प्रा.डा. प्रमोदकुमार सर्राफ
जेनेरल मेडिसिन फिजिसियनजीवनशैली परिवर्तन गर्नु पर्दछ
रक्तचाप भनेको मुटुबाट धमनीहरूमा रगत प्रवाह हुने बल हो । जब रक्तचाप उच्च हुन्छ, रगत धमनीहरूमा धेरै बलपूर्वक बग्छ । खास गरी रक्तचाप १२०÷८० मिलिमिटर अफ मर्करी (एमएम÷एचजी) हुनु समान्य मानिन्छ । यदि रक्तचाप १४०÷९० माथि छ भने चिकित्सकले औषधि रिफारिस गर्छन् । यसबाट हृदयघात, पक्षघात, मिर्गौला खराबी तथा आँखामा गम्भीर असर पार्न सक्छ । रक्तचापलाई नियन्त्रणमा राख्न औषधि सेवनका साथै घरेलु उपायहरू पनि अपनाउन जरुरी छ । औषधि सेवनमात्रै गर्ने, तर रक्तचाप बढाउने कारकलाई बेवास्ता गरेमा नियन्त्रणमा आउन सक्दैन । हरेक मानिसले प्रत्येक दिन ३० मिनेट पसिना आउने गरी कुनै न कुनै व्यायाम गर्नुपर्छ । पौडी खेल्ने, खेतबारीमा काम गर्ने, छिटोछिटो हिँडने, दगुर्ने, व्यायाम गर्ने पोटासियम धेरै भएको खानेकुराहरू जस्तै केरा, ब्रोकाउली, बन्दा, सुन्तला, मेवा, बेल, कागती आदि धेरै सेवन गर्नु धेरै लाभदायक हुन्छ । प्रशस्त मात्रामा हरियो सागसब्जी, गाजर, धनिया, काक्रो, रेसायुक्त खानेकुराहरू, प्रशस्त मात्रामा पानी खानुपर्छ पोटासियम बढी भएको खाने कुराले रक्तचाप घटाउँछ । गहिरो निद्राले मानसिक स्वास्थ्य सुधार्छ र रक्तचाप नियन्त्रणमा राख्छ । निद्राले शरीरको पाचन प्रक्रिया सन्तुलनमा राख्छ, जुन उच्च रक्तचाप व्यवस्थापनका लागि आवश्यक छ । कतिपय विरामीहरूको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरूको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ ।
डा. राधा भट्टराई
वरिष्ठ मुटु रोग विशेषज्ञ खानपानमा ध्यान दिनु पर्दछ
उच्चरक्तचाप नियन्त्रणका ध्यान दिनुपर्ने मध्येको एक मुख्य कुरा हो खानपान । स्वस्थ आहार र सन्तुलित खानपानले रक्तचाप व्यवस्थापनमा सहयोग गर्छ । फलफूल, तरकारी, प्रशस्त खाने गर्नुपर्छ । चिल्लोयुक्त खानेकुरा, दुग्धजन्य उत्पादन, धेरै बोसोयुक्त मासु नखाने, धेरै नुन भएका खानेकुरा, बजारमा प्रशोधित खानेकुरा खानुहुँदैन । उच्च चिनीयुक्त कोल्ड्रिङ्क्सहरू खान छाड्दा रक्तचाप नियन्त्रणमा मद्दत मिल्छ ।कम चिल्लो मासु, माछा र नट्सहरू खाने । काममा तनाव नहुने तथा कम तनाव हुने परिस्थिति बनाउनु आवश्यक छ । तनाव कम गर्नका लागि योगा र ध्यान पनि गर्न सकिन्छ । रक्तचाप नियन्त्रणमा राख्नका लागि पूरा निद्रा सुत्नु आवश्यक छ । एक वयस्क व्यक्तिले रातमा कम्तीमा ७–८ घण्टा सुत्नु आवश्यक छ । पूरा निद्रा सुत्दा तनाव हर्मोन (कोर्टिसोल) को स्तर घटाउँछ, जसले रक्तचापलाई स्थिर राख्न मद्दत गर्छ । नियमित व्यायामले रक्तचाप व्यवस्थापन, मुड, शक्ति र सन्तुलनमा फाइदा पु¥याउँछ । मोटोपना घटाउन, कोलेस्टेरोलको नियन्त्रण गर्न पनि व्यायामले काम गर्छ । मोटोपनाले इन्सुलिन प्रतिरोध, कोलेस्ट्रोलको असन्तुलन र रक्तनलीमा बोसो जम्मा हुने जोखिम पनि बढाउँछ, यी कारणले उच्च रक्तचापलाई बढावा दिन्छ । तौल घटाउँदा मुटुको बोझ कम हुन्छ, रक्तसञ्चार सुधार हुन्छ र रक्तचाप नियन्त्रणमा राख्न सहज हुन्छ । धूमपानले मुटु, मस्तिष्क तथा अन्य भागका रक्तनलीमा प्रत्यक्ष क्षति पु¥याउन सक्छ । प्रत्येक चुरोट पिउँदा रक्तचाप केही मिनेटका लागि अस्थायी रूपमा बढ्छ । नियमित धूमपान गर्नेहरूमा रक्तचाप लामो समयसम्म उच्च रहन सक्छ । उच्च रक्तचापको समस्या देखिएपछि यसलाई नियन्त्रणमा राख्नका लागि चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्नुपर्छ ।
उदयनारायण सिंह
फिजिसियन अत्यधिक नुन उच्च रक्तचापको कारण
चिकित्सा विज्ञानका अनुसार अत्यधिक नुन उच्च रक्तचापको प्रमुख कारण हो । चुरोट, बिँडी पिउनाले वा खैनी, गुट्खा, सुर्ती चपाउनाले रक्तधमनीहरू कडा र साँघुरा हुन जान्छन्, जसले गर्दा रक्तचाप तत्काल र दीर्घकालीन रूपमा बढ्छ । नियमित वा धेरै मात्रामा रक्सी पिउने बानीले रक्तचाप बढाउनुका साथै मुटुको मांसपेशीमा असर पु¥याउँछ । शारीरिक व्यायाम वा श्रम नगर्ने, दिनभर बसिरहने आधुनिक जीवनशैलीले शरीरको रक्तसञ्चार प्रणालीलाई सुस्त बनाउँछ । कार्यव्यस्तता, आर्थिक चिन्ता वा पारिवारिक तनावका कारण शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढ्छ, जसले रक्तचाप बढाउँछ । उमेर बढ्दै जाँदा विशेषगरी ४० वर्षपछि रक्तधमनीहरूको लचकता कम हुँदै जाने भएकाले उच्च रक्तचापको जोखिम स्वतः बढ्छ । यदि परिवारमा आमाबुबा वा नजिकका सदस्यहरूलाई उच्च रक्तचापको समस्या छ भने, सन्तानमा पनि यो देखिने सम्भावना बढी हुन्छ । कतिपय अवस्थामा शरीरका अन्य रोगहरूको परिणाम स्वरूप पनि रक्तचाप बढ्ने गर्छ । मिर्गौलाले शरीरको तरल पदार्थ र नुन फिल्टर गर्न नसक्दा रक्तचाप बढ्छ । थाइराइडको समस्या, एड्रेनल ग्रन्थीको ट्युमर, मधुमेह र उच्च कोलेस्ट्रोल, रगतमा चिनी र खराब बोसोको मात्रा बढी हुँदा धमनीहरू साँघुरा भई रक्तचाप बढ्छ। दुखाइ कम गर्ने औषधिहरू, गर्भनिरोधक चक्कीहरू वा केही स्टेरोइडहरूको अत्यधिक प्रयोगले पनि रक्तचाप बढाउने काम गर्छ । नुनको प्रयोग कम, धूम्रपान र मध्यपान को त्याग, व्यायाम, उच्चरक्तचाप गराउने सेकेन्डरी कारणको पहिचान र समाधान र बजन नियन्त्रणमा राखेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।
डा. नुरुल होदा
फिजिसियन सकारात्मक सोच राख्नु पर्दछ
उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा धमनीको भित्तामा रगतको दबाब धेरै बढ्छ । यो वंशानुगत पनि हुन्छ । यसका अलावा निष्क्रिय जीवनशैली, तनाव, सुर्तीजन्य पदार्थ सेवन, धेरै नुनको प्रयोग, मदिरा सेवन, अस्वस्थकर खानपान र वृद्धावस्थाले पनि यो समस्या निम्त्याउने गरेको पाइन्छ । धमनी साँघुरिनु, मिर्गौलाको रोग, एड्रिनल ग्रन्थिको रोग, एओर्टाको कोआर्कटेसन, गर्भावस्थामा हुने उच्च रक्तचाप र गर्भनिरोधक चक्कीको प्रयोगले पनि समस्या हुन सक्दछ । उच्च रक्तचापका कारण टाउको दुखाइ, चक्कर लाग्नु, धमिलो देखिनु, वाकवाकी लाग्नु, बान्ता हुनु र नाकबाट रगत आउनुजस्ता लक्षण देखिन्छन् । यसबाट हृदयघात, मस्तिष्कमा रक्तस्राव, मिर्गौला फेल हुनु, आँखाको रेटिनामा असरजस्ता समस्या देखिन सक्छन् । यो समस्या आउन नदिन दैनिक व्यायाम गर्ने, धेरै फलफूल र तरकारी खाने, आराम तथा रिल्याक्समा समय बिताउने, सकारात्मक सोच राख्ने, जंक फुड नखाने, ध्यान गर्ने, पर्याप्त निद्रा लिने, नुनको सेवन कम गर्नाले उच्च रक्तचापको समस्याबाट जोगिन सकिन्छ ।
डा. रविरञ्जन साह
जनरल कन्सल्टेन्ट फिजिसियनस्वस्थ जीवनशैली अपनाउनु पर्दछ
उच्च रक्तचाप नियन्त्रण गर्नका लागि सबैभन्दा महत्वपूर्ण कदम स्वस्थ जीवनशैली अपनाउनु र खानपानमा विशेष सुधार गर्नु हो । दैनिक आहारमा नुन र चिल्लो पदार्थको मात्रा कम गर्ने, फलफूल, हरियो सागसब्जी तथा फाइबरयुक्त खाना बढी खाने र पर्याप्त मात्रामा पानी पिउने बानी बसाल्नु पर्छ । यसका साथै, धूमपान र मदिरापानको सेवनलाई पूर्ण रूपमा त्याग्नु रक्तचापलाई सामान्य अवस्थामा राख्न अत्यन्तै आवश्यक हुन्छ । नियमित शारीरिक व्यायाम र मानसिक तनावको उचित व्यवस्थापनले रक्तचाप नियन्त्रणमा ठूलो सहयोग पु¥याउँछ । तौललाई आफ्नो उमेर र उचाइ अनुसार सन्तुलनमा राख्न दैनिक कम्तीमा ३० मिनेट हिँड्ने, दौडिने वा योग गर्ने बानी गर्नुपर्छ । अत्यधिक मानसिक तनावले पनि रक्तचाप बढाउने भएकाले पर्याप्त निन्द्रा लिने, ध्यान गर्ने र मनलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । यदि जीवनशैली र खानपानमा परिवर्तन गर्दा पनि रक्तचाप नियन्त्रणमा आएन भने चिकित्सकको सल्लाह लिनु अनिवार्य हुन्छ । चिकित्सकले सिफारिस गरेका औषधिहरू तोकिएको समय र मात्रामा नियमित रूपमा सेवन गर्नुपर्छ र आफ्नै खुशीले औषधि छोड्नु वा मात्रा घटाउनु हुँदैन । घरमै वा स्वास्थ्य संस्थामा गई नियमित रूपमा रक्तचाप परीक्षण गराई यसको उतारचढावको निगरानी राख्नु बुद्धिमानी हुन्छ ।
डा. परवेज आलम अन्सारी
इन्टरनल मेडिसिन फिजिसियनउच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ
उच्च रक्तचाप आजको समयमा सबैभन्दा बढी देखिने नसर्ने रोगमध्ये एक हो । यसलाई साइलेन्ट किलर पनि भनिन्छ । उच्च रक्तचापका धेरै जसो बिरामीहरूमा सुरुवातको चरणमा कुनै स्पष्ट लक्षण देखिँदैन । उच्च रक्तचापलाई समयमै नियन्त्रण नगरे यसले मुटुघात, पक्षघात, मिर्गौला खराबी तथा आँखामा गम्भीर असर पार्न सक्छ । सामान्यतया १४०÷९० एमएम एचजी वा सोभन्दा माथिको रक्तचापलाई उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचाप नियन्त्रण गर्न सबैभन्दा महत्वपूर्ण उपाय स्वस्थ जीवनशैली अपनाउनु हो । दैनिक भोजनमा नुनको मात्रा कम गर्नु, बढी तेल तथा बोसोयुक्त खाना कम खानु, हरियो सागसब्जी, फलफूल तथा फाइबरयुक्त आहार सेवन गर्नु आवश्यक हुन्छ । नियमित व्यायामले पनि रक्तचाप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । दैनिक कम्तीमा ३० मिनेट हिँड्ने, साइकल चलाउने वा हल्का कसरत गर्ने बानीले मुटु स्वस्थ राख्न मद्दत गर्दछ । धुम्रपान र मदिरा सेवन उच्च रक्तचापका प्रमुख जोखिम कारक हुन् । चुरोटले रक्तनली साँघुरो बनाउने भएकाले रक्तचाप बढ्छ । त्यसैले धुम्रपान पूर्ण रूपमा त्याग्नु आवश्यक छ । साथै, मानसिक तनाव, अनिद्रा तथा अत्याधिक चिन्ताले पनि रक्तचाप बढाउने भएकाले योग, ध्यान तथा प्रर्याप्त आराम आवश्यक हुन्छ । धेरै बिरामीमा जीवनशैली सुधारसँगै औषधिको आवश्यकता पनि पर्न सक्छ । चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु खतरनाक हुन सक्छ । नियमित रक्तचाप जाँच, समयमै उपचार तथा स्वस्थ बानी अपनाउन सके उच्च रक्तचापलाई प्रभावकारी रूपमा नियन्त्रण गरी स्वस्थ जीवन बिताउन सकिन्छ ।