‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा वर्षा हुने र नदी तथा खोलाको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वसूचना जारी गर्दै मधेसका नदी तटीय, चुरे तथा तराईका डुबान सम्भावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार विशेषगरी बागमती, कमला, कोशी, नारायणी र कन्काई नदी जलाधार तथा तिनका सहायक नदी आसपासका क्षेत्रमा उल्लेखनीय वर्षा हुन सक्नेछ। यसबाट मधेस प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै तटीय र होचा भूभागमा डुबानको जोखिमसमेत बढ्न सक्ने अनुमान गरिएको छ।
बिहीबारदेखि नै प्रमुख नदी जलाधारमा जलसतह सामान्य बढ्न सुरु हुने र शुक्रबार मध्यमदेखि भारी वर्षाका कारण जलसतह उल्लेखनीय रूपमा बढ्न सक्ने पूर्वानुमान छ। विशेषगरी बागमती, कमला र कोशी नदी जलाधार आसपासका क्षेत्रमा वर्षाको प्रभाव पर्न सक्ने भएकाले मधेस प्रदेशका सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण शनिबार प्रमुख नदीहरूमा जलसतह उच्च बिन्दुमा पुग्न सक्ने महाशाखाको आकलन छ। यद्यपि हालको पूर्वानुमानअनुसार प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुग्ने सम्भावना न्यून रहेको जनाइएको छ। वर्षाको वास्तविक मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने भएकाले पूर्वसूचनालाई गम्भीरतापूर्वक लिनुपर्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेशका चुरे तथा पहाडी क्षेत्रबाट बग्ने साना नदी र खोलामा आकस्मिक बहाव आउन सक्ने जोखिमसमेत औँल्याइएको छ। कात्तिक १२, १३ र १४ गते पहाडी तथा चुरे क्षेत्रका साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने अनुमान गरिएको छ। यसले नदी किनारका बस्ती, खेतीयोग्य जमिन तथा तल्लो तटीय क्षेत्रमा जोखिम बढाउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, कात्तिक १५ गते आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र जोखिम क्रमशः घट्दै जाने पूर्वानुमान गरिएको छ।
सम्भावित वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोला किनारमा नजान, पानीको बहाव बढेका स्थान पार नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन आवश्यक छ। विशेषगरी मधेस प्रदेशका नदी तटीय र डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई मौसम तथा बाढीसम्बन्धी पूर्वसूचनाप्रति सचेत रहन आग्रह गरिएको छ।