सानैदेखि कडा स्वभावकी सुधा कार्कीको सोच अरुभन्दा फरक थियो । उनी भन्थिन्, ‘मानिस भएर जन्मिएपछि केवल विवाह गर्ने, बच्चा जन्माउने मात्रै होइन, जीवनमा केही अर्थपूर्ण काम गर्नुपर्छ ।’ यही सोच र आत्मविश्वासले उनलाई संघर्षका अनेक मोड पार गर्दै सफल ब्युटिसियन, व्यवसायी र पछि ह्याप्पिनेस प्रोग्रामकी प्रशिक्षक बनायो । उनको जीवनयात्रा संघर्ष, मेहनत, आत्मविश्वास र अरूलाई खुशी बनाउने भावनाले भरिएको छ । प्रस्तुत छ सुधा कार्कीसँग गरिएको कुराकानी:
बाल्यकाललाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल धेरै अनुशासित र कडा वातावरणमा बित्यो । सानैदेखि पढेर केही गर्ने इच्छा थियो । समयलाई निकै महत्व दिन्थें । म स्वभावले पनि अलि कडा थिएँ, कसैले केही भन्यो भने तुरुन्तै जवाफ दिन्थें । तर भित्रभित्रै एउटा डर पनि थियो– के म जीवनमा केही गर्न सकुँला त ? यही डरले मलाई झन् अगाडि बढ्न प्रेरित ग¥यो । सानैदेखि मेरो सोच अरूभन्दा फरक थियो । मलाई लाग्थ्यो, मानिस भएर जन्मिएपछि केही न केही योगदान गर्नुपर्छ । विवाह गर्ने, बच्चा जन्माउने त सबैले गर्छन्, तर समाजमा आफूले केही छाप छोड्नुपर्छ । यही सोचले मलाई निरन्तर केही नयाँ गर्न प्रेरित गरिरह्यो ।
विवाहपछि परिवारको सहयोग कत्तिको पाउनुभयो ?
विवाहपछि जीवन त्यति सजिलो थिएन । सासु र बुढी सासु दुवै कडा स्वभावका हुनुहुन्थ्यो । घरको वातावरण अनुशासित थियो । तर, मेरो श्रीमानले भने मलाई धेरै साथ दिनुभयो । विवाह भएको दुई वर्षपछि छोरी जन्मिइन् । त्यही समयमा नगरपालिकाबाट ब्युटिसियन तालिमको अवसर आएको थियो । एसएलसी पास गरेका महिलाहरूलाई तालिमका लागि बोलाइन्थ्यो । मैले श्रीमानसँग तालिम लिन चाहेको कुरा राखेँ । उहाँले मेरो इच्छा बुझेर अनुमति दिनुभयो । त्यो तीन महिनाको तालिम थियो । तालिममा सहभागी सबैलाई एउटै ड्रेस दिइएको थियो । त्यतिबेला गर्मीमा चिप्लो साडी लगाएर हिँड्दै तालिममा जानुपथ्र्यो । निकै कठिन हुन्थ्यो, तर सिक्ने उत्साहले सबै दुःख बिर्साइदिन्थ्यो । पछि अझ राम्रोसँग सीप सिक्न माईस्थानको सन्तोषी ब्युटी पार्लरमा पैसा तिरेर थप ६ महिनाको तालिम लिएँ । त्यसपछि माइस्थानमै सानो सैलुन खोलेर व्यवसाय सुरु गरेँ । त्यो मेरो जीवनको ठूलो मोड थियो, किनभने पहिलो पटक घरको चौघेराभन्दा बाहिर निस्केर आफ्नो पहिचान बनाउन थालेकी थिएँ ।
सैलुन व्यवसाय शुरू गर्दा कस्तो अनुभव भयो ?
सैलुन खोल्नु त्यति सजिलो थिएन । त्यो क्षेत्रमा पहिले नै पाँच÷छवटा सैलुन थिए । प्रतिस्पर्धा निकै थियो । तर, मलाई एउटा कुरामा विश्वास थियो–यदि आफ्नो कामप्रति इमानदार, मेहनती र समर्पित भइयो भने कसैले रोक्न सक्दैन । शुरुआति दिनमा धेरै संघर्ष गर्नुप¥यो । सैलुन खुलेको पहिलो दिन धेरै मानिसहरू आएका थिए । कसैले पैसा तिरेर सेवा लिए, कसैले नतिरी पनि गरे। मैले त्यही दिन ग्राहकहरूका लागि खाजाको व्यवस्था समेत गरेकी थिएँ । त्यो दिनको कमाइ मेरो जीवनको पहिलो कमाइ थियो । रकम धेरै थिएन, तर त्यसले दिएको आत्मविश्वास अमूल्य थियो । मलाई महसुस भयो– अब म आफ्नै खुट्टामा उभिन सक्छु ।
तपाईंको सैलुनमा कस्ता ग्राहकहरू आउनुहुन्थ्यो ?
त्यो समय पनि राम्रो ग्राहक आउनुहुन्थ्यो । चिनेजानेका व्यक्तिहरू पनि आउनुहुन्थ्यो । पछि मैले सैलुन घरमै सारेपछि विशेष गरी मारवाडी समुदायका महिलाहरू धेरै आउन थाल्नुभयो । काम गर्दै जाँदा ग्राहकसँग आत्मीय सम्बन्ध बन्न थाल्यो । मानिसहरू केवल सेवा लिनमात्र होइन, आफ्ना दुःखसुख सुनाउन पनि आउनुहुन्थ्यो । त्यही क्रममा मैले महसुस गरेँ–मानिसलाई बाहिरी रूपमा सुन्दर बनाउनुमात्रै पर्याप्त रहेनछ, भित्रबाट पनि खुशी बनाउन सक्नुपर्छ ।
आर्ट अफ लिभिङ्गसँग कसरी जोडिनुभयो ?
जीवनको अर्को महत्वपूर्ण मोड भनेको आर्ट अफ लिभिङ्गसँग जोडिनु थियो । सुरुमा मैले आफ्नै जीवनलाई सकारात्मक बनाउने उद्देश्यले कोर्ष गरेँ । त्यसपछि विस्तारै त्यसको प्रभाव जीवनमा महसुस गर्न थालेँ । पहिला म मानिसलाई सेवा गरेर खुशी पार्थें, तर पछि मैले मानिसलाई ‘खुशी भएर कसरी बाँच्ने’ भन्ने कला सिकाउन थालेँ । यही क्रममा म ह्याप्पिनेस प्रोग्रामकी प्रशिक्षक बनेँ । जब मानिसहरू कोर्ष गरेपछि परिवर्तन भएको देख्थें, उनीहरूको अनुहारमा मुस्कान देख्थें, त्यो क्षणले मलाई भित्रैदेखि सन्तुष्टि दिन्थ्यो । अहिले धेरै व्यक्तिहरूलाई मैले कोर्ष गराइसकेकी छु ।
ह्याप्पिनेस प्रोग्राम भनेको के हो ?
ह्याप्पिनेस प्रोग्राम भनेको जीवनलाई सकारात्मक, शान्त र खुशीपूर्वक जिउन सिकाउने प्रशिक्षण हो । यस कार्यक्रममा गुरु देवका ज्ञान, श्वास–प्रश्वासका अभ्यास, विभिन्न प्रणायाम, योग तथा ध्यान सिकाइन्छ । मानिसलाई तनावमुक्त भएर वर्तमानमा बाँच्न सिकाइन्छ । नयाँ सहभागीहरूलाई पछि पनि ‘फलोअप’ मा बोलाएर अभ्यासलाई निरन्तरता दिन प्रेरित गरिन्छ ।
तपाईंको विचारमा खुशी के हो ?
मेरो विचारमा खुशी भनेको अरूको जीवनमा मुस्कान ल्याउन सक्नु हो । यदि तपाईंको माध्यमबाट कसैको जीवनमा सकारात्मक परिवर्तन आउँछ भने त्यो नै साँचो खुशी हो । तर, मानिसलाई खुशी बनाउनु सजिलो छैन । आज धेरै मानिससँग पैसा, सम्पत्ति, ठूलो व्यवसाय सबै कुरा छ, तर भित्र शान्ति छैन । हामी खुशी सधैं बाहिर खोज्छौं । व्यक्ति, वस्तु वा परिस्थितिमा । तर, वास्तविक खुशी त आफ्नै भित्र हुन्छ । जब मानिसले आफूलाई बुझ्छ, आफूलाई स्वीकार्छ, तब मात्रै ऊ साँचो अर्थमा खुशी हुन सक्छ ।
जीवनलाई कसरी बुझ्नुहुन्छ ?
मेरो लागि जीवन भनेको संघर्ष हो । संघर्ष नगरी सफलताको मूल्य बुझ्न सकिँदैन । दुःख नभोगी सुखको आनन्द पनि महसुस हुँदैन । जीवन एउटा चक्रजस्तै हो । कहिले खुशी, कहिले पीडा । तर, हरेक परिस्थितिलाई स्वीकार गरेर अगाडि बढ्न सक्नुपर्छ । मैले जीवन जिउने कला सिकेकी छु । अब जस्तोसुकै कठिन परिस्थिति आए पनि शान्त मनले सामना गर्न सक्छु । संघर्षले मानिसलाई बलियो बनाउँछ भन्ने कुरा मैले आफ्नै जीवनबाट सिकेकी छु ।
अहिले आफूमा कस्तो परिवर्तन महसुस गर्नुहुन्छ ?
पहिला म धेरै डराउने र अस्थिर थिएँ । अहिले भने म आफ्ना निर्णय आफैं लिन सक्छु । जस्तोसुकै दुःख, बाधा वा अवरोध आए पनि नआत्तिई शान्त भएर परिस्थितिको सामना गर्न सिकेकी छु । संघर्षले आत्मविश्वास र हिम्मत बढाउँदो रहेछ । आज म आफूलाई पहिलाभन्दा धेरै सकारात्मक, आत्मनिर्भर र सन्तुष्ट महसुस गर्छु ।