अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच इरान युद्धलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मंगलबार तनावपूर्ण टेलिफोन वार्ता भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
रिपोर्टअनुसार पछिल्ला केही दिनयता दुवै नेताबीच पटक–पटक संवाद भइरहेको छ । आइतबार भएको कुराकानीमा ट्रम्पले इरानविरुद्ध सप्ताहको सुरुआतमै नयाँ लक्षित आक्रमण अघि बढाउन सकिने संकेत दिएका थिए । उक्त सैन्य अभियानलाई “अपरेशन स्लेजह्यामर” नाम दिने तयारीसमेत गरिएको थियो ।
तर त्यसको करिब २४ घण्टापछि ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलगायत खाडी मुलुकहरूको आग्रहमा मंगलबारका लागि तय गरिएका आक्रमण स्थगित गरिएको घोषणा गरेका थिए । अमेरिकी अधिकारीका अनुसार ती खाडी राष्ट्रहरूले पछिल्ला दिनमा व्हाइट हाउस तथा पाकिस्तानी मध्यस्थकर्तासँग मिलेर नयाँ कूटनीतिक ढाँचा तयार पार्ने प्रयास गरिरहेका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौताको सम्भावना अन्तिम चरणमा पुगेको बताए ।
उनले भने, “हामी इरानबारे अन्तिम चरणमा छौँ, अब के हुन्छ हेर्नेछौँ । या त सम्झौता हुन्छ, होइन भने केही कडा कदम चाल्नुपर्ने हुन सक्छ । तर आशा छ त्यस्तो अवस्था आउँदैन ।”
इरानप्रति थप आक्रामक नीति अपनाउनुपर्ने पक्षमा रहेका नेतन्याहु भने अमेरिकाको पछिल्लो कदमप्रति असन्तुष्ट देखिएका छन् । उनले आक्रमण स्थगित गर्नु गल्ती भएको भन्दै ट्रम्पलाई पूर्वनिर्धारित योजना अनुसार अघि बढ्न आग्रह गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
करिब एक घण्टा चलेको मंगलबारको वार्तामा नेतन्याहुले सैन्य कारबाही पुनः सुरु गर्न दबाब दिएका थिए । इजरायली अधिकारीहरूका अनुसार ट्रम्प अझै पनि कूटनीतिक सम्झौताबाट समाधान खोज्न इच्छुक छन् भने नेतन्याहु तत्काल सैन्य कदमको अपेक्षामा छन् ।
सीएनएनका अनुसार नेतन्याहुको असन्तुष्टि केवल उक्त वार्तासम्म सीमित छैन । इजरायली सरकारका उच्च तहमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्नुपर्ने दबाब बढ्दै गएको बताइएको छ । उनीहरू ट्रम्पले बारम्बार धम्की दिए पनि अन्तिम समयमा रोक लगाउने शैलीबाट निराश बनेका छन् ।
बुधबार ट्रम्पले पत्रकारहरूसँग नेतन्याहुबारे टिप्पणी गर्दै भने, “उसले मैले चाहेको जे पनि गर्नेछ ।”
यद्यपि नेतन्याहुको दबाबका बाबजुद ट्रम्पले हालका लागि कूटनीतिक पहललाई निरन्तरता दिएका छन् । उनले इरानसँगको अवस्था “अत्यन्त संवेदनशील मोडमा” रहेको भन्दै केही दिन थप वार्ताको अवसर दिनु जीवन बचाउनका लागि उपयुक्त हुन सक्ने बताएका छन् ।
यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङ्टनबीच पाकिस्तानमार्फत सन्देश आदानप्रदान भइरहेको पुष्टि गरेका छन् ।
तर दुवै पक्षबीच रहेका मुख्य विवादहरू अझै समाधान नभएको बताइएको छ । इरानले आफ्ना मुख्य मागबाट पछि नहटेको तथा आणविक कार्यक्रम र रोक्का सम्पत्तिसम्बन्धी विषय अझै टुंगो नलागेको क्षेत्रीय स्रोतहरूले जनाएका छन् ।
ट्रम्पले भने आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको संकेत दिएका छन् । उनले भने, “यदि हामीले सही जवाफ पाएनौँ भने अवस्था निकै छिटो बदलिन सक्छ । हामी पूर्ण रूपमा तयार छौँ ।”