वीरगंज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाडौंले पर्साको वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई सम्मान गर्ने भएको छ । हिजो मन्त्रालयको माननिय मन्त्रीस्तरको निर्णय अनुसार पत्रिकालाई सम्मान गरिने मन्त्रालय अन्तर्गतका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा अधिकृत पुष्पादेवी राईले जानकारी दिईन् ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको अठारौं राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते पत्रिकालाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । मधेश प्रदेशमा महिलाहरुको समुहले संचालन गरेको यस पत्रिकाले मानव बेचविखनका विरुद्ध कलम चलाएर राष्ट्रलाई पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिएको राईको भनाई छ ।
भदौ १२ गतेबाट मध्य नेपालको पाईला नवौं वर्षमा प्रवेश गरेको छ । विभिन्न आरोहअवरोह पार गर्दै महिलाहरुको समुहले कोरोनाकाल र आर्थिकमन्दीमा पनि अहोरात्र खटेर मानव बेचविखनविरुद्ध कलम चलाउँदै आएको छ ।
ईमान्दार र पत्रकारितालाई बुझ्ने समुहका कारण नै यो पत्रिका मधेश प्रदेशमै सर्वाधिक पढ्ने तथा लोकप्रिय पत्रिकाको रुपमा स्थापित हुन पुगेको पाठकवर्गको भनाई छ ।
वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल पत्रिका मन्त्रालयबाट सम्मान पाउँदा नेपाल पत्रकार महासंघ पर्साको पनि गौरवको विषय भएको अध्यक्ष अनुप तिवारीको बुझाई छ । अहिलेको अवस्थामा कुनै पनि उद्योग, व्यवसाय संचालन गर्न गाह्रो छ । आर्थिकमन्दी छ, त्यसमा पनि वीरगंजका पत्रिकारितामा देखिएका विकृतिसँग लड्ने अवस्था छ तर पनि यो भिडमा आफुलाई अब्बल बनाउन मध्य नेपाल सफल भएको तिवारीको भनाई छ ।
अबको आधुनिक युग र प्रविधियुक्त पत्रकारिता थप चुनौती भएको भन्दै सबै स्थानिय पत्रकार, पाठक, उद्योग व्यवसायी, स्थानिय सरकार, संघसंस्था हामी सबै यस पत्रिकाको सहयात्री बन्न जरुरी रहेको उनको भनाई छ ।