बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ। सूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
बुधबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार यो बढेर १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यस दिन ३३५ वटा धितोपत्रको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भएको हो।
कारोबार भएका कम्पनीहरूमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ। नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन साल्पा विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४८ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ८९३ रुपैयाँ ३० पैसा पुगेको छ।
मूल्य घट्ने कम्पनीतर्फ कुमारी सबल योजना अगाडि रहेको छ। उक्त योजनाको मूल्य ३.७२ प्रतिशतले घटेर प्रति इकाइ ९ रुपैयाँ ५८ पैसामा झरेको छ। त्यसैगरी एनआइबिएल ग्रोथ फण्डको मूल्य ३.५४ प्रतिशतले घटेर प्रति इकाइ ९ रुपैयाँ ५५ पैसामा सीमित भएको छ।
बिहीबार सबैभन्दा बढी कारोबार नेसनल हाइड्रोपावर कम्पनीको भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २९० रुपैयाँ १० पैसामा ६७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९७ प्रतिशतले बढेको हो।
सर्वाधिक कारोबार हुने दोस्रो सूचीमा एचआइडिसिएलको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २२० रुपैयाँमा ५६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ वटा समूहहरूमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। तीमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ।