नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्। पहिलो खेलमा पराजित जनकपुर जितको खोजीमा मैदान उत्रिँदा काठमान्डु भने प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
जनकपुरले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएको थियो। ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको टोलीका लागि आजको खेलमा सुधारिएको प्रदर्शन गर्नु चुनौती हुनेछ।
कप्तान हर्मीत सिंहले पहिलो खेलपछि ब्याटिङमा कमजोरी रहेको स्वीकार गरेका थिए। मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता अनुभवी विदेशी खेलाडी रहे पनि जनकपुरले ठूलो साझेदारी बनाउन सकेको थिएन। त्यसैले काठमान्डुविरुद्ध टोलीको ब्याटिङ सुधार हुन्छ कि हुँदैन भन्ने चासोको विषय हुनेछ।
यता, काठमान्डु गोर्खाजले यस सिजनको पहिलो खेल खेल्दैछ। अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरसहित विदेशी खेलाडी अनुबन्ध गरेको काठमान्डुले वार्नरको अनुपस्थितिमा उपलब्ध खेलाडीबाट बलियो संयोजन बनाउनुपर्नेछ। स्मित पटेल, केएस भरत र करण केसीजस्ता खेलाडीको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण हुन सक्छ।
दुवै टोलीबीचको पछिल्लो प्रतिस्पर्धा भने बराबरीको छ। एनपीएलका अघिल्ला दुई संस्करणमा भएका दुई खेलमध्ये सन् २०२४ मा जनकपुर पाँच विकेटले विजयी भएको थियो भने सन् २०२५ मा काठमान्डुले पनि पाँच विकेटकै जित निकालेको थियो। यसपटकको भिडन्तमा दुवै टोलीसँग एकअर्काविरुद्ध अग्रता लिने अवसर हुनेछ।
जनकपुरले नयाँ अनुबन्ध गरेका परवेज हसन इमोन र सेफ हसनलाई खेलाउने वा नखेलाउने भन्ने विषयले पनि टोलीको संयोजनमा प्रभाव पार्न सक्छ। पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको जनकपुरका लागि शीर्षक्रमको ब्याटिङ सुधार गर्नु र बलिङमा विपक्षीलाई दबाबमा राख्नु महत्त्वपूर्ण हुनेछ।
काठमान्डुका लागि भने पहिलो खेलमै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हुनेछ। राष्ट्रिय टोलीका अनुभवी खेलाडी र युवा प्रतिभाको मिश्रण रहेको टोलीले जनकपुरको कमजोर ब्याटिङको फाइदा उठाउन खोज्नेछ। तर, जनकपुरले पहिलो हारबाट पाठ सिक्दै पुनरागमन गर्न सके प्रतिस्पर्धा रोमाञ्चक बन्न सक्छ।
यसैबीच, मौसम बदली भई वर्षाको सम्भावना रहेकाले खेलमा मौसमको प्रभाव पनि पर्न सक्छ। वर्षाले खेल प्रभावित भए दुवै टोलीको रणनीतिमा असर पर्नेछ।
खेल त्रिवि क्रिकेट मैदानमा बिहीबार दिउँसो १२:३० बजे सुरु हुनेछ। जनकपुरका लागि यो पहिलो हार बिर्सेर लयमा फर्कने अवसर हो भने काठमान्डुका लागि जितसहित प्रतियोगितामा खाता खोल्ने चुनौती।