नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितालाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन सुरु गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार, शनिबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले क्रिकेट मैदान पुगेर सुरक्षा व्यवस्थाको अवलोकन गरेको थियो ।
प्रहरीले प्रतियोगिताको सुरक्षालाई विभिन्न क्षेत्रमा विभाजन गरी योजना बनाएको छ । खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठवटा होटलको सुरक्षा, होटलदेखि मैदानसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन, खेल सञ्चालनका बेला मैदान तथा दर्शकको सुरक्षा योजनामा समेटिएका छन् ।
प्रतियोगिताको उद्घाटन र समापन समारोहमा विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरूको आवतजावत हुने भएकाले उनीहरूको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइने एसएसपी घिमिरेले बताएका छन् ।
सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी
प्रतियोगिताको सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन प्रहरीले सीसीटीभी क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत परिचालन गर्ने जनाएको छ । मैदान वरपर सीसीटीभी क्यामेरा जडान गरिएको छ भने त्यहाँको निगरानी मैदानमै खटिएका प्रहरीले गर्नेछन् ।
अन्य स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराबाट प्राप्त दृश्यको निगरानी प्रहरीको सीसीटीभी नियन्त्रण कक्षबाट गरिनेछ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सादा पोशाकका प्रहरीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अतिरिक्त बाह्य सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बलसमेत खटिनेछ ।
प्रतियोगिताका खेलहरू व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न खेलाडी, दर्शक, विशिष्ट पाहुना तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।