विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले रूससँगको सम्बन्धलाई “अव्यवस्थाबीचको स्थिर शक्ति” को संज्ञा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै बेइजिङमा स्वागत गरेका सीले केही दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्दै अप्रत्यक्ष रूपमा अमेरिकामाथि पनि कटाक्ष गरेका हुन् ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार भएको भेटवार्ताका क्रममा सीले वर्तमान अन्तर्राष्ट्रिय अवस्था “उथलपुथल र परिवर्तनले भरिएको” भन्दै एकपक्षीय प्रभुत्ववादी प्रवृत्ति बढिरहेको टिप्पणी गरे । चीनले प्रायः अमेरिकी विदेश नीतिको आलोचनामा प्रयोग गर्ने शब्दावली दोहोर्याउँदै उनले चीन र रूसबीचको रणनीतिक समन्वय अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
सीले अमेरिका–इजरायल र इरानबीचको तनावबारे पनि टिप्पणी गर्दै युद्धको शीघ्र अन्त्य आवश्यक रहेको बताए । युद्ध लम्बिँदा ऊर्जा आपूर्ति, व्यापार र विश्वव्यापी आपूर्ति शृंखलामा असर पर्ने उनको भनाइ थियो । उनले “युद्ध तत्काल रोक्नुपर्छ, पुनः संघर्ष चर्किनु झन् खतरनाक हुन्छ र वार्तालाई निरन्तरता दिनु अत्यन्त आवश्यक छ” भने ।
यसैबीच पुटिनले चीन–रूस सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको दाबी गरे । उनले दुई देशबीचको सम्बन्धलाई “अन्तर्राष्ट्रिय मञ्चको स्थायित्वको मुख्य आधार” भनेका छन् ।
पुटिनले सीसँगको व्यक्तिगत सम्बन्धलाई पनि विशेष रूपमा उल्लेख गरे । दुई नेताबीच ४० भन्दा बढी भेट भइसकेको छ । उनले चिनियाँ उखान प्रयोग गर्दै “एक दिन टाढा हुँदा पनि तीन शरद बितेजस्तो लाग्छ” भन्दै सीसँगको निकटता प्रदर्शन गरे ।
पुटिनको चीन भ्रमण करिब २४ घण्टाको राजकीय भ्रमणका रूपमा भइरहेको छ । युक्रेन युद्ध र मध्यपूर्वको तनाव चर्किरहेका बेला भएको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
हालका वर्षहरूमा चीन र रूसबीच व्यापार, सुरक्षा र कूटनीतिक सहकार्य उल्लेखनीय रूपमा विस्तार भएको छ । अमेरिका र पश्चिमी शक्तिसँग बढ्दो टकरावका कारण दुवै देश एकअर्काको नजिक आएका हुन् ।
भेटवार्तामा ऊर्जा, कृषि, यातायात, उद्योग तथा उच्च प्रविधि सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ । पुटिनले मध्यपूर्व संकटका बीच पनि रूस विश्वसनीय ऊर्जा आपूर्तिकर्ता रहेको र चीन जिम्मेवार उपभोक्ताको भूमिकामा रहेको बताएका छन् ।
सीका लागि केही दिनको अन्तरालमा अमेरिका र रूसका राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्नु विश्व शक्तिका रूपमा चीनको प्रभाव प्रदर्शन गर्ने अवसर बनेको विश्लेषण गरिएको छ ।
यद्यपि भव्य स्वागत र मित्रताको प्रदर्शनबीच पुटिन अहिले अघिल्लो भ्रमणको तुलनामा कमजोर अवस्थामा रहेको विश्लेषण पनि भइरहेको छ । हालै युक्रेनले मस्कोमाथि ठूलो ड्रोन आक्रमण गरेको र युद्धमा रूसले भूभाग गुमाइरहेको पृष्ठभूमिमा चीनसँगको उसको निर्भरता अझ बढेको बताइएको छ ।
विशेषगरी मध्यपूर्व तनावका कारण कच्चा तेल आपूर्तिमा दबाब बढिरहेका बेला सीले ऊर्जा सहकार्यमा चीनलाई थप लाभ हुनेगरी रूससँगको सम्बन्ध अघि बढाउन खोजेको विश्लेषण गरिएको छ ।