राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी साधारण तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
प्रसाईंविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो ।
जेठ ४ गते प्रहरीद्वारा वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएका प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा कारबाहीको मागसहित मुद्दा दायर गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रसाईंले युट्युबमार्फत महिलाहरूलाई लाञ्छना लगाउँदै अपशब्द बोलेको तथा राज्यका निकाय, सेना र प्रहरीप्रति आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ ।
यसैगरी, उनले एक युट्युब अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहसँग जोडेर टिप्पणी गरेको बताइएको छ ।
त्यस्तै, हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने जस्ता अभिव्यक्ति पनि उनले दिएको उल्लेख छ ।
सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे समेत प्रसाईंले आपत्तिजनक टिप्पणी गरेको आरोप उनीमाथि लागेको छ ।