प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि प्रतियोगिता सुरु हुँदैछ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेनले प्रतियोगिताको उद्घाटन गर्नेछन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको सफलताका लागि शुभकामना दिएका छन्।
प्रधानमन्त्री बालेनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफलताको शुभकामना दिएका छन्। उनले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भनेका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।
तेस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्।
प्रतियोगिताका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।