पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय रोनाल्डोले आफ्नो देशका लागि २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्रालाई पूर्णविराम लगाउने बताएका हुन् ।
रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बर जर्सी अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् ।
‘पोर्चुगलका जनताका लागि राष्ट्रिय टोलीको सात नम्बर जर्सी हस्तान्तरण गर्ने दिन आएको छ । यो जर्सी कहिल्यै मेरो मात्र थिएन । तर २३ वर्षसम्म यसलाई लगाउने, देशको प्रतिनिधित्व गर्ने र विश्वभरका रंगशालामा यसको सम्मान गर्ने अवसर पाएँ,’ उनले भनेका छन् ।
उनले यो निर्णय सहज नभएको उल्लेख गर्दै आफ्नो यात्रा सन् २००३ को अगस्टमा सुरु भएको र त्यसले आफ्नो जीवन नै परिवर्तन गरेको बताएका छन् ।
सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान उनको नाममा छन् ।
यसैबीच, पोर्चुगल फुटबल महासंघले रोनाल्डोको योगदानको उचित सम्मानसहित बिदाइ गर्ने इच्छा व्यक्त गरेको छ । महासंघले उनको लामो फुटबल यात्रालाई देश र समर्थकले उत्सवका रूपमा मनाउन पाउनुपर्ने जनाएको छ ।
रोनाल्डोका महान् प्रतिस्पर्धी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पनि यसअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् ।