नवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्व हो । आश्विन शुक्लपक्षका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिने यस पर्वलाई नारी शक्ति, साहस, पराक्रम र आत्मजागरणको प्रतीकका रूपमा लिइन्छ । पौराणिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरको वध गरी सत्य, न्याय र धर्मको रक्षा गरेकी थिइन् । यसले अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश दिन्छ । नवरात्रिले नारीको शक्ति, क्षमता र योगदानको सम्मान गर्न प्रेरित गर्नुका साथै समानता, सद्भाव र सामाजिक रूपान्तरणको आवश्यकता पनि औँल्याउँछ । देवीको पूजामात्र होइन, नारीको सम्मान, अधिकार र स्वतन्त्रता सुनिश्चित गर्नु नै यस पर्वको वास्तविक सार हो । यस विषयमा मध्य नेपालले लिएको प्रतिक्रियाको सारः
नवरात्रिको धार्मिक र आध्यात्मिक महत्व छ
आश्विन शुक्लपक्षका नौ दिनलाई नवरात्रि भनिन्छ । यस अवधिमा नवदुर्गाका नौ स्वरूपको क्रमशः विशेष पूजा, आराधना तथा उपासना गर्ने धार्मिक परम्परा रहेको छ । नवरात्रिको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री भगवतीको पूजा गरिन्छ । पौराणिक मान्यताअनुसार सत्ययुगमा महिषासुरजस्ता राक्षसी प्रवृत्तिका कारण संसार आक्रान्त भएको थियो । राक्षसहरूको अत्याचार र दुराचारबाट पीडित मनुष्य तथा देवताहरूले सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवको शरण लिए ।
त्रिदेवको आज्ञाअनुसार देवता र मनुष्यले आद्यशक्ति भगवतीको व्रत, पूजा, प्रार्थना र तपस्या गरे । उनीहरूको आराधनाबाट प्रसन्न भएकी भगवतीले महिषासुरजस्ता दुष्ट शक्तिको अन्त्य गरी देवता तथा मनुष्यको रक्षा गरेको धार्मिक विश्वास छ । नवरात्रि असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचारको विजयको प्रतीक हो । यस पर्वले समाजमा एकता, सद्भाव, धार्मिक आस्था र नैतिकताको भावना जागृत गराउँछ । देवीको उपासनाबाट सुख, शान्ति, शक्ति, समृद्धि तथा सफलता प्राप्त हुने विश्वास गरिन्छ ।
मानव जीवनलाई ऊर्जाशील, अनुशासित र सार्थक बनाउन दैनिक देवी उपासना महत्वपूर्ण मानिन्छ । दैनिक पूजा सम्भव नभए पनि चैत्र र आश्विन नवरात्रिमा श्रद्धापूर्वक देवीको सेवा, पूजा, जप तथा पाठ गर्नु उचित हुन्छ । नवरात्रिले मानिसलाई सकारात्मक सोच, सदाचार र सत्कर्मको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्दछ ।
नवरात्रि नारी शक्तिको प्रतीक
नवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्वलाई नारी शक्तिको प्रतीकका रूपमा मानिन्छ, किनकि यसले नारीभित्र रहेको साहस, शक्ति, ममता, धैर्य, करुणा र अन्यायविरुद्ध लड्ने क्षमतालाई सम्मान गर्छ । नवरात्रिका नौ दिन माता दुर्गाका नौवटा स्वरूपको पूजा आराधना गरिन्छ । यस पर्वले नारीको महत्व र समाजमा उहाँहरूको भूमिकालाई उजागर गर्छ । हिन्दू धर्मग्रन्थअनुसार माता दुर्गाले महिषासुर नामक शक्तिशाली असुरको वध गरी सत्य, न्याय र धर्मको रक्षा गर्नुभएको पौराणिक मान्यता छ । यस घटनाले असत्य र अन्यायमाथि सत्य र न्यायको विजय हुने सन्देश दिन्छ । साथै नारी कमजोर नभई आवश्यक पर्दा ठूला चुनौतीको सामना गर्न सक्ने शक्तिशाली व्यक्तित्व हुन् भन्ने कुरा पनि स्पष्ट पार्छ । नारीमा माया, ममता र करुणामात्र नभई साहस, आत्मविश्वास, धैर्य र नेतृत्व गर्ने क्षमता पनि हुन्छ ।
नारी परिवारको हेरचाह गर्ने व्यक्तिमा मात्र सीमित छैनन् । उनीहरू समाज र राष्ट्रको विकास तथा निर्माणमा पनि महत्वपूर्ण योगदान पु¥याउँछन् । शिक्षा, स्वास्थ्य, राजनीति, विज्ञान, कला, साहित्य र अन्य विभिन्न क्षेत्रमा नारीहरूले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । त्यसैले नारीलाई सम्मान गर्नु र उहाँहरूको योगदानको कदर गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो ।
नवरात्रि देवीको पूजा गर्ने पर्वमात्र नभई नारीको अस्तित्व, आत्मसम्मान, स्वतन्त्रता र अधिकारको सम्मान गर्ने अवसर पनि हो । यस पर्वको वास्तविक सन्देश नारीमाथि हुने भेदभाव, हिंसा र अन्यायको अन्त्य गर्नु हो । नारीलाई समान अवसर, शिक्षा, सुरक्षा र अधिकार प्रदान गर्न सकेमात्र नवरात्रिको महत्व सार्थक हुन्छ । त्यसैले नवरात्रिले हामीलाई प्रत्येक नारीलाई देवीसरह सम्मान गर्दै समानता र न्यायमा आधारित समाज निर्माण गर्न प्रेरणा दिन्छ ।
नारी शक्ति, सम्मान र स्वतन्त्रताको उत्सव
नवरात्र हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हो । यो पर्व देवी दुर्गाको पूजा आराधना गर्ने अवसरमात्र नभई नारी शक्ति, साहस, आत्मसम्मान र स्वतन्त्रताको उत्सव पनि हो । दुर्गाका नौ स्वरूपले नारीभित्र निहित ममता, धैर्य, ज्ञान, साहस र अन्यायविरुद्ध लड्ने शक्तिको प्रतीक प्रस्तुत गर्छन् । त्यसैले नवरात्रले नारीको महत्व र क्षमतालाई सम्मान गर्न प्रेरणा दिन्छ । आजको समाजमा एउटा गम्भीर प्रश्न उठ्छ, नौ दिनसम्म देवीको पूजा गर्ने हामीले वर्षभरि नारीको सम्मान र अधिकार सुनिश्चित गर्न सकेका छौँ त ? देवीलाई शक्तिको प्रतीक मानेर पूजा गर्नुमात्र पर्याप्त हुँदैन । वास्तविक जीवनमा पनि महिलालाई समान व्यवहार, अवसर र अधिकार प्रदान गर्न आवश्यक छ ।
नारी केवल घरपरिवार सम्हाल्ने शक्तिमात्र होइनन् । उनीहरू शिक्षिका, वैज्ञानिक, उद्यमी, प्रशासक, राजनीतिज्ञ तथा राष्ट्र निर्माणका सशक्त साझेदार हुन् । उनीहरूलाई दया वा सहानुभूति होइन, समान अवसर र निर्णय गर्ने अधिकार चाहिन्छ । परम्परा र सामाजिक मान्यताका नाममा उनीहरूको स्वतन्त्रता सीमित गर्नु हुँदैन । उनीहरूलाई शिक्षित, आत्मनिर्भर र सक्षम बन्ने वातावरण निर्माण गर्नुपर्छ । साँचो अर्थमा नवरात्र तबमात्र सार्थक हुन्छ, जब प्रत्येक छोरीले निर्भय भएर बाँच्न, पढ्न, आफ्नो सपना पूरा गर्न र आफ्नो जीवनसम्बन्धी निर्णय आफैँ लिन पाउँछिन् । त्यसैले देवीको मूर्तिमा मात्र शक्ति खोज्नुको सट्टा जीवित नारीको क्षमता, प्रतिभा र योगदानको सम्मान गरौँ । नारीको सम्मान, समानता र सशक्तीकरण नै सभ्य समाजको उत्थान र राष्ट्रको समृद्धिको बलियो आधार हो ।
साहस, पराक्रम र सत्यको विजयको प्रतीक
हिन्दू धर्मग्रन्थहरूमा विभिन्न चाडपर्वसँग सम्बन्धित आ आफ्नै खालका किंवदन्ती र धार्मिक मान्यताहरू रहेको पाइन्छ । यस्तै चाडपर्वमध्ये नवरात्रि पनि एक हो । नवरात्रिलाई नारी शक्ति, साहस, पराक्रम र सत्यको विजयको प्रतीकका रूपमा मानिन्छ ।
पौराणिक मान्यताअनुसार जब संसारमा संकट उत्पन्न हुन्छ र दानवहरूले देवता तथा मानवलाई दुःख दिन्छन्, तब देवी दुर्गाले विभिन्न नौ रूप धारण गरी दुष्ट शक्तिको विनाश गर्छिन् । उनले देवताहरूको रक्षा गर्दै संसारमा शान्ति र सन्तुलन कायम गर्छिन् । यसैले नवरात्रिले नारीमा रहेको अदम्य साहस, शक्ति र संघर्ष गर्ने क्षमतालाई उजागर गरेको छ ।
नारी केवल घरपरिवार सम्हाल्ने पात्रमात्र होइनन्, उनी समाज परिवर्तनकी संवाहक पनि हुन् । संकटको समयमा धैर्य, विवेक र साहसका साथ समस्या समाधान गर्न नारी सक्षम हुन्छिन् । नारीमा सिर्जना गर्ने, संरक्षण गर्ने र अन्यायविरुद्ध आवाज उठाउने अद्भुत क्षमता हुन्छ । नारीबिनाको परिवार, समाज र संसारको कल्पना गर्नसमेत असम्भव छ ।
हामीले नवरात्रिका अवसरमा प्रत्येक घरमा देवीको पूजा–आराधना गरेको देख्छौँ । यसले जीवनमा सुख, शान्ति, समृद्धि र पारिवारिक खुसीको कामना गर्ने सन्देश दिन्छ । साथै, हत्या, हिंसा, विभेद र अन्यायबाट मुक्त समाज निर्माण गर्न पनि प्रेरित गर्छ ।
नवरात्रिले नारीलाई साहसी, कर्मठ, निर्णय लिन सक्ने र सत्यका पक्षमा उभिने योद्धाका रूपमा चित्रण गर्छ । त्यसैले नारीको सम्मान, समानता र अधिकारको संरक्षण गर्नु नै यस पर्वको वास्तविक सन्देश हो । नारी शक्तिको सम्मान गर्दै समानतामूलक समाज निर्माण गर्न सकेमात्र नवरात्रिको महत्व सार्थक हुनेछ ।
नारी शक्तिको जागरण र सम्मानको पर्व
नवरात्रिलाई नारी शक्तिको प्रतीकका रूपमा मानिन्छ । यो पर्व देवी दुर्गा, लक्ष्मी र सरस्वतीको पूजा, आराधना र सम्मान गर्ने विशेष अवसर हो । नवरात्रिले नारीभित्र रहेको साहस, शक्ति, समृद्धि, ज्ञान र सृजनशीलताको महत्वलाई उजागर गर्छ । नारी केवल परिवारको आधारमात्र नभई समाज र राष्ट्र निर्माणकी महत्त्वपूर्ण संवाहक पनि हुन् भन्ने सन्देश यस पर्वले दिन्छ ।
प्राचीन मान्यताअनुसार सत्य युगदेखि नै नारी शक्तिलाई उच्च सम्मान दिइँदै आएको विश्वास गरिन्छ । दुर्गालाई शक्ति र सुरक्षाको प्रतीक, लक्ष्मीलाई धन र समृद्धिको प्रतीक तथा सरस्वतीलाई ज्ञान र शिक्षाको प्रतीकका रूपमा पुजिन्छ । यी देवीहरूलाई प्रतीकात्मक रूपमा हेर्दा समाज सञ्चालनका लागि सुरक्षा, आर्थिक समृद्धि र शिक्षाको महत्वपूर्ण भूमिका रहेको बुझ्न सकिन्छ । यसले नारीको क्षमता र योगदानलाई सम्मान गर्न प्रेरित गर्छ । तर, वर्तमान कलियुगमा पनि कतिपय समाजमा नारीलाई पछाडि पार्ने, उनीहरूको क्षमता र योग्यतालाई कम आँकलन गर्ने तथा समान अवसरबाट वञ्चित गर्ने प्रवृत्ति विद्यमान छ । यस्तो विभेदपूर्ण वातावरणलाई पराजित गर्न नारीहरू एकजुट हुन आवश्यक छ । आफ्ना अधिकार, आत्मसम्मान र समानताका लागि नारीहरूले दुर्गाको जस्तै साहस, दृढता र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ । शिक्षा, रोजगारी, नेतृत्व र निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ ।
नवरात्रिमा गरिने देवीहरूको पूजा आराधनाले मानिसमा सकारात्मक सोच, आत्मबल र सदाचारको भावना विकास गर्न प्रेरित गर्छ । देवीलाई पुज्नुको वास्तविक अर्थ नारीको सम्मान गर्नु, उनीहरूमाथि हुने हिंसा र विभेदको अन्त्य गर्नु तथा समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउनु पनि हो । त्यसैले नवरात्रि केवल धार्मिक पर्वमात्र नभई नारी शक्ति जागरण, समानता, एकता र सामाजिक रूपान्तरणको प्रेरणादायी अवसर हो ।
अन्यायविरुद्ध लड्ने क्षमता उजागर गर्छ
नवरात्रिलाई नारी शक्तिको प्रतीकका रूपमा मानिन्छ । यस पर्वमा हामी आदिशक्ति दुर्गा भवानीका विभिन्न नौ स्वरूपको पूजा, आराधना र उपासना गर्छौँ । नवरात्रिले नारीभित्र निहित साहस, शक्ति, धैर्य, आत्मविश्वास र अन्यायविरुद्ध लड्ने क्षमतालाई उजागर गर्छ । त्यसैले यो पर्व धार्मिक आस्थाको विषयमात्र नभई नारी शक्तिको सम्मान र जागरणको सन्देश दिने महत्त्वपूर्ण अवसर पनि हो । नवरात्रि घटस्थापनासँगै सुरु हुन्छ । नौ दिनसम्म विभिन्न देवीहरूको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक मान्यताअनुसार देवी दुर्गाले नौ दिनसम्म युद्ध गरी दशौँ दिन महिषासुरमाथि विजय प्राप्त गरेकी थिइन् । त्यसैगरी, भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्ग पनि विजयादशमीसँग जोडिएको छ । यी घटनाहरूलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुष्ट शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ ।
आश्विन शुक्ल पक्षको दशमी तिथिमा मनाइने विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ । नवरात्रिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक महत्त्व पनि उत्तिकै रहेको छ ।
नवरात्रिले नारीहरू कमजोर नभई शक्ति, साहस र परिवर्तनका संवाहक हुन् भन्ने सन्देश दिन्छ । समाजमा नारीमाथि हुने विभेद, हिंसा र अन्यायको अन्त्य गरी उनीहरूलाई समान अधिकार र अवसर प्रदान गर्नु नै देवीको पूजा गर्नुको वास्तविक सार हो । त्यसैले नवरात्रि नारी शक्तिको सम्मान, सत्यको विजय र सामाजिक रूपान्तरणको प्रेरणादायी पर्व हो ।
नारी शक्तिको आत्मजागरणको पर्व
यो पृथ्वी नै प्रकृति हो र प्रकृति नै देवीको स्वरूप हो । हामीले जीवनमा प्राप्त गर्ने हरेक वस्तु प्रकृतिबाटै पाएका छौँ । त्यसैले प्रकृतिलाई शक्ति, सृष्टि र जीवनको आधार मानिन्छ । नवरात्रि देवी दुर्गाका नौ स्वरूपको पूजा आराधना गर्ने विशेष पर्व हो । यस पर्वले नारीभित्र रहेको शक्ति, साहस, धैर्य र आत्मविश्वासलाई चिनाउने सन्देश दिन्छ । नवरात्रिको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ । देवीका यी नौ स्वरूपले नारीका विभिन्न गुण, क्षमता र जिम्मेवारीलाई प्रतिनिधित्व गर्छन् । महिलाले पनि परिस्थितिअनुसार आफ्नो भूमिका निर्वाह गर्दै कहिले धैर्य, कहिले ममता र आवश्यक पर्दा दुर्गा तथा कालीको जस्तै साहस प्रदर्शन गर्न सक्नुपर्छ ।
पौराणिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरको वध गरी दुष्ट शक्तिमाथि विजय प्राप्त गरेकी थिइन् । यस घटनालाई प्रतीकात्मक रूपमा बुझ्दा महिषासुर हामीभित्र रहेका नकारात्मक सोच, ईष्र्या, द्वेष, घृणा र हिंसात्मक प्रवृत्तिको प्रतीक पनि हो । नवरात्रिको पूजा आराधनाले हामीलाई आफ्ना खराब विचार र व्यवहार त्यागेर सकारात्मक सोच तथा सद्भाव अपनाउन प्रेरित गर्छ ।
नवरात्रि केवल देवीको पूजा गर्ने धार्मिक पर्वमात्र होइन, यो नारी शक्तिको पहिचान र आत्मजागरणको अवसर पनि हो । महिलाहरूले आफ्नो क्षमता चिन्न, आत्मसम्मान कायम राख्न र अन्यायविरुद्ध आवाज उठाउन आवश्यक छ । नारी कमजोर होइनन्, उनीहरू परिवार, समाज र राष्ट्रलाई सही दिशा दिन सक्ने शक्तिशाली व्यक्तित्व हुन् भन्ने सन्देश नवरात्रिले दिन्छ । त्यसैले नारीको सम्मान, समानता र सशक्तीकरण नै यस पर्वको वास्तविक महत्व हो ।
साहस, करुणा र सृजनशीलताको सन्देश
नवरात्रिलाई नारी शक्तिको प्रतीकका रूपमा मानिन्छ । हिन्दू धर्म र संस्कृतिमा नारीलाई शक्ति, सृष्टि, ममता र साहसको स्रोतका रूपमा लिने गरिन्छ । यही मान्यताअनुसार नवरात्रिका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको विशेष पूजा, आराधना र उपासना गरिन्छ । दुर्गा, काली, सरस्वती, कुष्माण्डा, शैलपुत्रीलगायत देवीका विभिन्न स्वरूप भए पनि यी सबैलाई एउटै आदिशक्तिका भिन्न रूपका रूपमा मानिन्छ । वर्षभरि नै देवीदेवताको पूजा गर्ने परम्परा भए पनि नवरात्रिका समयमा भगवतीका विभिन्न स्वरूपलाई विशेष प्राथमिकता दिएर पूजा गरिन्छ । यस अवधिमा भक्तजनले देवीको आराधना गर्दै सुख, शान्ति, समृद्धि, शक्ति र सकारात्मक ऊर्जाको कामना गर्छन् ।
नवरात्रिमा नवदुर्गाको पूजा गर्दा देवीका नौ स्वरूपले भक्तजनलाई आशीर्वाद दिने र शुभ फल प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ । त्यसैले यस पर्वमा काली, दुर्गा, गौरीलगायत देवीहरूको विधिपूर्वक पूजा गरिन्छ । विभिन्न स्थान र समुदायमा प्रचलित परम्पराअनुसार बलि दिने चलन पनि छ । कतिपय भक्तजनले पशुबलिको सट्टा नरिवल चढाएर पूजा तथा आराधना गर्ने गर्छन् ।
नवरात्रि केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन । यसले नारीको शक्ति, साहस, आत्मविश्वास र सम्मानलाई पनि उजागर गर्छ । देवीका विभिन्न स्वरूपले अन्यायविरुद्ध लड्ने साहस, ज्ञान, करुणा र सृजनशीलताको सन्देश दिन्छन् । यसरी नवरात्रि हिन्दू समाजको आस्था, विश्वास, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो । यसले देवीप्रतिको श्रद्धा बढाउनुका साथै नारी शक्तिको महत्व बुझ्न र समाजमा महिलाको सम्मान गर्न प्रेरणा प्रदान गर्छ ।
नारी शक्ति र पराक्रमको पर्व
नवरात्रि सनातन हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । नवरात्रि भन्नाले नौ रात भन्ने बुझिन्छ । यस पर्वमा माता दुर्गाका नौ स्वरूपको नौ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिन्छ । नवरात्रिलाई नारी शक्तिको प्रतीक मानिनुको मुख्य कारण देवी दुर्गाले अन्याय, अत्याचार र असत्यमाथि विजय प्राप्त गरी सत्य र धर्मको रक्षा गरेको धार्मिक मान्यता हो ।
पौराणिक कथाअनुसार माता दुर्गाले महिषासुर नामक राक्षसलाई पराजित गरेर दुष्ट शक्तिको अन्त्य गर्नुभएको थियो । यसले नारीमा पनि अपार साहस, शक्ति, धैर्य र पराक्रम हुन्छ भन्ने सन्देश दिन्छ । नारी केवल माया र ममताकी खानी मात्र नभई अन्यायविरुद्ध लड्न सक्ने शक्तिशाली व्यक्तित्व पनि हुन् भन्ने मान्यता यस पर्वले स्थापित गरेको छ । नवरात्रिका नौ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ । यस अवधिमा भक्तजनहरू व्रत बस्ने, दुर्गा सप्तशती पाठ गर्ने, भजनकीर्तन गर्ने तथा शक्तिपीठहरूमा दर्शन गर्न जाने गर्छन् । नेपालका गहवामाई, गढीमाई, चुरियामाई र मनकामना मन्दिरलगायतका धार्मिक स्थलमा भक्तजनहरूको घुइँचो लाग्छ ।
नवरात्रिपछि विजयादशमी मनाइन्छ, जसले असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको सन्देश दिन्छ । यस पर्वले आत्मिक शुद्धि, सद्बुद्धि, समृद्धि र पारिवारिक सुखको कामना गर्न प्रेरित गर्छ । त्यसैले नवरात्रि केवल धार्मिक आस्था र विश्वासको पर्व मात्र नभई नारीको सम्मान, समानता, आत्मविश्वास र सशक्तीकरणको सन्देश दिने पर्व पनि हो । माता दुर्गाको शक्तिलाई आत्मसात् गर्दै समाजमा नारीप्रति सम्मान र समान व्यवहार कायम गर्नु नै यस पर्वको वास्तविक महत्व हो ।
नारीप्रतिको सम्मान र मर्यादाको सन्देश
सृष्टिको सुरुवातदेखि नै शक्तिको महत्व रहँदै आएको छ । शक्तिकै आधारमा संसारका विभिन्न गतिविधि, रीतिरिवाज र परम्पराहरू सञ्चालन हुँदै आएका छन् । विभिन्न धर्म, संस्कृति र समुदायमा शक्तिको उपासना गर्ने परम्परा प्राचीन समयदेखि नै प्रचलित छ । यसमध्ये नारी शक्तिलाई विशेष महत्व दिइएको छ । नारीलाई सृष्टि, ममता, साहस, धैर्य र सिर्जनाको प्रतीक मानिन्छ ।
नवरात्रि नारी शक्तिको उपासनासँग सम्बन्धित महत्त्वपूर्ण पर्व हो । यस अवसरमा देवीका नौवटा स्वरूपको पूजा आराधना गरिन्छ । देवीको उपासनाले मानिसलाई सत्यको मार्गमा हिँड्न, असल आचरण अपनाउन तथा लोभ, मोह र अहङ्कार त्याग्न प्रेरणा दिन्छ । जीवनमा सफलता प्राप्त गर्न शक्ति, साहस र आत्मविश्वास आवश्यक हुन्छ । शक्तिको आराधनाले मानिसमा सकारात्मक सोच र आत्मबल विकास गर्न सहयोग पु¥याउँछ । नवरात्रिले नारीप्रतिको सम्मान, समानता र मर्यादाको सन्देश पनि दिन्छ । त्यसैले नारी शक्तिको सम्मान गर्दै असल आचरण र शुद्ध विचार अपनाउनु नै नवरात्रिको वास्तविक सन्देश हो ।
आपसी सद्भाव, भ्रातृत्व र एकताको पर्व
नवरात्रि प्राचीन पूर्वीय सभ्यतादेखि प्रचलित पर्व हो । यसको सुरुवात सिन्धुघाटी सभ्यताको समयदेखि भएको अनुमान गरिन्छ । वैदिककालमा देवी र शक्तिको पूजा गर्ने प्रचलन रहेकाले यसको इतिहास निकै पुरानो मानिन्छ । यस पर्वको धार्मिक तथा ऐतिहासिक महत्व विशेष रहेको छ ।
सामाजिक दृष्टिले नवरात्रि आपसी सद्भाव, भ्रातृत्व र एकताको पर्व हो । परिवार तथा आफन्तबाट टाढा रहेका व्यक्तिहरू एकै ठाउँमा भेला भई सुखदुःख साटासाट गर्छन् । यस अवसरमा नयाँ लुगा लगाउने, मिठो खाने र रमाइलो गर्ने परम्पराले मानिसलाई दैनिक जीवनका दुःखपीडा केही समय बिर्सन सहयोग पु¥याउँछ ।
नवरात्रिका समयमा प्रयोग गरिने जमरा तथा कुपिन्डोजस्ता वस्तुको पनि औषधीय महत्व रहेको मानिन्छ । कृषिप्रधान समाजमा खेतीपातीको काम सकिएपछि वा केही फुर्सद मिलेको समयमा यो पर्व मनाउने गरिन्छ । यस पर्वले किनमेल, व्यापार तथा व्यवसाय बढाएर आर्थिक गतिविधिलाई समेत चलायमान बनाउँछ । त्यसैले नवरात्रिको धार्मिक, सामाजिक, सांस्कृतिक, कृषि तथा आर्थिक महत्व उल्लेखनीय छ ।