अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि नेकपा (एमाले) ले पूर्व भीआईपीहरूको विदेश उपचारबापत राज्यकोषबाट भुक्तान भएको रकम फिर्ता गरेको छ ।
नेपाल राष्ट्र बैंकसम्बद्ध स्रोतका अनुसार १ जेठ २०८३ मा एमालेले पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार खर्च फिर्ता गर्दै करिब ३ करोड ८५ लाख रुपैयाँ राष्ट्र बैंकमा डिपोजिट गरेको हो ।
अख्तियारले प्रचलित कानुनविपरीत विदेश उपचार खर्च राज्यले व्यहोरेको भन्दै उजुरीमाथि अनुसन्धान गरिरहेको थियो । त्यसपछि पार्टीले रकम फिर्ता गरेको बताइएको छ ।
एमालेका अनुसार पूर्वराष्ट्रपति यादवको नाममा ६५ लाख २५ हजार, पूर्वप्रधानमन्त्री ओलीको नाममा २ करोड ३९ लाख ३५ हजार ७१४ रुपैयाँ र झलनाथ खनालको नाममा ८१ लाख ३९ हजार १५५ रुपैयाँ भुक्तान भएको थियो ।
तीमध्ये अधिकांश रकम पार्टीकै स्रोतबाट राज्यकोषमा फिर्ता गरिएको बताइएको छ । एकमुष्ट फिर्ता गरिएको रकम ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ पुगेको स्रोतले जनाएको छ ।
अख्तियारसम्बद्ध स्रोतका अनुसार रकम फिर्ता भएपछि मुद्दा अघि नबढ्ने सम्भावना पनि देखिएको छ । पार्टीले भने सम्बन्धित निकायमा रकम डिपोजिटको प्रमाण समेत बुझाएको छ ।
उक्त प्रकरणमा पूर्वविशिष्ट पदाधिकारीहरूले विदेशमा गरेको उपचार खर्च राज्यकोषबाट भुक्तान गरिएको भन्दै उजुरी परेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले समेत पूर्वविशिष्ट उपचार खर्चसम्बन्धी निर्देशिका खारेज गरिसकेको छ ।
यसैबीच, सरकारी कानुनी व्यवस्था र कार्यविधिबीच बाझिएको भन्दै विगतमा दिइएको भीआईपी उपचार सुविधा नै विवादको केन्द्र बनेको छ । अहिले अख्तियार र अदालत दुवै तहमा सम्बन्धित मुद्दाहरू अघि बढिरहेका छन् ।