कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज देशभर मनाइँदैछ। यस अवसरमा सुन, चाँदी, तामा, पित्तललगायत धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर घरमा भित्र्याउने परम्परा छ।
धनतेरसका दिन नयाँ भाँडाकुँडा तथा सुनचाँदीका सामग्री किन्दा घरमा सुख, समृद्धि र धनधान्य बढ्ने धार्मिक विश्वास छ। यही विश्वासका कारण आज बिहानैदेखि भाँडा पसल तथा सुनचाँदीका पसलमा ग्राहकको भीड लाग्ने गरेको छ। व्यापारीहरूले पनि एक साताअघिदेखि नै विभिन्न धातुका भाँडाकुँडा आकर्षक रूपमा सजाएर राखेका छन्।
धनतेरसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशीका नामले समेत चिनिन्छ। यस दिन किनेर ल्याइएका भाँडाकुँडामा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पूजा गर्ने परम्परा छ। यसरी पूजा आराधना गरेमा माता लक्ष्मी घरमा स्थिर भएर बस्ने वैदिक सनातन हिन्दू धार्मिक मान्यता छ।
यमपञ्चकको पहिलो दिनसमेत रहेको धनतेरसमा आज साँझदेखि यमराजलाई प्रसन्न पार्न यमदीप दान गर्ने परम्परा छ। परिवारका सदस्यको सङ्ख्याअनुसार दीपदान गर्दा यमयातनाबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिएका छन्।
धनतेरसलाई धनका अधिपति कुबेरको जन्मदिनका रूपमा पनि लिने गरिन्छ। यही धार्मिक तथा पौराणिक मान्यताका आधारमा आज कुबेरको विशेष पूजाआराधना गर्ने चलन छ। यद्यपि, कतिपयले कुबेरको पूजा लक्ष्मीपूजाकै दिन गर्ने गर्छन्।
दीपावली, तिहार तथा यमपञ्चकका नामले परिचित यो पर्व नेपालीको दसैँपछिको दोस्रो ठूलो चाड हो। आजदेखि कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक स्थानमा दीप प्रज्वलन गरी झिलिमिली बनाउने परम्परा छ।
यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने शनिबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस्तै, धनवन्तरी जयन्ती पनि शनिबार नै मनाइने समितिले स्पष्ट पारेको छ।