताकै उच्च कारोबार भएको छ। कुल कारोबार रकम १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जुन फागुन १९ यताकै उच्च हो। अघिल्लो दिन ११ अर्ब ४४ करोडको कारोबार भएको थियो।
कारोबार रकममा उल्लेख्य वृद्धि भए पनि नेप्से परिसूचक भने उल्लेखनीय रूपमा बढ्न सकेन। नेप्से २.८० अंकले मात्र बढेर २६५८ विन्दुमा पुगेको छ। दिनभरको कारोबारमा १२४ कम्पनीको शेयर मूल्य बढ्दा १२४ कै घटेको छ।
उद्योगगत उपसमूहहरूमा होटल तथा पर्यटन समूह ४.६९ प्रतिशतले उकालो लागेर सबैभन्दा अगाडि रह्यो। त्यसपछि बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन्।
यसैदिन अघिल्लो दिनसम्म तीव्र रूपमा उकालो लागेको जलविद्युत समूह १.०० प्रतिशतले ओरालो लाग्यो। फाइनान्स समूह १.२२ प्रतिशतले घट्दै सबैभन्दा बढी प्रभावित रह्यो भने अन्य समूह ०.३३ र लगानी समूह ०.१३ प्रतिशतले घटे।
पियोर इनर्जी र पिपुल्स पावर कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भयो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ८.३७, सोल्टी होटल ६.३०, ओरियन्टल होटल ५.१३ र बोटलर्स नेपाल (बालाजु) ५.०९ प्रतिशतले बढेका छन्।
दोस्रोपट्टि, अपर हेवाखोला हाइड्रोपावरको मूल्य ७.५८, श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.३३, सिनर्जी पावरको ४.८४ र उन्नति सहकार्य लघुवित्तको ४.३५ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् रहेका छन्।