भन्सारबाट आयात–निर्यात हुने वस्तुको पहिचान स्पष्ट बनाउन अब प्रज्ञापनपत्रमा ब्रान्ड, मोडेल र साइज अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ । भन्सार विभागले वस्तुको विवरण स्पष्ट र एकरूप रूपमा घोषणा गर्ने व्यवस्था गर्दै किटानी विवरण घोषणासम्बन्धी मार्गदर्शन, २०८३ जारी गरेको हो ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार वस्तुको विवरण अस्पष्ट वा अपूर्ण घोषणा गर्ने प्रवृत्ति नियन्त्रण गर्न नयाँ मार्गदर्शन ल्याइएको हो । मार्गदर्शनमा तोकिएअनुसार विवरण घोषणा नगरेमा भन्सार कानूनबमोजिम जरिवाना तथा अन्य कारबाही हुने उनले बताए ।
नयाँ व्यवस्थाले वस्तुको सही पहिचान, भन्सार मूल्यांकनमा एकरूपता र तथ्यांकको शुद्धता कायम गर्न सहयोग पुग्ने भुसालको भनाइ छ । उनले मार्गदर्शनको कार्यान्वयन कडाइका साथ गरिने बताउँदै यसले भन्सार जाँचपास प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने उल्लेख गरे ।
भन्सार ऐन, २०८२ को प्रावधानअनुसार जारी गरिएको मार्गदर्शनले वस्तुको पहिचान खुल्ने विवरण घोषणा गर्ने प्रक्रिया स्पष्ट पारेको छ । यसबाट भन्सार मूल्यांकनमा एकरूपता कायम गर्नुका साथै आयात–निर्यातसम्बन्धी तथ्यांकलाई थप विश्वसनीय र व्यवस्थित बनाउने विभागको उद्देश्य छ ।
मार्गदर्शनअनुसार आयातित वस्तुको ब्रान्ड आधिकारिक कागजात वा प्याकिङमा उल्लेख भएअनुसार घोषणा गर्नुपर्नेछ । वस्तु वा प्याकिङमा ब्रान्ड उल्लेख नभएको अवस्थामा उत्पादकबाट सीधै आयात गरिएको वस्तुमा उत्पादकको नाम र व्यापारिक कम्पनीमार्फत आयात गरिएको वस्तुमा लेबलमा उल्लेख भएको विवरणलाई ब्रान्डका रूपमा जनाउनुपर्ने व्यवस्था गरिएको छ । वस्तुको पहिचान खुल्ने कुनै विवरण नभएको अवस्थामा मात्रै ‘एनए’ उल्लेख गर्न पाइनेछ ।
त्यसैगरी, एउटै ब्रान्डका वस्तुको फरक संस्करण, डिजाइन वा प्राविधिक विशेषता जनाउने विवरणलाई मोडेलका रूपमा घोषणा गर्नुपर्नेछ । यसका लागि आधिकारिक कागजात, प्याकिङ वा वस्तुमा उल्लेख भएको मोडेल तथा पार्ट नम्बरलाई आधार मान्नुपर्नेछ ।
कृषिजन्य प्राथमिक उत्पादनको हकमा जात, कपडाको हकमा प्रकार तथा कोइला र रासायनिक पदार्थको हकमा ग्रेडलाई मोडेलका रूपमा घोषणा गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
वस्तुको साइज घोषणा गर्दा त्यसको भौतिक आयाम, मोटाइ, आकार वा क्षमता स्पष्ट रूपमा खुलाउनुपर्नेछ । जुत्ता, चप्पल र तयारी कपडाको हकमा बच्चा तथा वयस्कको वर्गीकरणअनुसार साइज उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, वस्तुको तौल, लम्बाइ, क्षेत्रफल र शक्तिसम्बन्धी विवरण तोकिएको मापदण्डअनुसार सम्बन्धित एकाइमा उल्लेख गर्नुपर्नेछ ।