राजनीतिमा शालीन व्यक्तिको छवि बनाएका नेता अजय कुमार द्विवेदी पर्साका चर्चित नेता मध्येका एक हुन् । २०३६ सालदेखि नै राजनीतिमा जोडिएर व्यवस्था परिवर्तनको नेपालको राजनीतिमा साढेचार दशक लामो समय व्यतित गरेका उनी नेपाली कांग्रेस पार्टीका ओजनदार नेता थिए । कांग्रेसको जिल्ला नेतृत्व हाँकेका समयमा उनैको पालामा नेपाली काँग्रेस पार्टी पर्साको भवन निर्माण समेत भएको छ । जीवनको उर्जाशिल समय राजनीतिमा विताएका नेता द्विवेदी आगामी निर्वाचनमा भने कुनै पार्टीमा आबद्ध नभई पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्वार बनेका छन् । समसामयिक राजनीतिकाबारे राम्रो दख्खल राख्ने र प्रष्ट वक्ताका रुपमा पनि उनी चिनिन्छन् । स्वतन्त्रबाट यो पटकको निर्वाचनमा अगाडी बढ्ने जमर्को, आगामी निर्वाचनका एजेण्डा र वर्तमान राजनीतिका बारे उनै शालीन नेता अजय कुमार द्विवेदीसँग गरिएको बिशेष कुराकानी ः

१. निष्ठाको राजनीतिमा अब्बल नेता मध्ये तपाई एक्कासी स्वतन्त्र भएर अगाडी बढ्नुको कारण के हो ?
विद्यार्थी कालमा राजनीति सुरु गर्दादेखि केही दिन अगाडीसम्म पनि म नेपाली काँग्रेस पार्टीमा नै थिए । अहिले चुनावमा आएर स्वतन्त्र उमेद्वार बन्न पार्टीले बनाएको बाध्यता हो । गठबन्धनको राजनीतिले लोकतन्त्रलाई बन्धक बनायो । आम जनताको हित र लोकतन्त्रका लागि हामी सधैं लड्यौ । तर केही सिमीत व्यक्तिहरुले स्वार्थ र पावरको बलमा बालुवाटारमा बसेर दलको सिद्धान्त विपरित पार्टी परिचालन गर्दा लोकतन्त्रको रक्षाका लागि स्वतन्त्रबाटै पनि संघर्ष गर्न बाध्य भएँ । त्यसैले आम जनताको चाहना र प्रजातन्त्र तथा लोकतन्त्रका लागि मैले आगामी निर्वाचनमा स्वतन्त्र भएर चुनाव लड्ने निष्कर्षमा पुगें ।
२. पार्टीको निष्ठावान कार्यकर्ता, त्यहीं बसेर संघर्ष गर्न किन सक्नु भएन ?
पार्टीभित्र नै बसेर सैद्धान्तिक राजनीतिक गर्न नसक्ने अवस्थाले स्वतन्त्र तर्फ धकेल्यो । पद र पावरको दूरुपयोगले नीति र सिद्धान्तका कुरा गौण हुन पुगे । व्यक्तिगत स्वार्थले पार्टी हडप्यो । त्यसैले स्वतन्त्र बसेर नै दलहरुको खबरदारी गर्नु उचित ठानें । यस्ता विद्रोहले विध्वंस मात्र गर्दैन, सृजना पनि गर्छ । स्वतन्त्रबाट केही उमेद्वार संसदमा पुगे राष्ट्रिय राजनीति र दलहरुमा पनि सकारात्मक दवाव दिन सकिन्छ । स्वतन्त्र पदमा रहेर जित्न सके दलहरुलाई जनताको आवाज सुन्न, जनताको प्रतिनीधि बन्न, सिद्धान्तको राजनीति गर्न बाध्य पार्न सकिन्छ । त्यसैले मेरो बाटो स्वतन्त्र तर्फ मोडियो ।
३.त्यसो भए तपाईका नीतिगत एजेण्डा अरु के छन् त ?
एउटा सांसदको दायरा बाहिरका कुरा गरी अरुको जस्तो यो गर्छु त्यो गर्छु भनी झुटका पुलिन्दा बाँड्दिन । स्वभाविक रुपमा बजेट आउने विकास निर्माणका काम हुने कुरामा रहन्छु नै । पहिले हामीले संविधान निर्माणका क्रममा बनाएका नीतिका आधारबाट ती सुविधा त पाइन्छ नै । त्योभन्दा पनि थप नीतिगत सुधार गर्ने पहल गर्छु । जुन आगामी दिनमा जो सांसद भए पनि जनतालाई निरन्तर फाइदा पुगोस् । यस्ता नीतिको लागि लड्ने र जनतालाई दीर्घकालिन रुपमा फाइदा पुग्ने कुरामा लागि पर्छु । संसदको काम देशको राजनीतिमा आम जनताका अधिकारको वकालत गर्ने हो । देशको नीति नियम, बजेटमा रुपान्तरण गर्ने हो । नीति नियम, बजेट अनुसार जनता सामु बजेट पुगे नपुगेको निगरानी गर्ने हो । स्थानीय तह, प्रदेश र केन्द्रको समन्वयमा चुस्तता कायम गर्ने हो । शिक्षा, स्वास्थ्य, रोजगारका लागि नीतिगत सुधार गरी देशभित्र स्तरीय शिक्षा, स्वास्थ्य र रोजगार प्रवद्र्धनमा जोड गर्छु । अहिले बनेका नीति नियम चुस्त कार्यन्वयन भएका छैनन् । आम जनताले महशुस गर्ने गरी त्यो कुरामा पहल गरी आफ्नो क्षेत्रमा भएका पूर्वाधारहरुको संरक्षण, व्यवस्थापन र कार्यान्वयनमा खरो उत्रिन्छु ।
४. सत्ता गठबन्धन र ईत्तर दुई गठबन्धनका बीच जित्ने आधार अरु के छन् ?
अहिलेको राजनीतिले जनतालाई लोभ्याउने र ठग्ने काम मात्र गरेको छ । यो कुरा जनताले आत्मादेखि नै महशुस गरेको छन् । त्यसैले यो चुनावमा त्यस्ता विरुद्ध म मात्र नभई आम जनता नै लडेको महसुस गरिरहेको छु । अहिले शिक्षित युवा, महिला र निवृत कर्मचारी दाजुभाईहरु समेत कटिबद्ध भएर मेरो पक्षमा लागि पर्नु नै मेरो जित्ने आधार हो ।
५. नेपाली काँगे्रसमा लामो समय बिताउनु भयो, निर्वाचनपछि फेरि पार्टी पंतिमा नै फर्केको जनताले देख्ने हुन् कि ?
जीवनको यत्तिका समय नेपाली काँग्रेस पार्टीमा नै राजनीति गरेर बिताए । परिस्थितिले मलाइ स्वतन्त्र उमेद्वार बनाएको छ । लोकतन्त्र र प्रजातन्त्र प्रति आस्थावान विचारधारामा समर्पित व्यक्ति हो म । पछि कुनै पार्टीमा जाने विचार छैन । स्वतन्त्र भएर राजनीति गर्न र जनताका काम गरेर नयाँ अनुभव बटुल्न चाहन्छु ।
५. अन्त्यमा आम जनतालाई के भन्न चाहनुहुन्छ ?
पर्सेली जनताहरुको विश्वास, हिम्मत र मत नै मेरो जित्ने आधार हो । माछा छापबाट स्वतन्त्र उमेद्वार बन्दा क्षेत्र नं. १ का जनताको अपार माया र साथ पाइरहेको छु । निरन्तर यो साथले मलाई थप हौसला बढेको छ । त्यसको अलावा पर्साका ४ वटै निर्वाचन क्षेत्रका राजनीति बुझेका महानुभावहरु मेरो जितका लागि आफ्नो ठाउँबाट लागिरहनु भएको छ । सबैको माया र आँट मेरो जीतका लागि प्रार्थनीय रहने छ । यो घडीमा म उहाँहरुलाई सम्बोधन गर्ने गहकिलो शब्दै भेटिरहेको छैन । पर्साका आम मतदाता, शुभचिन्तक सबैमा थप सहयोगको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्दछु ।