नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि घटेको छ। बिहीबार नेप्से ८.५० अंकले घटेर २६५१.०७ बिन्दुमा कायम भएको छ, जुन फागुन १३ यताकै न्यून स्तर हो।
पछिल्लो एक महिनाको अवधिमा नेप्सेमा १३५ अंकको गिरावट आएको छ। जेठ ११ गते २७८६ अंकमा रहेको परिसूचक निरन्तर ओरालो लाग्दै हाल २६५१ अंकमा झरेको हो।
बिहीबार कारोबारका क्रममा साढे १२ बजेतिर बजारमा केही सुधारको संकेत देखिए पनि पौने २ बजेपछि पुनः बिक्री दबाब बढ्दा बजार घटेर बन्द भएको हो।
कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार यो रकम घटेर २ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यो कारोबार रकम जेठ ४ यताकै न्यून रहेको छ।
आज ८३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूह बाहेक सबै उपसमूहका सूचक राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ।
त्यसैगरी बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.४७ प्रतिशतले घटेका छन्।
हालै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको मूल्य १५ प्रतिशतले बढेर ५२४ रुपैयाँ ६० पैसामा पुगेको छ।
कालिका लघुवित्तको सेयर मूल्य १२.८४ प्रतिशत, सप्तकोशी विकास बैंकको ८.२० प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्सको ३.२३ प्रतिशतले बढेको छ। यता भुजुङ हाइड्रोपावरको मूल्य ११.०३ प्रतिशत, सीवाईसी लघुवित्तको ८.९७ प्रतिशत, भगवती हाइड्रोपावरको ५.८४ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको ५.५७ प्रतिशतले घटेको छ।
बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरूमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी तथा नेपाल एसबीआई बैंक रहेका छन्।