नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा ‘डाक्टर’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिल तथा सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामअघि ‘डा.’ लेख्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको हो ।
काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
काउन्सिलका अनुसार विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमा गैर–चिकित्सक स्वास्थ्यकर्मी र अन्य असम्बन्धित व्यक्तिहरूले अनधिकृत रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गर्दै बिरामी जाँच्ने, परामर्श दिने तथा औषधिको प्रेस्क्रिप्सन लेख्ने कार्य बढ्दो छ । यसले जनस्वास्थ्यमा प्रतिकूल असर परेको काउन्सिलको भनाइ छ ।
काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ ।
सूचनामा काउन्सिल वा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै स्वास्थ्यकर्मी वा व्यक्तिले नामअघि ‘डाक्टर’ प्रयोग गरेको पाइएमा १५ दिनभित्र उक्त उपाधि हटाउनुपर्ने उल्लेख गरिएको छ ।
काउन्सिलले साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जालबाट गैरकानुनी रूपमा राखिएका ‘डा.’ उपाधि हटाउन निर्देशन दिएको छ ।
विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ लेखिएको भरमा नेपालमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न नपाइने पनि काउन्सिलले स्पष्ट पारेको छ ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे का अनुसार १५ दिनको समयसीमा सकिएपछि काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी सुरु गर्नेछ ।
अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गरेको वा त्यसको आडमा बिरामी जाँच्ने तथा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार मुद्दा चलाइने काउन्सिलले जनाएको छ ।