रुसले युक्रेनमाथि गरेको ड्रोन आक्रमणका क्रममा एउटा रुसी ड्रोन रोमानियाको एक आवासीय भवनमा खस्दा आगलागी हुनुका साथै दुई जना घाइते भएका छन् ।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार शुक्रबार बिहान पूर्वी शहर गलातीस्थित एक अपार्टमेन्ट भवनमा ड्रोन ठोक्किएको हो । युक्रेन सीमावर्ती क्षेत्रमा रुसले ड्रोन आक्रमण गरिरहेका बेला उक्त ड्रोन रोमानियाली आकाशमा प्रवेश गरेको बताइएको छ ।
रोमानियाको आपतकालीन सेवा निकायका अनुसार ड्रोनमा रहेको विस्फोटक पूर्ण रूपमा विस्फोट हुँदा भवनको १०औँ तलामा आगलागी भएको थियो । घटनापछि करिब ७० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।
घटनामा दुई जनालाई सामान्य चोटपटक लागेको र उपचार गरिएको जनाइएको छ । आगलागीलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् ।
रक्षा मन्त्रालयका अनुसार ड्रोन रोमानियाली आकाशमा प्रवेश गरेपछि दुईवटा एफ–१६ लडाकु विमान परिचालन गरिएको थियो । राडारमार्फत ट्र्याक गरिएको ड्रोन गलाती शहरको दक्षिणी क्षेत्रमा रहेको अपार्टमेन्ट भवनको छतमा खसेको थियो ।
रुस–युक्रेन युद्ध सुरु भएयता रुसी ड्रोनहरू पटक–पटक नेटो सदस्य राष्ट्र रोमानियाको सीमाभित्र प्रवेश गर्दै आएका छन् । तर, रोमानियाली नागरिक घाइते भएको यो पहिलो घटना भएको बताइएको छ । घटनाबारे रुसले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
रोमानियाको विदेश मन्त्रालयले घटनालाई “रुसको गम्भीर र गैरजिम्मेवार उक्साहट” भन्दै निन्दा गरेको छ । साथै नेटो महासचिवलाई जानकारी गराउँदै रोमानियालाई एन्टी–ड्रोन क्षमता छिटो उपलब्ध गराउन आग्रह गरिएको जनाएको छ ।
नेटोका एक प्रवक्ताले पनि रुसको “लापरवाही” को निन्दा गर्दै सबै प्रकारका खतराविरुद्ध प्रतिरक्षा क्षमता सुदृढ बनाइने बताएका छन् ।
यसैबीच, युक्रेनभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । युक्रेनको ओडेसा क्षेत्रस्थित इज्माइल बन्दरगाहमा पनि शुक्रबार बिहान रुसी ड्रोन आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।
उता, रुसको नियन्त्रणमा रहेको युक्रेनको डोनेत्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा तीन जना विद्युत् सेवा कर्मचारीको मृत्यु भएको दाबी गरिएको छ । घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।