जल तथा मौसम विज्ञान विभागले आज मधेश प्रदेशका जिल्लासहित देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । रातिदेखि सक्रिय रहेको वर्षा प्रणालीका कारण पर्सा, बारा लगायत मधेश प्रदेशका विभिन्न क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
मौसमविद् बिनु महर्जनका अनुसार पश्चिम नेपालबाट पूर्वतर्फ सरिरहेको वर्षा प्रणालीको प्रभावले बागमती, मधेश र कोशी प्रदेशमा समेत वर्षा हुने अनुमान गरिएको छ । उनका अनुसार आज दिउँसोदेखि साँझसम्म पर्सा–बारा क्षेत्रमा मेघगर्जनसहित वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
‘तराई र पहाडी क्षेत्रमा आज राति हावाहुरी चल्नसक्ने सम्भावना पनि छ,’ मौसमविद् महर्जनले भनिन्, ‘केही समय रोकिए पनि फेरि पानी पर्ने सम्भावना रहेको छ ।’
पछिल्ला केही दिनदेखि बढेको अत्यधिक गर्मीका बीच वर्षा सुरु भएपछि पर्सा–बाराका सर्वसाधारणले राहत महसुस गरेका छन् । वीरगञ्ज, कलैया, सिमरा लगायत क्षेत्रमा आज बिहानदेखि मौसम बदली भएको देखिएको छ ।
मौसम विभागका अनुसार केही स्थानमा भारी वर्षा समेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी हावाहुरी र चट्याङका कारण जोखिम बढ्न सक्ने भन्दै किसान, यात्रु तथा खुला क्षेत्रमा काम गर्नेहरुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
विभागका अनुसार हाल सक्रिय रहेको वर्षा प्रणाली आइतबारदेखि क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको छ । आइतबारपछि मधेश प्रदेशमा वर्षा कम हुँदै जाने अनुमान गरिएको मौसमविद्हरुले बताएका छन् ।