साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा ३ छक्का प्रहार गरे । आदित्य महताले २३ बलमा ४ चौकासहित अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
एक समय ६५ रनमै ५ विकेट गुमाएको जनकपुरलाई हर्मीत र आदित्यले सम्हाल्ने प्रयास गरेका थिए । उनीहरूबीच आठौँ विकेटका लागि ४३ रनको साझेदारी भएको थियो । तर १८औँ ओभरको चौथो बलमा हर्मीत आउट भएपछि जनकपुरको जितको सम्भावना कमजोर बनेको थियो ।
त्यस्तै, सेफ हसनले २८ र तृतराज दासले १८ रन बनाए । परभेज हुसेन इमोन १, विशाल सुशीलङ ४, अनिल शाह १, जिमी निशम ९ र अभिषेक तिवारी शून्य रनमा आउट भए ।
लुम्बिनीका लागि डार्शी सर्टले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे ।
आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाउँदा शामिन हुसेनले १३ रनको योगदान दिए । ओपनर डार्शी सर्ट भने पहिलो बलमै आउट भएका थिए । रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रन बनाए भने सन्दीप जोराले ९ रन जोडे ।
जनकपुरका लागि विशाल सुशीलङ र राहुल यादवले समान २ विकेट लिए । अभिषेक तिवारी, कप्तान हर्मीत सिंह र ललित राजवंशीले १–१ विकेट लिए ।
यस जितसँगै लुम्बिनीले चार खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ । टोलीले खेलेका तीन खेलमा जित हात पारेको छ भने चितवन राइनोजविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो ।
यता, पाँच खेल खेलेको जनकपुरको यो तेस्रो हार हो । प्लेअफको सम्भावना कायम राख्न जनकपुरले अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब बनेको छ ।