समाजको दिगो विकास र समान अवसर सुनिश्चित गर्न समावेशी नीति अत्यन्त आवश्यक छ । समावेशी नीति भन्नेबित्तिकै समाजका सबै वर्ग, समुदाय, लिङ्ग, भाषा, क्षेत्र तथा फरक क्षमता भएका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहमा सहभागी गराउने नीति भन्ने बुझिन्छ । यस्तो नीतिले कुनै पनि व्यक्ति वा समुदायलाई पछाडि नपार्ने उद्देश्य राख्छ ।
नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त देशमा समावेशी नीतिको आवश्यकता अझ बढी देखिन्छ । लामो समयसम्म केही समुदायमात्र अवसरमा केन्द्रित हुँदा महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकहरू शिक्षा, रोजगारी, स्वास्थ्य र निर्णय प्रक्रियाबाट वञ्चित हुने अवस्था सिर्जना भयो । त्यसैले समान पहुँच र सहभागिता सुनिश्चित गर्न समावेशी नीतिको विकास आवश्यक भएको हो ।
शिक्षा मानव जीवनको आधारभूत आवश्यकतामात्र होइन, सभ्य समाज निर्माणको सबैभन्दा बलियो माध्यम पनि हो । शिक्षाले व्यक्तिलाई चेतना, क्षमता, आत्मविश्वास र जिम्मेवारीबोध प्रदान गर्छ । तर, शिक्षा त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब समाजका सबै वर्ग, समुदाय र व्यक्तिले समान रूपमा त्यसमा पहुँच पाउँछन् । यही सोचले ‘समावेशी शिक्षा’को अवधारणालाई जन्म दिएको हो । समावेशी शिक्षा भन्नाले जात, वर्ग, भाषा, लिङ्ग, आर्थिक अवस्था, भौगोलिक दूरी वा शारीरिक अवस्थाका आधारमा कसैलाई पनि विभेद नगरी सबैलाई समान अवसरसहित शिक्षा प्रदान गर्नु हो ।
नेपालजस्तो विविधतायुक्त देशमा समावेशी शिक्षाको आवश्यकता अझ बढी महसुस हुन्छ । यहाँ हिमाल, पहाड र तराईका फरक भूगोल मात्र होइन, भाषा, संस्कृति र जीवनशैलीको समेत ठूलो विविधता पाइन्छ । तर, यति विविधता हुँदाहुँदै पनि शिक्षामा सबैको समान पहुँच अझै सुनिश्चित हुन सकेको छैन। आज पनि दुर्गम गाउँका धेरै बालबालिका विद्यालयसम्म पुग्न संघर्ष गरिरहेका छन् । कतिपय बालिका आर्थिक अभाव, बालविवाह वा सामाजिक सोचका कारण बीचमै पढाइ छोड्न बाध्य छन् । अपाङ्गता भएका बालबालिकाले आवश्यक वातावरण र सामग्री नपाउँदा शिक्षाबाट टाढिनुपरेको अवस्था पनि यथार्थ हो । समावेशी शिक्षा भनेको केवल विद्यालयमा भर्ना गराउनुमात्र होइन, उनीहरूलाई सम्मानपूर्वक सिक्ने वातावरण उपलब्ध गराउनु पनि हो । विद्यालयमा पहुँच, शिक्षकको व्यवहार, पाठ्यक्रम, भाषा र शिक्षण पद्धति सबै समावेशी हुन आवश्यक छ । उदाहरणका लागि, मातृभाषामा प्रारम्भिक शिक्षा पाउने बालबालिकाले सिकाइलाई सहज रूपमा आत्मसात् गर्न सक्छन् । त्यसैगरी, शारीरिक रूपमा फरक क्षमता भएका विद्यार्थीका लागि विद्यालय भवन, शौचालय र अध्ययन सामग्रीमै विशेष व्यवस्था आवश्यक पर्छ ।
आजको समयमा प्रविधिले शिक्षालाई नयाँ अवसर पनि दिएको छ । अनलाइन कक्षा, डिजिटल सामग्री र इन्टरनेटको प्रयोगले शिक्षा धेरै मानिससम्म पुग्ने सम्भावना बढाएको छ । तर, प्रविधिमा पहुँच सबैको समान छैन । शहरका विद्यार्थीले सजिलै डिजिटल शिक्षा पाउँदा ग्रामीण भेगका धेरै विद्यार्थी अझै इन्टरनेट र उपकरणको अभावमा छन् । त्यसैले समावेशी शिक्षा सुनिश्चित गर्न डिजिटल विभाजन अन्त्य गर्नु पनि आवश्यक छ । समावेशी शिक्षाको अर्को महत्वपूर्ण कुरा लैङ्गिक समानता हो । समाजमा अझै पनि छोरीलाई भन्दा छोरालाई बढी अवसर दिने सोच पूर्ण रूपमा हटिसकेको छैन । शिक्षित महिला परिवार, समाज र राष्ट्रकै विकासको आधार हुन् भन्ने बुझाइ अझ मजबुत बनाउन आवश्यक छ । जब महिला शिक्षित हुन्छिन्, तब उनले केवल आफूलाई मात्र होइन, सम्पूर्ण पुस्तालाई शिक्षित बनाउने क्षमता राख्छिन् । त्यसैले विद्यालयदेखि नीति निर्माणसम्म महिलाको समान सहभागिता सुनिश्चित गरिनुपर्छ ।
सरकारले निःशुल्क शिक्षा, छात्रवृत्ति, दिवा खाजा, प्राविधिक शिक्षा विस्तारजस्ता विभिन्न कार्यक्रम ल्याए पनि व्यवहारमा अझै धेरै चुनौती बाँकी छन् । कतिपय विद्यालयमा पर्याप्त शिक्षक छैनन्, कतै गुणस्तरीय शिक्षाको अभाव छ भने कतै राजनीतिक हस्तक्षेपले शैक्षिक वातावरण प्रभावित भएको देखिन्छ । शिक्षा नीतिमा समावेशी सोच भए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै कमजोर छ। समावेशी शिक्षा सफल बनाउन सरकार, विद्यालय, शिक्षक, अभिभावक र समाज सबैको साझा जिम्मेवारी हुन्छ । शिक्षकले प्रत्येक विद्यार्थीलाई समान दृष्टिले हेर्नुपर्छ । अभिभावकले छोरीछोराबीच विभेद गर्नु हुँदैन । समाजले पनि शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, समानता र चेतनाको आधारका रूपमा बुझ्न आवश्यक छ ।
आज विश्व तीव्र परिवर्तनको युगमा छ । विज्ञान, प्रविधि र विश्वव्यापी प्रतिस्पर्धाले नयाँ चुनौती र अवसर सिर्जना गरिरहेका छन्। यस्तो अवस्थामा कुनै पनि समुदाय वा वर्ग शिक्षाबाट वञ्चित रह्यो भने त्यो केवल उनीहरूको मात्र होइन, राष्ट्रकै क्षति हुनेछ । त्यसैले ‘कोही पनि शिक्षाबाट बाहिर नहोस्’ भन्ने भावना व्यवहारमै लागू हुनुपर्छ। समावेशी शिक्षातर्फको यात्रा सजिलो छैन, तर असम्भव पनि छैन। नीति, प्रतिबद्धता र व्यवहारमा समानता ल्याउन सके शिक्षाले वास्तवमै समाज परिवर्तन गर्न सक्छ । जब शिक्षाको उज्यालो समाजका प्रत्येक घर, गाउँ र समुदायसम्म समान रूपमा पुग्छ, तब मात्र समृद्ध, न्यायपूर्ण र सचेत समाज निर्माण सम्भव हुन्छ । त्यसैले आजको आवश्यकता भनेको सबैका लागि समान, गुणस्तरीय र सम्मानजनक शिक्षाको सुनिश्चितता हो। समावेशी शिक्षाको यात्रा वास्तवमा समान भविष्य निर्माणको यात्रा हो ।
विशेषगरी शिक्षामा समावेशी महत्त्वपूर्ण कुरा हो । बालबालिकाले आफ्नो भाषा, संस्कृति र अवस्थाअनुसार सम्मानपूर्वक शिक्षा पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यदि नीति समावेशी भएन भने आर्थिक, सामाजिक वा भौगोलिक कारणले धेरै प्रतिभा अवसरबाट टाढा रहने खतरा हुन्छ । समावेशी नीतिले विद्यालयदेखि रोजगारीसम्म समान अवसर सिर्जन ागर्न मदत गर्दछ ।