मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले अन्य राजनीतिक दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको जानकारी दिएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत लिने समयसम्म राजनीतिक परिस्थिति आफ्नो पक्षमा आउन सक्ने आशा व्यक्त गरे। विश्वासको मत प्राप्त भए पनि वा नभए पनि दुवै परिणाम स्वीकार गर्ने उनको भनाइ छ।
‘संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनैपर्छ। त्यो बेलासम्म केही त होला। राम्रो परिणाम आउला, नभए नराम्रो आउला। जबसम्म सास छ, तबसम्म आश गर्नुपर्यो नि,’ मुख्यमन्त्री यादवले भने।
एमालेले सरकारबाट बाहिरिनुको कारण १५ बुँदे सहमति कार्यान्वयन नभएको विषयलाई आधार बनाएको मुख्यमन्त्री यादवले बताए। तर, उक्त सहमतिका केही बुँदा कार्यान्वयन भइसकेको र बाँकी कार्यान्वयनको प्रक्रियामा रहेको उनको दाबी छ।
‘उहाँहरू मसँग असहमति भएरभन्दा पनि १५ बुँदे सहमति कार्यान्वयन भएन भनेर बाहिरिनुभयो। तर, त्यसमध्ये कतिपय सहमति कार्यान्वयन भएका छन्, केही कार्यान्वयन हुने क्रममा थिए। सबै कुरा भइसकेको पनि थिएन। किन एक्कासि छाड्नुभयो, मलाई पनि थाहा भएन,’ उनले भने।
प्रदेशमा नयाँ गठबन्धन बन्ने चर्चाबारे उनले त्यसलाई स्वाभाविक राजनीतिक प्रक्रिया भएको टिप्पणी गरे। राजनीतिक दलका मुद्दा, उद्देश्य र स्वार्थ मिल्दा गठबन्धन बन्ने र फेरिन सक्ने उनको भनाइ छ।
‘सबैलाई सरकारमै जानुछ। सरकारमा जाने हो भने त्यहाँ आ–आफ्ना सर्त र सहमति हुन्छन्। कुन बेला कसको मिसन, आशय र मुद्दा मिल्छ, त्यसैअनुसार गठबन्धन गर्ने हो। गठबन्धन बन्छ, फेरिन्छ। मैले यसलाई सामान्य रूपमा लिएको छु,’ उनले भने।
सरकारको भविष्यबारे नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समेत चासो राखिरहेको र आफू पार्टी केन्द्रसँग नियमित सम्पर्कमा रहेको उनले बताए। विश्वासको मत प्राप्त हुनेमा आशावादी रहेको उल्लेख गर्दै उनले अन्तिम समयसम्म प्रयास जारी राख्ने दोहोर्याए।
गत असोज ३० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका चार मन्त्रीले समेत राजीनामा दिएका थिए। यद्यपि, नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारको पक्षमा बहुमत कायम गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेसका २२ र नेपाली कम्युनिस्ट पार्टीका १५ गरी हाल मुख्यमन्त्री यादवको पक्षमा ३७ सांसदको समर्थन रहेको छ। बहुमतका लागि थप १७ सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ।
यसैबीच नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि छलफल अघि बढिरहेको छ। तर, नयाँ गठबन्धनबारे औपचारिक सहमति भइसकेको छैन। यस्तो अवस्थामा मुख्यमन्त्री यादवले विश्वासको मत जुटाउन गर्ने प्रयास र अन्य दलबीचको छलफलले मधेश प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्नेछ।