गैरकानुनी रूपमा राज्य कोषबाट गरिएको भीभीआईपी उपचार खर्च पार्टी कोषबाट फिर्ता गरिएको विषयमा उठेको प्रश्नलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेको आरोप लागेको छ ।
पार्टीभित्रका कार्यकर्ता पंक्तिले सामाजिक सञ्जाल तथा अनौपचारिक रूपमा यस विषयमा चासो व्यक्त गरेका थिए । उनीहरूले कार्यकर्ताको लेबीबाट संकलित रकम नेतृत्वको गल्ती ढाकछोप गर्न प्रयोग गर्न नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।
एमालेका पुराना नेता उदयराज पाण्डेले सामाजिक सञ्जालमा लेख्दै, “हिजो ठूलाबढाले गरेको करोडौं अनियमित खर्च मात्र पार्टी कोषबाट तिर्ने हो कि जीवनभर पार्टी काम गर्दा पनि आर्थिक समस्या भोगिरहेका कार्यकर्तालाई पनि हेर्ने हो,” भन्ने प्रश्न उठाएका छन् ।
यस्तै अर्का नेता अरविन्द सिंहले पनि कडा आलोचना गर्दै “लाखौं सदस्यहरूको लेबी नेतृत्वको कर्तुत लुकाउन सकिँदैन” भन्दै फेसबुकमा असन्तुष्टि जनाएका छन् ।
यसबीच उपाध्यक्ष गोकर्ण बिष्टले पार्टीको सचिवालय बैठकमै उपचार खर्च फिर्ता गरिएको विषयमा स्पष्टता माग गरेका थिए । उनले “कार्यकर्ताको लेबीबाट उठेको कोषबाट रकम सरकारलाई फिर्ता गरिएको भन्ने समाचार आएको छ, के हो यो र यस्तो गर्न मिल्छ कि मिल्दैन?” भनेर प्रश्न उठाएका थिए ।
स्रोतका अनुसार, चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा उक्त प्रश्नमा अध्यक्ष ओलीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । बैठक स्रोतले जनाएको छ, “गोकर्ण बिष्ट लगायत केही पदाधिकारीले जवाफ माग गरे पनि अध्यक्ष ओलीले त्यसबारे केही बोलेनन् र बैठक सकियो।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा राज्य कोषबाट विदेशमा भएको उपचार खर्च सम्बन्धी निर्णयमाथि छानबिन थालेपछि एमालेले उक्त खर्च पार्टी कोषबाट फिर्ता गरेको बताइएको छ ।
पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको विदेश उपचारमा लागेको करिब ३ करोड ८५ लाख रुपैयाँ पार्टी कोषबाट फिर्ता गरिएको जनाइएको छ ।