हरेक वर्षझैं यो वर्ष पनि दशैं पर्व हरेकको घरआँगनमा भित्रिइसकेको छ । तर, दशैं आउन केही दिनमात्र बाँकी रहँदा भएको जेनजी आन्दोलन र विकसित घटनाक्रमले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा एकखालको अन्योल सृजना भएको छ । दैनिक उपभोग्य र अत्यावश्यकीय बस्तुको कुल खरिदमा ५० प्रतिशत कारोबार दशैं तिहार र छठजस्ता पर्वको समयमा हुने अनुमान गरिन्छ । यसको अर्थ, ८० प्रतिशतभन्दा बढीले मनाउने दशैं आर्थिक गतिबिधिका दृष्टिले पनि महत्वपूर्ण पर्व हो । तर, अर्थराजनीतिक क्षेत्रमा देखा परेको अन्योल र अनिश्चितताले यो अपेक्षा संकुचित भएको छ । यसै सन्दर्भमा वीरगञ्जका उद्यमी व्यापारीलगायतसँग गरिएको कुराकानीको सारसंक्षेप:
नितेश गुप्ता, सञ्चालक
प्रिन्स कलेक्सन
बजारमा चहलपहल छैन
देशको आर्थिक अवस्था नै अस्थिर भइसकेको छ । अब यो देश कुन स्थितिमा जाने हो । मानिस विदेश पलायन भइरहेको छ । जेनजीको आन्दोलन भयो । आन्दोलन कुन मोडमा जाने हो अहिलेसम्म यसको टुङ्गो लागेको छैन । नेपालभरि ठूला साना व्यवसायी वा उद्योगपति सबैको स्थिति खराब छ । सरकार नै स्थिर छैन । देशमा कहिले के हुन्छ कसैलाई थाहा छैन । यसपालिको दशैं पहिलाजस्तो भएन जेन जी आन्दोलन दशैंको मुखमै भयो । यो आन्दोलनले पनि दशैंमा धेरै असर पारेको छ जसले गर्दा व्यापार एकदम खस्किएको छ । बजारमा मानिसको चहलपहल नै छैन । आर्थिक अवस्था सबैको कमजोर छ । मानिसको आम्दानी छैन । दशैं भनेको हिन्दूको लागि सबभन्दा ठूलो पर्व हो । यसलाई जसरी पनि मनाउनु पर्छ । पहिला १० हजार रुपैयाँ खर्च गर्ने मानिसले १ हजार रुपैयाँ नै खर्च गरेर पनि मनाउनु पर्छ ।
सुशील अग्रवाल, व्यवसायी
वीरगञ्जसीमापारिको व्यापार चलेको छ
दशैं पर्वको नवरात्रि शुरू भए पनि बजारमा ग्राहकहरू छैनन् । बजार सुनसान छ । २५ वर्षदेखि व्यवसाय गरेको भए पनि कहिले पनि यस्तो अवस्था भएन । ५÷६ वर्षदेखि व्यापारको अवस्था दिन प्रतिदिन घट्दै गइरहेको छ । यो वर्ष मानिसहरू पूजापाठमात्र गर्छन् । पहिलाजस्तो बजारको सामानहरू किन्दैनन् । पहिला दशैं आउनुभन्दा १०÷१५ दिन पहिलादेखि नै बजारमा चहलपहल सुरु हुन्थ्यो । अहिलेको दशैंमा सीमापारि भारत रक्सौलको बजार राम्रो चलेको छ । रक्सौलको बजारले यताको बजारमा धेरै नै असर पारेको छ । उताको बजार राम्रो चल्नुको कारण मानिसहरूले उताको बजारमा सामानहरू सस्तो पाउँछ भन्ने सोचेका हुन्छन् । सस्तो सामानका लागि मानिसहरू गएका हुन्छन् । भारतको बजारभन्दा वीरगञ्जको बजार अलि महँगो पनि छ । सबै सामानको भन्सार तिरेर ल्याउनु पर्छ । गाडी भाडा, भन्सार सबै कुरा गर्दा गर्दै फाइदा एकदम थोरै बच्छ । यस्तै अवस्था रह्यो भने व्यापार गर्न गाह्रो हुन्छ । जेनजी आन्दोलनले व्यापारमा असर पारेको छ । तर, पहिलादेखि नै व्यापारको स्थिति कमजोर थियो । पसलहरूमा ग्राहकहरू छैनन् । मानिसहरू आए पनि सामान महँगो भनेर किनिरहेका छैनन् । मानिसहरूको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ ।
घनश्याम शर्मा, सञ्चालक
श्री नाथ टेडर्स, वीरगञ्ज
बजार सुधार्न योजना बनाउनु पर्दछ
दशैंमा व्यापार व्यवसायको अवस्था खासैमा उकासिँदो स्थितिमा छैन । अहिलेको लागि व्यापारलाई टिकाउनको लागि दिगो बिक्री हुनुपर्ने हो । १२ वर्षदेखि एउटै ठाउँमा आफ्नो पसल सञ्चालन गरिरहेको छु । चाडपर्वलाई लक्षित गरेर यदि तुलना गर्ने हो भने धेरै कुरा परिवर्तन भएको छ । कोभिडपछाडि बिस्तारैबिस्तारै व्यापार ओरालो लाग्दो स्थितिमा छ । सरकारको करसम्बन्धी प्रणालीहरूले गर्दा फरक परेको छ । बिस्तारै सामान महँगो हुदै गयो । आम नेपालीको आय स्रोतमाथि उठ्न सकेको छैन । आम मानिसको खर्च गर्ने क्षमता छ । त्यो बिस्तारै घट्दै गएको छ । अत्यन्तै आवश्यक सामान किन्नैपर्ने बाध्यता छ । विलासिताका सामानहरू किन्नै पर्ने बाध्यता छैन । त्यसले गर्दा ग्राहक कम भएको हो । वीरगञ्ज खुल्ला सिमाना भएको कारणले पनि धेरै फरक परेको छ । वीरगञ्जमा पहिला रक्सौलबाट सामान किन्न आउँथे । कर प्रणालीले गर्दा सामान उता जान सकेन । सामानको मूल्य महँगो छ । यहाँको सबै मानिस सीमापारिको बजार सामान किन्न गएका छन । रक्सौलको बजार राम्रो बन्दै गइरहेको छ । ठूलोठूलो मलहरू मानिसहरूलाई आकर्षण गर्ने छूटहरू दिएका छन् । वीरगञ्जका मानिसहरूले रक्सौलमा गएर पसल गरेका छन् । सरकारले बजारको स्थिति सुधार गर्नको लागि योजना बनाउनु पर्छ ।
सञ्जय अग्रवाल, सञ्चालक
अल टाईम टुर एण्ड ट्राभल्स, वीरगञ्ज
पर्यटकहरू आउन डराएका छन्
ट्राभल्स एजेन्सीहरूको अवस्था पर्यटनको आधारमा निर्भर हुन्छ । देशको स्थिति राम्रो हुदाँ पर्यटकहरू प्रशस्त नेपाल आउँछन् । ट्राभल्स एजेन्सीहरूको अवस्था पनि सबल हुन्छ । पहिला पर्यटनको आगमन उल्लेख्य हुन्थ्यो । अहिले देशमा आन्दोलन भएको कारणले पर्यटकहरू आउन डराएका छन् । आन्तरिक पर्यटकहरू पनि आवश्यक कामबाहेक घुमफिरका लागि हिँडेका छैनन् । सरकारले ट्राभल्स एजेन्सीहरूलाई स्थायित्व दिन कुनै किसिमको सहयोग गरेको छैन । हाम्रो तर्फबाट व्यवसायलाई स्थायित्व दिन सक्दो प्रयास गरेका छौं । पर्यटन क्षेत्रबाट देशलाई राम्रो आम्दानी हुन्छ । देशमा शान्ति भइरहे पर्यटन क्षेत्र राम्रो फष्टाउन सक्छ । सरकारलाई तिर्नुपर्ने कर समयमा नै तिरेका छौं । देशमा शान्ति भइरहेमा देशलाई पर्यटनबाट धेरै ठूलो फाईदा हुन्छ । अरू देशहरूले पर्यटनबाट कसरी फाईदा लिने विषयमा सोचिरहेका छन् । पर्यटनबाट फाईदा दिन नेपाल सरकारले पनि अब सोच्नुपर्ने अवस्था आएको छ ।
गणेशप्रसाद लाठ, उद्यमी
वीरगञ्ज
बजारमा दशैंको रौनक छैन
बजारमा दशैंको रौनक छैन । व्यापारी, उद्योगपति वा आम जनता नै किन न होओस्, मनमा उत्साह उमङ्ग हुनुपर्ने अझै आउन सकेको छैन । अघिल्लो वर्षभन्दा खासै राम्रो भएको छैन । ४÷५ वर्षदेखि व्यवसाय बिग्रेको नै छ । सबैले सोचेको थियो, यो वर्ष राम्रो हुन्छ । राजनीति परिवर्तन भएपछि मनोबल खस्किएको छ । बजारमा हिड्दा ग्राहक भेटिँदैन । भन्सारमा पनि सामानको आयात बढेको छैन । भन्सार घट्नुको अर्थ आय कर आफै घट्छ । मानिससँग पैसा छैन । केही गर्ने साहस पनि छैन । दशैंको उत्साह पनि छैन ।
धिरजकुमार साह,सञ्चालक
उत्कृष्ट फेसन हाउस
रक्सौलभन्दा सस्तो मूल्यमा सामान दिन्छौं
मैले आफ्नो व्यापार शुरू गरेको ४ वर्ष भयो । लकडाउनमा शुरू गरेको थिए । त्यति बेला पनि मैले धेरै संघर्ष गरेको थिए । अहिलेसम्म संघर्ष गरिरहेको छु । वीरगञ्जमा व्यापार गर्न धेरै नै संघर्ष गर्नुपर्छ । यहाँको बोर्डर खुला छ । सामानहरू भन्सार गरेर ल्याउछौं । बोर्डरबाट सामान ल्याउँदा खर्र्च हुन्छ । यहाँको मानिसहरू त्यहाँ गएर सामान ल्याउँछन् । वीरगञ्जभन्दा त्यहाँको सामानहरू सस्तो होला । नेपालीहरूको सोच नै बनिसकेको छ कि रक्सौलमा सामान सस्तो हुन्छ । चामलमा १० रुपैयाँ सस्तो भए पनि गएर किनेर ल्याउँछन् । वीरगञ्जमा व्यापार गर्न गाह्रो छ । व्यापार गर्दा रक्सौल र वीरगञ्जभन्दा पनि सामानहरू अलग र राम्रो राख्छौं । त्यसैले हाम्रो व्यापार राम्रो छ । अरू व्यापारीको तुलनामा व्यापार राम्रो छ र खुशी छु । हाम्रो नयाँ शाखा पनि काठमाडांैमा खोलिसकेको छ । वीरगञ्जमा पनि एउटा नयाँ शाखा खोल्ने तयारीमा छौं । हामीहरूको व्यापार गर्ने तरिका अलग छ । अरूले एकअर्काको प्रतिस्पर्धा गर्छन् । कुनै पनि सामान लिएर आउँछन र ४ सयमा बेच्छन् । त्यही सामान अर्को पसलले ३ सयमा बेच्छ । त्यसरी मैले कहिले पनि गरेको छैन । कसले के गरेको हुन्छ, मैले त्यसमा ध्यान दिएको छैन । म बजारभन्दा फरक किसिमको सामान लिएर आउँछु । राम्रो मूल्यमा ग्राहकलाई दिन्छु । मानिसहरू मेरो पसलमा सामान लिन आउँछन् । रक्सौलभन्दा राम्रो मूल्यमा सामान दिन्छौं भने किन मानिस रक्सौल जान्छन् ।
मनोजकुमार गुप्ता (सञ्चालक)
महालक्ष्मी टेडर्स
रक्सौलको बजारका कारण वीरगञ्ज सुकेको छ
मैले व्यापार गरेको २० वर्षभन्दा बढी भइसक्यो । व्यापार गर्दा व्यापारको अवस्थामा धेरै उतारचढाव देखेको छु । कोभिडपछिको महामारीले गर्दा सरकारले नियन्त्रण गर्न नसकेको हो । वीरगञ्ज महानगरपालिकाले पनि बजार लाग्ने र बिक्री हुने ठाउँमा घेराबन्दी गरिएको छ । त्यसपछि यहाँ पार्किङको समस्या पनि छ । वीरगञ्जको बजार ठप्प हुनुमा सबैभन्दा ठूलो कारण रक्सौलको बजार हो । रक्सौल बजारका कारण वीरगञ्ज बजार सुकेको हो । मानिसहरू ठूलो र सानो जे सामान भए पनि रक्सौल नै गएर किन्छन् । यहाँभन्दा सामान रक्सौलमा सस्तो छ । सरकारले लगाएको कर तिरिरहेका छौं । सबैभन्दा ठूलो सरकारको नीति बाहिरबाट सामान आउँदा धेरै शुल्क लागिरहेको छ । दिनहुँ प्रयोग गर्ने सामान भारतबाट आउने हो । यसमा सरकारले ध्यान दिनु पर्छ । भारतबाट सामान किन्नमा रोक लगाउनु पर्छ । हाम्रो गुनासो सरकार र उद्योग वाणिज्यका संस्थामा पनि छ । सानो व्यापारीको लागि कसैले केही गरेको छैन । सामानमा भन्सार लाग्छ । रक्सौल गएर सामान किन्दा भन्सार लाग्दैन । एक दुई ओटा सामानमात्र वीरगञ्जबाट किन्ने गर्छन् । दशैं आएपछि सानो ठूलो सबै पसलहरूमा भीड हुन्थ्यो । दशैं महान पर्व भए पनि पहिलाजस्तो रौनक छैन । महिलाहरूले पनि आफ्नो पुजाको सामान वा आवश्यक परेको सामान नै किनिरहेका छन् । आर्थिक भार भएर बाहिरबाट सामान किनिरहेका छन् । दशैं पर्वमा बिक्री छैन ।
पुनमदेवी रौनियार
माईस्थान – ६, वीरगञ्ज
पसलको भाडा तिर्न गाह्रो भइसकेको छ
वीरगञ्जमा व्यापार गर्ने, आर्थिक अवस्था राम्रो बनाउने ठाउँ थियो । ४÷५ वर्षदेखि यहाँको व्यापार बिग्रेको छ । यहाँ सबैको आर्थिक अवस्था कमजोर हुँदै गइरहेको छ । पहिला दशैं आउना साथ व्यापारीहरूको अनुहारमा खुशी हुन्थ्यो । पहिलाको दशैंमा भारतबाट मानिसहरू दशैं हेर्न अथवा नयाँ सामानहरू किन्न आउँथे । पहिला वीरगञ्जमा ग्रामीण क्षेत्रका मानिसहरू आएर उद्योगमा काम गर्थे । दशैंमा तलब, बोनस पाउँदा वीरगञ्ज बजारमा आएर सामान किनेर घर जान्थे । अहिले धेरै उद्योगहरू बन्द भएका छन् । उद्योगहरू बन्द भएर पनि व्यापारमा प्रभाव परिरहेको छ । यहाँ ऋणको व्यवस्था पनि राम्रो छैन । मानिसहरू कसरी कमाउन सक्छन् ? पहिला दशैंमा बिहान १० बजेदेखि राति ९ बजेसम्म पसल चल्थ्यो । धेरै व्यापारीहरूले रातभर पसल चलाउनुपथ्र्यो । अहिले आएर १÷२ बजेसम्म एउटा ग्राहक पसलमा आएको हुँदैन । व्यापारीहरूले दशैंपछि आफ्नो व्यापार बढाउन सोच्थे । अहिले पसलको भाडा तिर्न गाह्रो भइसकेको छ । अहिले मानिसहरूमा १ रुपैयाँ भए पनि बचाइरहेका छन् । २० रुपैयाँको सामान पनि १० रुपैयाँमा लिन खोजिरहेको छ । नेपालमा भारतीयहरूको धेरै पसलहरू थिए । अहिले सबै बन्द गरेर गइसकेका छन् । नेपालका व्यापारी कतै जान मिल्दैन । सरकारले यसको लागि केही गरिरहेको छैन ।
अन्जला श्रेष्ठ, सञ्चालक
लालीगुँरास बुटिक, वीरगञ्ज
साना व्यापारीहरूको समस्या बुझ्नु पर्दछ
हिन्दूहरूको महान पर्व दशैं हो । यसमा सबै नपाली मिलेर धेरै रमाइलो गर्ने गर्छन् । हामी व्यापारीहरू पनि दशैंमा धेरै खुशी हुन्छौं । हाम्रो सिजन तिजदेखि शुरू भएर मंसिरसम्म हुन्छ । खाजा पनि खान समय हुँदैनथ्यो । आफ्नो घरलाई समय नै दिन पाउँदैनथ्यो । बिहान १० बजेदेखि राति ९ बजेसम्म खट्नुपथ्र्यो । एक÷दुई वर्षदेखि हामी व्यापारीले कुनै पनि सिजनमा काम गर्न पाएका छैनौं । विश्वव्यापी नै आर्थिक मन्दी छ । विशेष गरेर नेपालमा बोर्डरतर्फ व्यापार गर्न झन धेरै गाह्रो छ । दशैंको मुखमा आएर जेनजीको आन्दोलन भयो । यसले हामीजस्तो साना व्यापारीहरूको लागि नाफा वा नोक्सान केही गरेको छैन । हामीले जुन किसिमको बजार व्यापार चाहेका छौं । त्यसमा केही फरक पाएका छैनौं । जबसम्म सरकारले मध्यम तथा साना व्यापारीहरूको समस्या बुझेर नीति नियम लगाउँदैन । यसको अवस्था सुधारिँदैन । सबैभन्दा मारमा अनलाइन व्यापारले परेको छ । अनलाइनमा घर बसेर काम गर्नु पर्छ । घर भाडा, कर, स्टाफ खर्च तिर्नु पर्दैन । हामीले चार ठाउँमा कर तिर्नु पर्छ । त्यो सबै कुराले हामीलाई गाह्रो हुन्छ । अहिले रक्सौलमा सामान लिन जाँदा खुट्टा राख्ने ठाउँ छैन । वीरगञ्जमा व्यापारीहरू दिनभरि मोबाइल चलाइरहेका छन् । यसको लागि सरकारले नियम लगाउनु पर्छ ।
शर्मिला न्यौपाने
अध्यक्ष
महिला समुदायिक स्वास्थ्य स्वयमसेविका देशै शोकमा डुबेको छ
विगतका वर्षहरूको दशैंमा आन्दोलनजस्तो केही पनि थिएन । यसपालि भर्खरै जेनजीको आन्दोलन भएको कारणले गर्दा देशै शोकमा डुबेको छ । भर्खरका कालिला बालबालिकाहरूको मृत्यु भएको छ । दशैंमा हौसला खुशीको साथ दुर्गाको पूजा गर्नु पर्छ भन्ने सोच हो । आफ्नो देशका कलिला बालबालिकाहरू धेरै मृत्यु भएको छ । हरेकको घरमा आफ्नो बालबालिका गुमाउनु परेको छ । पहिलाजस्तो चहलपहल बजारमा छैन । देशको आर्थिक स्थिति पनि नाजुक छ । पैसा सरकारको ढुकुटीमा अनि जनतासँग केही छैन । कमाउन विदेश गएका युवाहरू बाकसमा फर्किन्छन् । घरमा कसैको बालबालिका छैन । सबै विदेशमा पढ्न र कमाउन भनेर विदेश पठाउदा पनि १०÷२० लाख खर्च गरेर पठाउनु परेको छ । देशको आर्थिक अवस्था कमजोर भएपछि जनताको पनि हुन्छ । पहिलाको दशैं गाउँघर समाजमा एकरुपता थियो । सबैभन्दा ठूलो मेलमिलाप थियो । अहिले जातीय विवाद, द्वन्द्व, आन्दोलन, पार्टीगत विवाद सबै हुनाले गर्दा मेलमिलाप हराएको छ । आमा र बच्चाको सम्बन्धमा पनि यो राजनीतिले गर्दा अलि टाढा भएको छ । मेलमिलाप नभएको कारणले पनि पहिलाको तुलनामा अहिलेको दशैं हौसलापूर्ण छैन ।