साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ। यो परिसूचक साउन ३० गतेयताकै उच्च बिन्दु हो।
बुधबार बजारमा २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
सेयर बजारमा सुधारसँगै कारोबार रकमसमेत बढेको छ। अघिल्लो दिन मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम भदौ ३० गतेयताकै उच्च हो।
बुधबार जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। समूहगत परिसूचकतर्फ जलविद्युत् समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ। व्यापार समूहबाहेक सबै समूहगत परिसूचक सकारात्मक रहेका छन्।
बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, वित्त १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत, लगानी १.५२ प्रतिशत र जीवन बीमा समूह १.५९ प्रतिशतले बढेका छन्। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन्। व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ।
बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको १०.६० प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत र सान्जेन जलविद्युत् कम्पनीको ५.८१ प्रतिशतले मूल्य बढेको छ।
यसैगरी, स्वस्तिक लघुवित्तको सेयर मूल्य ५.६७ प्रतिशत र होटल फरेस्ट इनको ५.४१ प्रतिशतले बढेको छ। मूल्य घट्ने कम्पनीतर्फ सिर्जनशील लघुवित्तको २.३० प्रतिशत, चिरख्वा हाइड्रोपावरको २.१२ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको १.९१ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा बुधबार लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर कम्पनी, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक अगाडि रहेका छन्।